‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘धेरै ठाउँमा लेख्दालेख्दै अडिएको छु। जस्तो- मेरो बाल्यकालको साथी बेपत्ता भएर गएको दिन पनि भक्कानिएको थिएँ। यही कुरा लेख्दा फेरि भक्कानिएँ।’
ऐना कथासंग्रहका लागि मदन पुरस्कार प्राप्त गर्ने लेखक हुन्, रामलाल जोशी। उनी साहित्यका बहुविधामा कलम चलाउँछन्। नेपाली साहित्यमा स्नातकोत्तर जोशीले पहलमान सिंह स्वार प्रतिभा सम्मान, २०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार, २०७३ प्राप्त गरेका छन्।
पहिलो कृति हत्केलामा आकाशबाट लेखन क्षेत्रमा प्रवेश गरेका उनलाई ऐना, सखी जस्ता कृतिले चर्चामा ल्याए। पछिल्लो समय बाआमा पुस्तकबाट प्रशंसा बटुलिरहेका उनै लेखक जोशीसँग साहित्यमा बहुविधा, पुस्तकका सामग्री, लेखन र अनुभवबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा अनिता भेटवालले गरेको कुराकानीः
कथाकृतिबाट मदन पुरस्कार पाएर चर्चित हुनुभएकै थियो, ‘क्रिएटिभ फिक्सन’ भनेर नयाँ पुस्तक लेख्नुभएको छ। यो विधा चाहिं के हो? यथार्थमा आधारित हो कि कल्पनामा मिसिएको हुन्छ?
प्रकाशकले यसलाई ‘सिर्जनात्मक आख्यान’ भन्नुभएको छ। यो ‘क्रिएटिभ फिक्सन’ हो। पढ्दा गैरआख्यान जस्तो लाग्छ। कतै संस्मरण, कतै आत्मकथा त कतै जीवनी जस्तो लाग्छ। मानिसका जीवनका घटनाहरू आत्मगत रूपमा प्रकट भएका छन्।
त्यसैले धेरै पाठकलाई आफ्नो कथा जस्तो, आफ्नै बा र आमाको कथा जस्तो लाग्ने भएकाले यसलाई गैरआख्यानका रूपमा पनि लिन्छन्। तर, मेरो जीवनका घटना समेटिएको भएर आख्यान पनि छ। साथै गैरआख्यानसँग सम्बन्धित कुरा पनि मिलाएर लेखेको छु जसलाई पाठकहरूले पढ्दा ‘क्रिएटिभ ननफिक्सन’ का रूपमा लिन्छन्।
तपाईंंलाई पुस्तक लेख्नुपर्छ भन्ने भावना जगाउने घटना केकस्ता थिए?
यसअघि आख्यानका दुई वटा पुस्तक लेखें। ऐनामा पश्चिमका विषयवस्तु लेख्ने प्रयास गरें। सखीमा थारू समुदायको कथा उठाएँ। जसमा आफूलाई पनि केही हदसम्म प्रकट गर्न सकें। यसरी दुई वटा पुस्तक लेखिसक्दा पनि आफूलाई जसरी प्रस्तुत गर्न चाहेको थिएँ, त्यो पूर्ण रूपमा अघिल्ला पुस्तकमा आउन नसकेको जस्तो लाग्यो।
मानिस पहिला आफ्नो कुरा बताउन चाहन्छ। मैले पनि आफ्नो कुरा बताउने क्रममा बाल्यकाय लगायत जीवनका धेरै कुरा बाँकी नै थिए। उमेर अनुसार आधा जीवन काट्दा धेरै अनुभव र सम्झना सँगालें। यिनलाई कहीं न कहीं अभिव्यक्त गर्नु थियो जुन ऐना, सखीमा आउन सकेका थिएनन। यो प्रकट गर्ने क्रममा बाआमा आएको हो। यसमा धेरैजसो बाल्यकाल र बाआमासँग जोडिएका विषयवस्तुदेखि म र मेरा सन्तानसम्मका विषयवस्तु समेटेको छु। विगततिर बाआमा र भविष्यतिर सन्तान भएको वेलामा आइपुगेपछि विगत र भविष्यलाई जोड्ने कसीका रूपमा बाआमा ल्याएको हुँ।
त्यसो भए यो पुस्तक लेख्दा आख्यान लेखनमा जस्तो कथावस्तु र पात्र सिर्जनामा मेहनत गर्नुपरेन?
फिल्डमै गएर अनुसन्धान गर्नुपर्ने वा पात्रहरू नै भेटेर योजना बनाउनुपर्ने अवस्था आएन। आफ्नो चेतना र होश सम्हाल्दादेखि जुन बिन्दुबाट अहिलेसम्म सम्झन सक्छु त्यति वेलादेखिका याद पत्रपत्र भएर हृदय र मस्तिष्कमा जमेका थिए। ती पत्र खोतल्ने क्रममा कस्ता पात्र जीवित राख्न सक्छु, कस्ता घटनाक्रमलाई कागजमा अभिलिखित गर्नुपर्छ भन्ने मात्र लाग्यो।
मान्छे समाजमै भएका र देखेका पात्रको कथा लेख्ने हो। तर, आफूसँगै भएका सम्बन्धका तारलाई मान्छेले छोडेको हुन्छ। बा, आमा, छोराछोरी, आफ्ना र साथीभाइका विषयवस्तु सामान्य लाग्छन् र बेवास्तामा पर्छन्। यसमा नयाँ कुरा के हुन्छ र भन्ने सोचिन्छ। हुन पनि हरेक घरमा बाआमा हुन्छन्। बाआमाले छोराछोरीलाई माया गर्छन्। छोराछोरीको भविष्यका लागि दिनरात मेहनत गर्छन्। सधैं सन्तानको प्रगतिको कामना गर्छन्।
यस्तै कुरा गरेर बाआमा भनेपछि सामान्य रूपमा लिन्छौं। तर, यी र यस्ता सम्बन्ध तबसम्म महत्त्वहीन लाग्छन् जब यी सम्बन्ध जीवनबाट फुत्कँदैनन्। त्यसपछि मात्र यी सम्बन्ध मूल्यवान् बन्छन्। सम्बन्ध मूल्यवान् भएपछि जीवन मूल्यवान् हुन्छ। त्यसैले सम्बन्धका कुरा लेखेको हुँ। यस्तो विषयमा अझ एउटा उमेर पार गरेपछि झन् झन् चेतना बढ्दो रहेछ। त्यही चेतनाले लेख्न झकझकायो।
यो पुस्तकमा यसरी कल्पना गर्नुभयो, जसले यथार्थलाई बङ्ग्यायो भन्ने आरोप छ, के भन्नुहुन्छ?
पाठकले यसरी सोचेको कुरालाई खण्डन गर्दिनँ। तर, यो सन्दर्भमा मैले बुझाउनै पर्छ। यो संसारमा एक व्यक्तिले बाँचेको जीवन अर्को व्यक्तिको जस्तो नहुन सक्छ। मैले बाँचेको जीवन अरूसँग नमिल्न पनि सक्छ। जे कुरा मिल्दैन, त्यो कुरा अस्वाभाविक लागेर दन्त्यकथा पनि लाग्न सक्छ। किनभने ऐनामा पनि मेरा कथाहरू अस्वाभाविक र समाजमा अझै पनि यस्ता कथाहरू छन् भन्नेहरू थिए।
बाआमा पुस्तकको कुरा पनि उही हो। केही पाठकले धेरै भावनामा बग्यो र यथार्थपरक भएन पनि भन्छन्। फेरि सम्बन्ध नै भावनामा टिक्ने हो। बाआमा नाम र सम्बन्ध नै भावनात्मक हो। बाआमा र सन्तानको सम्बन्ध कठोर बनाउँछु भन्दा पनि कठोर हुन नसक्ने सम्बन्ध हो। यसलाई यथार्थपरक मात्र बनाउँदा पनि भावनामा बग्छ।
त्यसकारण पुस्तकमा मैले देखेका र भोगेका कुरा छन्। कथाको पृष्ठाधारमा जाँदा भोलि पाठकले पत्याउने दिन पनि आउँछ। केही पाठकले भने मेरो बाआमाको, आफ्नो र सन्तानको कथा हो भनेका छन्। जो बा बनेका छैनन, सन्तान नै छन्, भोलि बाआमा बन्नेछन्। तिनका पनि सन्तान हुन्छन्। तब उनीहरूलाई यो यथार्थपरक रहेछ भन्ने लाग्नेछ।
खासगरी माओवादी युद्धप्रति तपाईंंमा धेरै हदसम्म असहमति देखिन्छ, तर त्यो असन्तुष्टि अलि बढी राजनीतिक रूपमा अभिव्यक्त भएको हो कि?
वैचारिक रूपमा सहमति र असहमति प्रकट गर्नुभन्दा पनि मैले जस्तै समाजले पनि कहालीलाग्दो सामाजिक अवस्था भोगेको थियो। मेरो आँखाबाट तीे घटना र पात्र फुत्केर गए। तर, त्यसले पारेका घाउका टाटा कहिल्यै मेटिएनन्। त्यसको एउटा कारुणिक पक्ष कतै न कतै अभिव्यक्त गर्नुलाई असहमति भनिंदैन। त्यसलाई ढाकछोप गर्न हिजो जे भयो, सकियो। युद्धले जस्तो प्रभाव पारे पनि परिवर्तन भएर यहाँसम्म आइपुग्यौं त भन्न सकिएला, तर युद्धले जसका आँसु खोसेर लग्यो, जसको जीवनमा घाउ पार्यो, जसका बाआमा खोसिए, आज उनीहरूले आफ्ना बाआमालाई नसम्झने? मैले ती घटना सम्झने क्रममा घरका पात्रहरू नै आउँछन्। त्यसकारण यो असहमति र सहमतिको कुरा भन्दा पनि त्यो कालखण्ड उजागर गरेको मात्र हो।
त्यो युद्धले कतिको सिउँदो रित्तियो, कतिको काख रित्तियो, कति टुहुरा भए! बालापनमा त्यसरी टुहुरा भएका बालबालिका आज जवान भएका छन्। तर, त्यो बालापनमा बाआमाबाट पाउने माया कहिल्यै सम्भव छैन। यो त्यसैको चित्रण हो।
शुरूको ‘बाबाकाे माया’ शीर्षककै कथा हेरौं। त्यसमा माओवादीसँग बाको प्रत्यक्ष द्वन्द्व पनि देखिंदैन। बाले माओवादीलाई असर पुग्नेगरी काम गरेको पनि स्पष्ट देखिंदैन। तर, श्रीमती र बच्चाको अगाडि जिउँदै जलाएको देखाइएको छ। माओवादी त्यति नृशंस थिए र? या अतिरञ्जना गर्नुभयो?
यो आममानिसले देखेभोगेकै कुरा हो। युद्धमा सहभागी हुनेहरू मर्छन् कि मार्छन्। त्यसमा राज्य र विद्रोही दुवै पक्ष थिए। उनीहरू युद्धको घोषणा गरेपछि आफूले बनाएको नियम र परिधिमा युद्ध लडे। तर, नेपाली समाजको विडम्बना जसको युद्धमा संलग्नता छैन, जसको राज्य र विद्रोही पक्षसँग सरोकार छैन, जो सामान्य कृषक भएर खेतीबारी गरेर सन्तान पालिरहेका थिए, त्यस्ता मान्छेले बढी पीडा पाए। युद्धमा लागेका मानिसभन्दा युद्धसँग सरोकार नै नभएका मानिसले धेरै पीडा पाए। जसको कुनै स्वार्थ, गल्ती र युद्धमा सरोकार थिएन त्यस्ता मान्छे राज्य र विद्रोही दुवै पक्षबाट मारिए।
त्यसैले यो कथा जन्मियो। त्यही निरपेक्ष मानिसको पीडाको वर्णन हो, बाआमा। युद्धमा सिपाही बन्दूक भिरेर जान्छ भने ऊ मर्न पनि सक्छ, मार्न पनि सक्छ। त्यसलाई बढी चित्रण गरे अतिरञ्जना हुन्छ। तर, एउटा निरपेक्ष रूपमा बसेको मान्छे मारिन्छ र त्यसको चित्रण गरे त्यो कहाँ अतिरञ्जना भयो? कति शिक्षक क्रूरतापूर्वक मारिए। तिनै कुरा समयको गर्भमा विलुप्त भएर नजाऊन्, अभिलिखित हुनुपर्छ भनेर यो पुस्तक जन्मिएको हो।
बुढ्यौलीपनबारे लेख्नुभएको छ। प्रौढ जीवनबारे लेख्न कति गाह्रो भयो?
अब म पनि त्यो चरणमा प्रवेश गर्न थालें। छोराछोरी भएपछि वा आधा उमेर पार गरेपछि जीवनमा बुढ्यौलीबारे सोच आउँदो रहेछ। अब यसपछिको जीवन के? मैले प्राप्त गर्ने खुशी के त? मेरा सन्तानप्रति मेरा अपेक्षा के भन्ने सोच आउँदा रहेछन्।
अर्को, घरदेखि समाजसम्म प्रौढको अवस्था देखिन्छ। घरमा आमालाई नै देखिरहेको हुन्छु। घरीघरी आमा भएर सोच्छु। युवा उमेरमै एकल भएर कस्तो जिन्दगी काट्दाकाट्दै परिवारको सुखका खातिर आफ्नो जीवन समर्पित गर्नुभयो। अन्त्यमा के प्राप्त गर्नुभयो?
धेरै बाआमा अहिले सन्तानबाट परित्यक्त छन् जसका सन्तान शहर र विदेशमा छन्। उनीहरू आफ्ना सन्तानबाट जे अपेक्षा गरिरहेका छन् आज त्यो पूरा भइरहेको देखिंदैन। यसरी सोच्दा बाआमा, सन्तानको मानवीय सम्बन्ध तृष्णा जस्तो मात्रै लाग्दो रहेछ। यो त संसारको रित मात्रै रहेछ। बाआमालाई सन्तानको माया, सन्तान फेरि बाआमा बन्दै जाने। त्यसैले बाआमाको जीवन शिखरतिर उक्लँदै जान्छ। पश्चिमको सूर्य जस्तै माथि माथि जान्छ। तर, सन्तानको माया तल तल सर्दै जाँदो रहेछ। एउटा उमेरमा पुगेपछि यस्तो महसूस हुन्छ। महसूस गरेपछि नै अपेक्षा पनि कम हुँदै जाने रहेछन्।
आज सबै सन्तान लाखापाखा छन्। वृद्ध बाआमा घरमा छन्। परिवार सगोलमा छैन। मानिसको जीवन नितान्त एक्लो हुँदै गएको छ। परम्पराबाट चलिआएको हाम्रो पारिवारिक सम्बन्ध पनि खुकुलो भयो। त्यही अपेक्षामा बाँचेको मान्छे दुःखी हुन्छ। त्यसैले यो दुःखबाट मुक्ति पाउन पनि एक पटक यो कुरा महसूस गर्नुपर्छ। यो पनि खुइलिंदै र सकिंदै जाने रहेछ। अन्ततः जीवन आउने र जाने खेल मात्र रहेछ भन्ने स्वीकार गर्न सकियो भने सहज हुने रहेछ। मेरो आधा उमेर बित्दा र वृद्धवृद्धासँगको सङ्गत र अनुभूतिले यिनै कुरा बुझायो।
पुस्तकमा यस्ता धेरै मन छुने हरफ छन्, जस्तो- घामका अघि बाबा, जूनका अघि आमा। बालाई घाम अनि आमालाई जूनको संज्ञा दिनुभएको छ, किन?
यो कल्पना हैन। यो वास्तविकता र भोगाइबाट निस्कएको हो। एकछिन घामले न्यानो दिन्छ, फेरि त्यसले पोल्छ पनि। बा तिनै हुन्। तर, जूनले कहिल्यै पोल्दैन। जून जहिल्यै हेरिरहूँ लाग्छ। त्यसैले ती आमा हुन्। यद्यपि बा र आमाको मायामा तुलना हुन सक्दैन। दुवैको माया अनुपम र बराबर नै हो। तथापि बाको मायामा जिम्मेवारी र कर्तव्य हुन्छ। आमाको मायामा जिम्मेवारी र कर्तव्यका साथ निशर्त समर्पण हुन्छ। त्यसैले एउटा सानो बच्चा रुँदा बाले चकलेट ल्याएर दिन्छन्, आमाले आफ्नो दूध चुसाउँछिन्। सन्तानले गलत गरे भने बाले ‘तँ मेरा लागि मरिस्’ भनेर सन्तानलाई त्यागिदिने निर्णय गर्न सक्छन्, तर आमाले सक्दिनन्। सन्तान चोर नै भए पनि आमाले मेरै काखमा बसोस् भन्ने सोच्छिन्।
‘छोराको सपना’ शीर्षकको कथामा विदेशिएपछि बेवास्तामा परेका बाआमाको कथा छ। खासमा प्रौढ उमेरमा पुगेपछि प्रायः बाआमाको सन्तानप्रति अपेक्षा चाहिं के हुँदो रहेछ? आखिर बाआमा के चाहँदा रहेछन्?
खासमा आफूले जीवनभर गर्न नसकेका कुरा सन्तानले पूरा गरिदिऊन् भन्ने चाहने नै बाआमा हुन्। त्यसरी नै आफ्नो सपना सन्तानमा देखेर अनेक हन्डर खाँदै सन्तानलाई सक्षम बनाउँछन्। आजभोलि त आफू गाईभैंसी पालेर, मजदूरी गरेर होस् वा विदेशमा पसिना बगाएर होस्, सन्तानको खुशीका लागि पढ्न विदेश समेत पठाइरहेका छन्। बाआमाको समीपमा रहनुपर्ने वेला सन्तान यहाँ छैनन्। परिवार, समाज र राज्यको चुनौतीले पनि सन्तान बाहिरै छन्। बाआमाको इच्छा सन्तानलाई आँखाअघि देखिराख्नु हुँदो रहेछ, तर यस्ता कुरा भन्न सक्दैनन्।
अर्कातर्फ सन्तान पनि बाआमा भइसकेका हुन्छन्। त्यसपछि उनीहरू फेरि आफ्ना सन्तानलाई खुशी दिन लागिपर्छन्। यो सबै समयचक्रको खेल हो। बाआमाले आफ्ना खुशीका लागि यस्तो गर, उस्तो गर भन्न सक्दैनन्। सन्तानले पनि बाआमाले भन्न नसकेको कुरा बुझ्न सकेका छैनन्। बाआमाको सपना भनेको जस्तो अवस्थामा पनि सन्तानको मुख हेर्ने र आफूसँगै रहिदिओस् भन्ने हुँदो रहेछ।
अहिले नेपाली समाजमा गुजारा चलाउन वैदेशिक रोजगारमा जाने, अध्ययनको सिलसिलामा पनि विदेश गएर घर नफर्किनेको संख्या बढ्दै गएको छ। यसले त भविष्यमा बाआमालाई अझै एक्लो बनाउने देखियो नि?
अहिले विकास र प्रविधिले ल्याएको फेरबदलले मान्छेको जीवनलाई निराशातिर लग्दै छ। संवेदना मर्दै छ। जीवनको परम लक्ष्य भनेकै परमानन्द हो। मान्छे दौडने नै सुखका लागि हो। विवाह गर्ने आनन्दका लागि हो। विवाह गरेपछि सन्तानको चाहना पनि आनन्दकै लागि हुन्छ। भोको पेट भएर पनि सन्तानलाई पढाउने-लेखाउने उही सुखकै लागि हो। अन्त्यमा सन्तान भएर पनि उनीहरूबाट पाउने सुख खोसिन्छ भने जीवन निरर्थक हुन्छ।
विश्वव्यापीकरण र पश्चात्य सभ्याताले ल्याएको एकाकी जीवनले गाँजेको छ। यसले सम्बन्धहरू अझै टुट्दै जानेछन्। बाआमा र परिवार अझै एक्ला हुन पनि सक्छन्। जुन सम्बन्धविच्छेदका घटनाले देखाइसकेका छन्। लोग्नेस्वास्नीको सम्बन्धविच्छेद हुनु भनेको उनीहरू मात्र छुट्टिनु हैन, बाआमाबाट टाढा हुनु, बाआमाप्रतिको कतव्य पूरा नगर्नु र वृद्धाश्रममा राख्ने अवस्था आउनु पनि हो।
बाआमालाई खाना लाउन दिए उनीहरू बाँच्लान्, तर सन्तान नजिक नभएसम्म उनीहरू सुखी हुन सक्दैनन्।
अनि एकल ज्येष्ठ नागरिकप्रति समाज र राज्यको पनि त कर्तव्य होला। त्यो के गर्दा पूरा हुन्छ?
मेरो एउटा कल्पना छ। हरेक गाउँ र टोलमा ज्येष्ठ नागरिक कक्ष बनोस्। त्यहाँ एउटा फूलबारी होस्, पुस्तकालय होस्, स्वास्थ्य क्लिनिक होस्, मनोरञ्जन होस्, आराम कक्ष र ध्यान-योग गर्न सकियोस्। काम गर्न सक्नेहरूले काम गरून्। हरेक ग्रामीण क्षेत्रमा यस्ता आश्रय बनून् जहाँ वृद्धवृद्धा रमाउन सकून्। बाल वाटिका जस्तो वृद्ध वाटिका बनाउन सकियोस्। प्रौढ व्यक्तिले आफ्नो जीवन नीरस नठानोस्। त्यस्तो हुन सके बुढेसकालका केही गुनासा कम हुन्थे।
अन्त्यतिर पुस्तकमै फर्कौं। पुस्तक पढेर आँसु आयो भन्ने प्रतिक्रिया पनि आएका छन्। के तपाईंं त्यसैलाई आफ्नो सफलता ठान्नुहन्छ? लेखकको सफलता पाठकलाई रुवाउनुमा हुन्छ कि कुनै सन्देश प्रवाह गर्नुमा?
पाठक रोयो भन्ने कुरा मात्र सफलता होइन, तर के कारणले रोयो भन्ने महत्त्वपूर्ण कुरा हो। उसलाई पढेर आनन्द आएर रोयो, सन्तुष्ट भएर रोयो वा खुशी भएर? पुस्तकमा दुःखले रोए पनि त्यो सन्तुष्टि हो। जुन पाठकमा संवेदना जगाउने प्रयास हो।
सम्बन्धहरू खुकुला हुँदै गएको कुरा बुझ्न सक्यो र संवेदनशील हुन सक्यो भने मेरो लेखनको र बाआमा पुस्तकको सफलता ठान्छु। एकछिन बाआमा पुस्तक पढेर संवेदनशील हुन सक्दैन भने यो लेखनको अर्थ रहँदैन। त्यसकारण बाआमा पढेपछि जसले बाआमाका दुःख सम्झन्छ र बाआमाप्रतिको बुझाइ परिवर्तन गर्छ भने रोए वा नरोए पनि किताबको सफलता त्यही हो।
बाआमा र सन्तानबीचको सम्बन्ध अझै खुकुलो हुँदै जाने सम्भावना देखाउनुभएको छ। उसो भए यो सम्बन्ध बलियो बनाउन के गर्नुपर्छ?
यसमा बाआमाप्रति कर्तव्य पनि देख्छु। आफ्नो जस्तो दुःख सन्तानले भोग्न नपरोस् भन्ने हरेक बाआमाको चाहना हुन्छ। सफल बनाउने प्रयास गर्दागर्दै सन्तान सुखी छ वा छैन भन्ने पनि बाआमाले विचार गर्नुपर्छ। व्यक्ति सुखी छैन भने आफ्नो कर्तव्य पूरा गर्न सक्दैन। कतिपय बाआमाले सन्तानलाई धेरै ठूलो सपना बोकाइदिएका छन्। तिनै सन्तान भोलि टाढा पनि हुन सक्छन्।
सन्तान बेरोजगार र बेकामे भयो भन्ने हीनताबोध बाआमाले पनि राख्नु हुँदैन। गाउँमै सन्तानलाई पसिना पोख्न लगाउनुहोस्। देश हराभरा हुन्छ, सपना र जीवन पनि हराभरा हुन्छ।
अन्त्यमा, पाठकले त रुँदै पढियो भनेर सामाजिक सञ्जालमा पनि लेखेका छन्। तपाईंको लेखकीय अनुभव चाहिं कस्तो रह्यो? लेख्दा कति गाह्रो भयो?
यो पुस्तक लेख्ने क्रममा हृदय, मस्तिष्क र संवेदनाका तप्का चुहाएर लेखेको छु। लेखिसकेपछि पाठकले लेखकको कथा नभएर आफ्नो कथा भनिदिनुभएको छ। त्यसैले मेरो जस्तो जीवन धेरैले बाँचेका रहेछन् भन्ने लाग्यो। धेरै ठाउँमा लेख्दालेख्दै अडिएको छु। जस्तो- मेरो बाल्यकालको साथी बेपत्ता भएर गएको दिन पनि भक्कानिएको थिएँ। यही कुरा लेख्दा फेरि भक्कानिएँ।
त्यस्तै, ‘आमाको काख’ कथा लेख्दा पनि आफ्नै भोगाइ आउन थालेपछि धेरै रोएँ। अहिले पनि त्यो कथा पढ्दा आफ्नै विगतमा पुग्छु। कति ठाउँमा मेरा भोगाइका कथाले धेरै भावुक बनाएकाले पनि सम्पादन गरिएको थियो।
किताबका कुराका थप सामग्री: