महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित
सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई निलम्बन गरिएको छ।
गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो। प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बन गर्न बिहीबार गृह मन्त्रालयलाई सिफारिश गरेको थियो।
महिला प्रहरीलाई दुर्व्यवहार गरेको घटनामा अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए। पाललाई ६ महीनाका लागि निलम्बन गरिएको हो।
महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई पालले दुर्व्यवहार गरेको आरोप लागेको थियो। एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीले उजुरी दिएकी थिइन्।
त्यसपछि एसएसपी पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो। थप अनुसन्धान गर्न अहिले उनलाई निलम्बन गरिएको हो।