पुल नहुँदा ५० विद्यार्थीले पढाइ छाडे
वर्षा लागेसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् ।
माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् ।
हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरू अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको स्थानीयवासी देवान गुरुङले जानकारी दिए ।
“बर्दघाट र सुनवल नगरपालिका जोड्ने गरी सुखौरा र जर्गाहाको बीचमा रहेको डम्बरभार खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, वर्षाभरि हाम्रा बालबालिका विद्यालयबाट वञ्चित हुनुपरेको छ”, उनले भने ।
त्यहाँका ५० बढी विद्यार्थी मावि तह तथा क्याम्पस तहको पढाइका लागि भूमहीका विभिन्न विद्यालयमा अध्ययनरत छन् ।
बर्दघाटमा पर्ने सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा यहाँका विद्यार्थी सुनवलको भूमहीमा पढ्न आउनुपर्ने बाध्यता छ । खोला बढेपछि त्यस क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको छ ।
खोलामा पानी बढेपछि जोखिम मोलेर तर्नुपर्ने बाध्यताका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने अवस्था रहेको सोही गाउँबाट भूमहीको मोतीलाल क्याम्पसमा स्नातक अध्ययनरत नेत्रबहादुर थापाको गुनासो छ ।
भूमही–जर्गाहा–धुरकोट सडकखण्डअन्तर्गत उक्त खोलामा प्रदेश नं ५ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडको बजेटमा असारभित्रै सम्पन्न गर्ने गरी आरसीसी भेन्टेड कजवे पुल निर्माण थालिएको थियो ।
पुल समयमा नबनेपछि यस वर्ष पनि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।