सेवाग्राही ठगिएको गुनासो आएपछि सर्लाही प्रशासन कार्यालयले निःशुल्क उजुरी लेखिदिने
सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्क उजुरी लेखिदिने भएको छ। बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्क लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद, साँध–सिमाना मिचिएको, गालीगलौज लगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनुनपर्ने यादवले बताए।
बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा ५०० सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयकै कर्माचारीबाट ठाडो उजुरी निःशुल्क लेखिदिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेले बताए। ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिश पनि कर्मचारीले निःशुल्क लेखिदिन थालेका छन्।
सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ। - रासस