पूर्वमा वर्षाले बाढी, पश्चिममा चर्को गर्मी
देशको पश्चिमी क्षेत्रमा चर्को गर्मीले जनजीवन प्रभावित भइरहेका वेला पूर्वी क्षेत्रमा भने वर्षाका कारण बाढीपहिरो जान थालेको छ।
अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखि अविरल वर्षा हुँदा सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरो गएको छ।
गए राति आएको बाढीले सिरिजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोला माथिको मोटरेबल पुल बगाएको छ। एक महीनाअघिदेखि सञ्चालनमा आएको नयाँ पुलको आधा भाग बाढीले बगाएको स्थानीय बासिन्दाले बताए।
बाढीका कारण सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ। स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्गृहमा बाढीले क्षति पुर्याएको छ। त्यस्तै, १५ किलोवाट क्षमताको अर्को जलविद्युत् आयोजनाका पाइप बगाएको छ।
बाढीले कटान गरेपछि स्थानीय जगतबहादुर राईको घर जोखिममा परेको छ।
त्यस्तै, सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय हिजोदेखि नै वर्षाका कारण बन्द गरिएका छन्। अत्यधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको जनाइएको छ।
निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रस्त बनेको खेवाङका शिक्षक बिनम माबोले बताए। “विगत ३६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ, गाउँघरमा वारिपारि ओहोरदोहोर गर्ने अवस्था छैन, मानिसहरू बाढीपहिरोको त्रासमा छन्,” शिक्षक माबोले भने।
विशेषगरी जिल्लाका पूर्वी भेगमा पर्ने खेवाङ, याम्फुदिन, मामाङ्खे, सुरुम्खिम लगायत ठाउँमा वर्षा भइरहेको छ।
पूर्वी क्षेत्र भएर यस वर्षको मनसुन नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमतीसँगै मधेश प्रदेशको पूर्वी क्षेत्रमा मनसुन फैलिएको छ।
केही दिनमा बिस्तारै देशैभर मनसुन फैलिने विभागले जनाएको छ।