समाजवादी मोर्चामा सामेल हुने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले समाजवादी मोर्चामा सामेल हुने निर्णय गरेको छ।
शुक्रबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले समाजवादी मोर्चामा सामेल हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले भने, “संसद्भित्र र संसद्बाहिर पनि समाजवादी विचारधारा निर्माण गर्ने र त्यसको प्रचारप्रसार गर्ने काम मोर्चाको हो। देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आमजनताका मागलाई सम्बोधन गर्ने विषयमा नेतृत्व गर्ने उद्देश्यले मोर्चा बनाउन लागिएको हो।”
समाजवादी यात्रा सहज होस् भन्ने उद्देश्यले मोर्चा बनाउन लागिएको उनको भनाइ थियो। “अहिले पार्टी एकता गर्ने उद्देश्यले यो मोर्चा बनाउन खोजेका होइनौं, यसले खालि समाजवादी यात्रामा अघि बढ्न सहज होस् भन्ने मात्रै हो,” खतिवडाले भने।
यसमा एकीकृत समाजवादीसँगै नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लगायत पार्टीलाई सामेल गराउन छलफल चलिरहेको उनले बताए।
समाजवादी मोर्चामा को को पार्टी सामेल हुन्छन् भन्ने प्रश्नमा खतिवडाले भने, “अहिले छलफल नै चलिरहेको छ, केही दिनभित्रै टुङ्गोमा पुग्छौं।”