प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले कार्कीको नाम अनुमोदन गरेको समितिका सभापति पशुपतिशमेर जबराले जानकारी दिए।
समितिले अनुमोदन गरेसँगै कार्की प्रधानन्यायाधीश बन्ने पक्का भएको छ। उनले २० साउनमा अनिवार्य अवकाश पाउनेछन्। कार्कीले पछिल्लो आठ महीनादेखि कार्यवाहक प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतको नेतृत्व गर्दै आएका छन्।
सुनुवाइ समितिको बिहीबारको बैठकमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। शुक्रबार समितिमा सदस्यहरूले कार्कीसँग प्रश्नोत्तर गरेका थिए। न्यायाधीश कार्की विरुद्ध २९ वटा उजुरी परेका थिए।