शङ्काको सुविधा सहित मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दियौं: योगेश भट्टराई
“एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ भनेर त्यसका लागि लडेको दल हो। त्यसमा हामी अवरोधक हुनै सक्दैनौं,” भट्टराईले भने, “नागरिकतामा प्रादेशिक पहिचान खुल्नुपर्छ, वैवाहिक अङ्गीकृत नागरिकता पाउन केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ।”
नेकपा (एमाले)का मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेशका मुख्यमन्त्रीलाई ‘शङ्काको सुविधा’ सहित विश्वासको मत दिएको बताएका छन्। एमालेको मधेश प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक जनकपुरधाम आएका भट्टराईले यस्तो बताएका हुन्।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेश मानवीय सूचकाङ्कमा सबैभन्दा पछाडि परेकाले यहाँ विकासको खाँचो रहेको उनको भनाइ थियो। “मधेश आर्थिक, सामाजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन भन्ने सोचेर नै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौं, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन,” उनले भने।
मुख्यमन्त्रीले विश्वासको मत सदुपयोग नगरे विश्वासको मत तान्न सक्ने विकल्प खुला रहेको उनको भनाइ छ।
भट्टराईले नागरिकता समस्या समाधान गर्न फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने पनि स्पष्ट पारे। जन्मसिद्ध आधारमा नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै उनले वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताए।
“एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ भनेर त्यसका लागि लडेको दल हो। त्यसमा हामी अवरोधक हुनै सक्दैनौं,” भट्टराईले भने, “नागरिकतामा प्रादेशिक पहिचान खुल्नुपर्छ, वैवाहिक अङ्गीकृत नागरिकता पाउन केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ।”
अर्को प्रसङ्गमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको इशारामा बजेट ल्याएको पनि आरोप लगाए। केही पूँजीपतिलाई फाइदा पुर्याउनकै लागि राजस्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो।