लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
कमलामाई नगरपालिका–६, धुराबजारका तीन वर्षीय क्रियान तामाङको मृत्यु भएको हो।
लिचीको दाना अड्किएपछि उनलाई राति नै उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर बालकको मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए।
यस्तै, सुनकोशी गाउँपालिका–२, गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ। प्रहरी नायब उपरीक्षक दाहालका अनुसार शव बिहीबार साँझ फेला परेको हो।
बालकको नाम र ठेगाना खुल्न सकेको छैन भने उनी अन्दाजी नौ वर्षको हुन सक्ने प्रहरीले जनाएको छ। - रासस