फ्राइडे रिलिज: ‘आदिपुरुष’, ‘फ्ल्याश’ र ‘एलिमेन्टल’ प्रदर्शनमा
नेपाली सिनेमाघरमा आजबाट तीन नयाँ चलचित्र आदिपुरुष, फ्ल्याश र एलिमेन्टल प्रदर्शनमा आएका छन्।
भारतीय चलचित्र आदिपुरुष पौराणिक ग्रन्थ रामायणमा आधारित छ। एक्शन, एड्भेन्चर विधामा बनेको यो चलचित्रका निर्देशक ओम राउत हुन्। चलचित्र दुई घण्टा ५४ मिनेट लामो छ। चलचित्रमा चर्चित दक्षिण भारतीय अभिनेता प्रभास, बलिउड अभिनेता सैफ अली खान, अभिनेत्री कृति सेनन लगायत कलाकारको अभिनय छ। नेपाली दर्शकले यो चलचित्र ‘थ्रीडी’ मा पनि हेर्न सक्नेछन्।
सीताको जन्म सम्बन्धमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने भ्रामक वाक्य प्रस्तुत गरेको भन्दै नेपालको सेन्सर बोर्डले चलचित्रलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार समेत गरेको थियो। उक्त संवाद हटाउने भएपछि हिजो अबेर मात्र चलचित्रले प्रदर्शनको अनुमति पाएको थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि आदिपुरुषमा राखिएको उक्त भ्रामक वाक्य नेपालमा मात्र नभई भारतमा समेत नसच्याएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए। उनले यसका लागि तीन दिनको समय दिएका छन्।
यस्तै, आजैबाट प्रदर्शनमा आएको हलिउड चलचित्र हो- फ्ल्याश। एन्डी मस्चिएट्टी निर्देशित यो चलचित्रमा शाशा कल, बेन एफ्लेक, एज्रा मिल्लर लगायतको अभिनय छ। सुपरहिरो विधाको यो चलचित्र दुई घण्टा २४ मिनेट लामो छ।
कमेडी विधाको ‘एनिमेटेड’ चलचित्र एलिमेन्टल पनि आजबाट प्रदर्शनमा आएको छ। पिटर सोनको निर्देशनमा बनेको चलचित्रको मुख्य कास्टमा मामोडू एथी, लिआ लेविस लगायत कलाकार छन्। चलचित्र एक घण्टा ४३ मिनेट लामो छ।