इटालीलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा, उपाधिका लागि क्रोएशिया विरुद्ध भिड्ने
यूईएफए नेशन्स लिगको उपाधिका लागि क्रोएशिया र स्पेन भिड्ने भएका छन्।
यूईएफए नेशन्स लिगको दोस्रो सेमिफाइनल खेलमा स्पेन विजयी भएको छ। इटालीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन लिगको फाइनलमा पुगेको छ।
स्पेनका लागि खेलको तेस्रो मिनेटमै एरेमी पिनोले गोल गरेका थिए। त्यसपछि ११औं मिनेटमा पेनाल्टी मार्फत इटालीका सिरो इमोबाइलले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। तर, ८८औं मिनेटमा स्पेनका जोसेलुले गोल गर्दै २-१ को जित दिलाए।
अब स्पेनले उपाधिका लागि क्रोएशिया विरुद्ध भिड्नुपर्नेछ। क्रोएशियाले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४-२ गोल अन्तरले हराएको थियो।
तेस्रो स्थानका लागि नेदरल्यान्ड्स र इटालीबीचको खेल आइतबार हुनेछ। यस्तै फाइनल खेल सोमबार हुनेछ।