मेस्सीले ७९ सेकेन्डमै गरे गोल
कप्तान लियोनल मेस्सीले करिअरकै छिटो गोल गरेपछि अर्जेन्टिनाले अस्ट्रेलिया विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको छ।
नेपाली समय अनुसार बिहीबार अपराह्न ५ः४५ बजे शुरू भएको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गरेको हो।
चीनको बेइजिङस्थित वर्कर्स रंगशालामा भएको खेलको दोस्रो मिनेट (७९ सेकेन्ड) मै अर्जेन्टिनी कप्तान मेस्सीले गोल गरेका थिए। यो मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करिअरमै गरेको छिटो गोल हो।
यस्तै, खेलको ६८औं मिनेटमा पेज्जिल्लाले गोल गरेका थिए। यससँगै अर्जेन्टिना २-० गोल अन्तरले विजयी भएको हो।
यसअघि यी दुई टोली कतार विश्वकपको अन्तिम-१६ को खेलमा भिडेका थिए। उक्त खेलमा अर्जेन्टिना २-१ गोल अन्तरले विजयी भएको थियो। विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाको यो तेस्रो मैत्रीपूर्ण खेल हो।
अर्जेन्टिनाले अब एशिया टूर अन्तर्गत दोस्रो खेल इन्डोनेशिया विरुद्ध खेल्नेछ। यो खेल आगामी सोमबार हुनेछ।