अनलाइन सट्टेबाजी प्रचारको आरोपमा आठ कलाकार पक्राउ
सट्टेबाजीको प्रचार गरेको आरोपमा प्रहरीले आठ जना कलाकारलाई पक्राउ गरेको छ।
कलाकारले चलाउने यूट्यूबमा प्रतिबन्धित अनलाइन बेटिङ गेम वानवेक्स बेटको विज्ञापन गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बल्छी धुर्वे नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टर नामले परिचित राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बूढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपाली छन्।
प्रहरीले जेठ ३१ गते वानएक्स बेट र क्रिप्टोकरेन्सी ट्रेड नामक तालीम गराउने पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरूले दिएको बयानका आधारमा कलाकारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।