अभ्यास खेलमा नेपाल विजयी
ओमनसँग भएको दोस्रो अभ्यास खेलमा नेपालले जित हासिल गरेको छ।
आईसीसी विश्वकप छनोट प्रतियोगिता खेल्न नेपाल जिम्बावेमा रहेको छ। प्रतियोगिता तयारीका रूपमा बिहीबार भएको अभ्यास खेलमा नेपालले ओमनलाई दुई विकेटले पराजित गरेको हो।
जिम्बावेको हरारे स्पोर्ट क्लबको मैदानमा भएको खेलमा ओमनले नेपाललाई २६८ रनको लक्ष्य दिएको थियो। नेपालले ४४.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले शतक प्रहार गरे। उनले ९४ बलमा १०१ रन बनाए।
त्यस्तै, भीम सार्कीले अर्धशतक प्रहार गरे। उनले ७४ बलमा ५६ रन बनाए। नेपालका लागि रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६ र आशिफ शेखले २३ रन बनाए।
ओमनका लागि अकिब इल्यासले चार, फयाज बटले दुई र कलिमुल्लाहले एक विकेट लिए।
असार ३ गतेबाट विश्वकप छनोट प्रतियोगिता शुरू हुनेछ। नेपालले पहिलो खेलमा असार ३ गते जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ।