जब टेकनाथ रिजाल इजलासमा मुड्की बजार्दै बोल्न थाले...
नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दाको एघारौं दिनको थुनछेक बहसमा जब शरणार्थी नेता टेकनाथ रिजाल बोल्न थाले, इजलास शान्त मात्रै भएन, न्यायाधीश पनि गम्भीर बने।
‘जसको राष्ट्र नै छैन, उसलाई राष्ट्रद्रोहको मुद्दा!’
अधिवक्ता पुरुषोत्तम अर्यालले यति बोलेपछि बिहीबार काठमाडौं जिल्ला अदालतको इजलास सुनसान बन्यो। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा टेकनाथ रिजालका तर्फबाट अन्तिममा बहस गरेका अर्यालले केही तथ्य र केही दृष्टिकोण सहित बहस टुङ्ग्याए।
त्यसपछि अर्का वकील न्यायाधीश प्रेमप्रसाद न्यौपाने नजिकै पुगे। रिजालले आफ्नै मुखबाट केही भन्ने चाहना राखेको सन्देश न्यायाधीशसम्म पुर्याए।
“हुन्छ, बोल्नोस् न,” न्यायाधीशले अनुमति दिए।
नीलो कोट-पाइन्ट र छालाको जुत्ता। अग्लो ज्यान। सेताम्मे जुँगा। शिरमा कहिल्यै नछुट्ने ह्याट।
यही हुलियामा रिजाल वकीलहरूले बहस गर्न उभिने ठाउँमा आए। अरू वेला वकील, अभियुक्त, पत्रकार, प्रहरीको गुनगुनले पनि ठूलै हल्लाखल्ला सुनिने इजलास रिजाल पोडियममा उभिएपछि अचानक शान्त बन्यो।
दुवै हात टेबलमा टेके र सानो स्वरमा बोल्न शुरू गरे। शुरूआतमा त रिजाल र न्यायाधीश मात्रै कानेखुशी गरे झैं भयो।
“नेपाली हो, गर्व त लाग्छ नि!” रिजालले शुरूआत गरे, “नेपाली र यहाँको भाषाको मायाले नै भूटानमा राजनीतिक रूपमा लडियो। त्यही भएर त्यहाँको सरकारले बोराभित्र हालेर जेल पुर्यायो। १० वर्ष नारकीय रूपमा राख्यो।”
जेलबाट निस्किएपछि पनि नेपाल आउन गरेको संघर्षबारे बेलिविस्तार लगाए। आफूहरू जन्मिएको माटोमै फर्कन नेपालमा बसेर गरेको संघर्ष, आन्दोलनबारे पनि बोले।
नेपाल र भूटानबीच धेरै पटक वार्ता भए पनि भूटान फिर्ताको प्रयास लामो समयसम्म नटुङ्गिएपछि कूटनीतिक पहलमा ठूलो संख्यामा भूटानी शरणार्थी अमेरिका, बेलायत, न्यूजिल्यान्ड, क्यानाडा लगायत तेस्रो मुलुकमा पुनर्वास गरिएको पनि सुनाए। “तर, म भने सके जन्मेको भूमि फर्कन्छु, नसके पनि पुर्खाको थलो नेपालमै मर्छु भनेर नेपालमै बसें,” न्यायाधीशलाई सुनाउँदै रिजालले भने, “केही आफू जस्तै जन्मभूमि फर्कन चाहने, केही पहिला विभिन्न कारणले जान नपाएको गरी ६ हजार छौं।”
भूटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पुर्याउने सूचना पाएपछि नै सरकारी निकाय, राजनीतिक दलका नेताहरूलाई जानकारी दिएको उनको भनाइ थियो। “हाम्रो नाममा यस्तो हुँदै छ, साथीहरू भनेर म कहाँ कुन नेता र निकायमा गइनँ?” बिस्तारै ठूलो स्वरमा बोल्न थालेका रिजालले भने, “भोलि भूटानसँग शरणार्थीको समस्याबारे ‘कसरी वार्ता गर्छौ’ भनेर पनि भनें।”
यस्तो चलखेल भइरहेको चाल पाएपछि सबै शीर्ष नेतालाई भेटेर जानकारी गराएको पनि रिजालले इजलासमा बताए। “शेरबहादुर देउवालाई पनि भेटें,” पूर्व प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै रिजाल बोले, “देउवाले ‘यी ठगहरू हुन्’ भने।”
आफूले संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमदेखि थुप्रैलाई भेटेको खुलाए। “तर, मैले भूटानी शरणार्थीको समस्याको हल खोज्न र यस्तै गैरकानूनी गतिविधि भइरहेको छ भनेर भेटेको हुँ,” रिजालले भने।
तर, नेपाल सरकारले भूटानी शरणार्थीको छानबिन गर्ने नाममा आफूहरूमाथि अन्याय मात्र गरेको रिजालको भनाइ थियो। नेपालले भूटानसँग वार्ता गर्दा शरणार्थीको प्रतिनिधि नराखेको, राख्न दबाब नदिएकोमा पनि उनको गुनासो थियो। “वार्ता गर्दा हाम्रो एक जना पनि त्यहाँ हुँदैनन्, किन?” रिजालको प्रश्न थियो।
नेपाल सरकारले भूटानी शरणार्थीमाथि गरेको पाप अहिले धुरीबाट कराएको उनको भनाइ थियो। “यहाँ अहिले सरकारका मन्त्री, सचिवहरू हुनुहुन्छ,” पछाडितिर फर्किएर रिजालले भने, “त्यत्रो पदमा पुगेकाहरू आज अभियुक्त बनेर यहाँ हुनुको कारण स्वयं उहाँहरू हो।”
यति वेलासम्म रिजालको स्वर ठूलो बनिसकेको थियो। नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे लगायत अभियुक्त रिजालले बोलेको एकटकले सुनी मात्र रहे।
“उहाँहरूको कारणले आज भूटानी शरणार्थीले यो अपमान, खेप्नुपर्यो,” रिजालले पछाडि फर्किएर औंलो ठड्याउँदै अझै स्वर बढाए, “यहाँभन्दा बेइज्जती खप्न सकिन्न। यी ६ हजार मान्छेको समस्या समाधान गर्ने नाममा यी चोर (नेता र उच्च प्रशासक)हरूले ठगेर खाने?”
यसो भन्दै रिजालले पोडियमको टेबलमा मुड्की बजारे। रायमाझी, खाण र पाण्डे कालोनीलो भए। इजलास बाहिर रहेका प्रहरी ह्वार्र इजलासभित्र छिर्ने ढोकातिर बढे। शुरूदेखि नै गालामा हात राखेर ध्यानपूर्वक सुनिरहेका न्यायाधीश न्यौपानेले रिजाललाई पहिले बसेकै ठाउँमा गएर बस्न भने।
वकीलले रिजाललाई शान्त बनेर कुरा राख्न थुमथुम्याए। सम्हालिएका रिजालले अन्त्यमा भने, “म शरणमा परेको व्यक्तिलाई सरकारमा बस्नेहरूले नै विश्वस्त तुल्याएपछि मेरो समुदायको हितका लागि केही काम गरें। मैले अदालतमा पनि भनेको छु। यही आधारमा मलाई निसाफ चाहियो। नत्र मलाई अदालतमै बाँधेर राखियोस्।”
यो मुद्दामा पक्राउ परेका १८ जना अभियुक्तमध्ये रिजाल मात्र यस्ता पात्र हुन् जसले प्रहरी अनुसन्धानमा भनेकै बहुसंख्यक कुरा अदालतमा पनि दोहोर्याएका छन्। अर्थात् उनले इन्कारी बयान दिएका छैनन्।
रिजालले सानु भण्डारी मार्फत तत्कालीन उपप्रधानमन्त्री रायमाझीलाई भेटेर गिरोहसँग साँठगाँठ गरेको आरोप छ। रायमाझी मार्फत नै रिजालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेको अदालती बयानमा बताएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भने रायमाझीले भेटाउन नसकेको उल्लेख छ।
रायमाझीको घरमा रिजालसँग भण्डारी, इन्द्रजीत राई र केशव दुलालसँग भेटेको पनि अभियोगपत्रमा उल्लेख छ। साथै भण्डारीको घरबाट बरामद डायरीमा रिजालका लागि खर्च भनेर लेखिएको पनि भेटिएको उल्लेख छ।
अर्का व्यक्ति रामशरण केसीबाट रिजालले ११ लाख रुपैयाँ लिएको पनि अभियोग लागेको छ। रिजालले ३४ जना नेपालीको भूटान मानव अधिकार संगठनको सदस्यको परिचयपत्रमा हस्ताक्षर गरेको आरोप लागेको छ।
रिजालले केसीसँगको लेनदेन भएको स्वीकार गरेका पनि छन्। तर, उक्त कारोबार फरक विषयमा भएको उनको जिकिर छ। डायरीमा भेटिएको तथ्य भने इन्कार गरेका छन्।
परिचयपत्रमा हस्ताक्षर गरेको पनि रिजालले स्वीकारेका छन्। भण्डारी र दुलालले भनेपछि कार्डमा हस्ताक्षर गरेको उनले अदालतमा बताएका छन्। रायमाझी र राईले यो गिरोहका लागि नीतिगत तहमा बसेर काम गरेको भन्ने आफूले सुनेको रिजालले बताएका छन्।
यसअघि जेठ २९ गते वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले रिजालले अनुसन्धानका क्रममा र अदालतमा स्वीकार गरेको तथ्य कोट्याउँदै यो अपराध सरकारको माथिल्लो तहमा बस्नेले गरेको औंल्याएका थिए। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा ढुक्क हुन तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन नेकपाका नेता दाहाललाई भेटाउन भनेपछि दुलाल र भण्डारीले भेटाएको अनुसन्धान र प्रहरी बयानमा खुलाएका छन्। “ढुक्क हुन रिजालले ओली, प्रचण्डलाई भेट्न चाहेका छन्। ओलीसँग भेट भएनछ। प्रचण्डसँग भेटेपछि रिजालले नेपाल सरकारबाट पाइरहेको सुविधा, जुन रोकिएको थियो, त्यो पनि पाउन थालेछन्,” नेउपानेले प्रश्न गरेका थिए, “अपराध बमोजिम अभियोग आयो त श्रीमान्?”
निलम्बित सचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पठाएको पत्रले पनि यो अपराधको संलग्नताको तह उजागर हुने प्रसङ्ग नेउपानेले उप्काएका थिए। “हिरासतबाट सचिवज्यूले चिठी लेख्नुभयो– यीभन्दा माथि अनुसन्धान नहोस्। भयो भने राजनीतिक रूपमा अप्ठ्यारो पर्छ। माथि अनुसन्धान रोक्न र पक्राउ परेकाको बयान फेराउन केपी बा, शेरबहादुर बालाई भेट भनियो,” नेउपानेले भने, “प्रहरीले अनुसन्धान गरेर अभियोग त्यसरी नै ल्यायो। अनुसन्धान माथि गएन।”
आज रिजालले पनि नेताहरूकै कारण भूटानी शरणार्थीको अन्तर्राष्ट्रिय जगत्मा बेइज्जती भएको पीडा न्यायाधीशलाई बिसाएका हुन्। यो मुद्दाका अभियुक्तमध्ये इजलासमा आफ्नो कुरा प्रत्यक्ष राख्ने रिजाल मात्र हुन्। रिजालले यसअघि पनि प्रहरी हिरासतमा राम्रो व्यवहार नभएको भन्दै गुनासो गरेका थिए।