नेपालले आफूलाई पुग्दो प्याज उत्पादन गर्न सक्छ?
मूल बीउको अभाव, बेमौसमी खेती प्रविधिको विस्तार नभएकाले प्याजमा भारतीय निर्भरता तत्काल तोडिन कठिन छ।
थोक बजारमा प्रतिकिलो ३५ रुपैयाँ रहेको प्याजको भाउ नयाँ बजेटले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै दोब्बरले बढेको छ। सँगै आशङ्का उब्जिएको छ- उत्पादन हुने मुख्य मौसममै यसरी मूल्य चर्कंदा बेमौसममा प्याज किन्नै नसकिने गरी महँगिने त होइन?
आर्थिक वर्ष २०८०/८१ को बजेटले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै आलु-प्याज जस्ता तरकारीमा भ्याट लगाएको हो। यसो गर्दा भारतीयका तुलनामा नेपाली उत्पादनको मूल्य प्रतिस्पर्धी हुने र किसानलाई यी वस्तुको उत्पादनमा प्रोत्साहन मिल्ने सरकारको दाबी छ।
अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभामा आलु-प्याजमा लगाइने भ्याट साना किसान र पसललाई नभएर ठूला व्यवसायमा मात्रै लागू हुने बताएका छन्। तर, व्यवसाय छुट्याउन नै चुनौतीपूर्ण रहेकाले कार्यान्वयन कसरी हुन्छ, प्रस्ट छैन। यसअघि अन्य खालका उपभोग्य वस्तुु र सेवामा सीमित भ्याट कृषि उपजमा पनि आएपछि मोल १३ प्रतिशतले बढ्ने निश्चित छ।
भान्सामा दिनहुँ प्रयोग हुने प्याजमा नेपाल परनिर्भर छ, भारतबाट हरेक दिन ४७५ टन भित्रिन्छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार प्याजको वार्षिक खपत हेर्दा आधाभन्दा केही बढी हिस्सा मात्र स्वदेशमा उत्पादन हुन्छ। वार्षिक माग चार लाख दुई हजार टन छ। अर्थात् हरेक घरपरिवारलाई भाग लगाउँदा वार्षिक ६० किलोका दरले चाहिन्छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले रु.६ अर्ब ४४ करोडको (एक लाख ७३ हजार टन) प्याज आयात गरेको थियो। त्यसभन्दा अघिल्लो वर्ष २०७७/७८ मा चार अर्ब ९६ करोडको एक लाख २८ हजार टन आएको थियो। थोरै परिमाणमा चीनबाट पनि आउँछ।
केन्द्रका बाली संरक्षण अधिकृत तोयानाथ जोशीका अनुसार उष्ण हावापानी हुने तराईदेखि मध्यपहाडसम्मै खेती गर्न सकिने प्याज देशलाई पुग्दो उत्पादन आफैं गर्न नसकिने होइन। यसका लागि बीउ उत्पादनदेखि खेती र भण्डारणसम्मको तरीका सुधारिनुपर्छ। “उत्पादन आजको भोलि नै दोब्बर पार्न भने सकिंदैन,” उनी भन्छन्।
असफल मिशन
प्याजमा परनिर्भरता नेपालमा विगतदेखि नै छलफलको विषय बन्दै आएको छ। आयात प्रतिस्थापन गर्न सरकारले २०६४ सालमै ‘मिशन प्याज कार्यक्रम’ घोषणा गरी उत्पादन बढाउने अभियान थालेको थियो। मधेश प्रदेशका सप्तरी, सिरहा, रौतहट, रुपन्देही, बारा, बाँके, बर्दिया, झापा सहितका जिल्लामा लागू गरिएको यो कार्यक्रमले बेमौसमी प्याज उत्पादन गर्ने सहितका लक्ष्य राखेको थियो।
किसानलाई उन्नत बीउबीजन, मल र सिंचाइमा अनुदानसम्मका प्रोत्साहन घोषणा गरियो। १८ हजार हेक्टर जमीनमा खेती बढाएर थप पौने तीन लाख टन प्याज फलाउने योजना थियो। तर, खेती थप दुई हजार हेक्टरभन्दा बढ्न सकेन। अन्ततः कृषि मन्त्रालय आफैंले यसलाई असफल कार्यक्रमका रूपमा स्वीकार गर्यो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा दुई लाख ८९ हजार टन प्याज उत्पादन भयो। यो प्रतिहेक्टर १४ टनको उत्पादकत्व हो। तरकारी बाली विकास केन्द्रका प्रवक्ता डोलराज पाण्डे नेपालमा भने जति मात्रामा प्याज उत्पादन नहुनुमा झन्झटिलो खेती र फसल लिन लामो समय लाग्नुलाई मुख्य कारण बताउँछन्।
प्याजको बेर्ना सार्दादेखि फसल लिनसम्म झन्डै ६ महीना लाग्छ, पानी र स्याहार पनि उत्तिकै चाहिन्छ। “अरू बालीबाट दुई पटक फसल आउने वेलामा प्याजबाट एक पटक मात्रै आउँछ। त्यसैले किसान यो बाली लगाउन उत्साही हुँदैनन्,” पाण्डे भन्छन्। अर्कातिर प्याजको मूल बीउ पनि भने जति पाइँदैन। प्याजको व्यावसायिक खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव रहेको पाण्डेको भनाइ छ।
प्याजको बीउ वर्षा याममा उत्पादन हुन्छ, तर यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ। देशको पूर्वी र मध्य क्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्र अन्तर्गत प्याजको बीउ उत्पादन गरिंदै आएको छ। केन्द्रसँग वार्षिक ३०० किलोसम्म मूल बीउ उत्पादनको क्षमता भए पनि त्यस अनुसार उत्पादन गर्न सकेको छैन।
केन्द्रका प्रमुख रवीन्द्रप्रसाद यादवले गत आर्थिक वर्षमा ८० किलो बीउ उत्पादन गरिएकोमा यस वर्ष २०० किलो हाराहारी उत्पादन हुने अनुमान गरिएको बताए। तर, यति बीउ देशैभरि प्याज फलाउन पर्याप्त हुँदैन। नेपालमा निजी क्षेत्रले व्यावसायिक रूपमा प्याजको बीउ उत्पादन गर्दैन।
प्रवक्ता पाण्डे ‘मिशन प्याज कार्यक्रम’ विफल हुनुुमा आफूलाई पुग्दो बीउ देशभित्रै उत्पादन गर्न नसक्नु र भारतले पनि नदिनु मुख्य कारण रहेको बताउँछन्। भारतले नासिक ५३ नामक बीउ तथा प्याज खेतीमा लाग्ने ढुसी नियन्त्रक निर्यातमा व्यवधान खडा गर्ने गर्छ।
नेपालमा सामान्यतया मंसीर-पुसमा बेर्ना सारेर वैशाख-जेठतिर प्याजको गाना निकालिन्छ। त्यसैले यो वर्षमा एक बाली मात्रै हुन्छ। पाण्डे बेमौसमी खेतीका लागि उपयुक्त बीउ विकास गर्नै कठिन परेको बताउँछन्। धेरै उत्पादन दिने, रोगकीरा सहने उन्नत जातको बीउ विकास गर्न ‘प्योर लाइन’ (वंश) आवश्यक पर्छ जुन भारतले हत्तपत्त दिंदैन। “हाम्रोमा बीउ र प्याज उत्पादन सफल भए उनीहरूको बजार घट्ने हुँदा नेपालभित्रको अनुसन्धान र उत्पादनमा सजिलोसँग सघाउँदैनन्,” पाण्डे भन्छन्। प्याज बाली विज्ञ ईश्वरी गौतम पनि बेमौसममा फलाउन बीउ उत्पादन नै मुख्य समस्या रहेको बताउँछन्।
प्याजको बजारीकरण र भण्डारणमा पनि समस्या छ। चैत-वैशाखमा उत्पादन हुने प्याजका गाना लामो समय भण्डारण गर्न कठिन छ। चिस्यान केन्द्रमा पनि लामो समय भण्डारण गर्न मिल्दैन। त्यसैले उत्पादनका वेला निकै सस्तो हुने प्याजको मूल्य भदौ-असोजपछि उकालिंदै जान्छ। यसकारण पनि बेमौसमी खेतीको प्रविधि फैलाउन बल गर्नुपर्ने बताउँछन्, प्याज बाली विज्ञ गौतम।
उनका अनुसार चैत-वैशाखमा पनि भारतीय सस्तो लागतको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपरेकाले किसानहरू प्याज खेतीमा उति आकृष्ट छैनन्। “जेठमा रोपेर मंसीरमा उत्पादन गर्ने प्रविधिले प्याजमा भारतीय निर्भरतालाई अन्त्य गर्न सक्छ। तर, भारतीय उत्पादनको लागत सस्तो रहेकाले नेपाली किसानले प्रतिस्पर्धा गर्नै सक्दैनन्। त्यसैले लागत सस्तो बनाउने उपाय खोज्नुपर्छ,” उनी भन्छन्।
पुरानो बाली
प्याज शुरूमा इसापूर्व ५००० तिर मध्यएशियाका इरान, अफगानिस्तान, पाकिस्तान क्षेत्र वरपर उत्पत्ति भएको मानिन्छ। खेती चाहिं करीब दुई हजार वर्षअघि मिश्र (अहिलेको इजिप्ट)बाट शुरू भएको ठानिन्छ। मिश्रको पिरामिड बनाउने मिस्त्रीहरूलाई प्याज खुवाइएको अड्कल गरिंदै आएको छ।
नेपालमा प्याजखेती कहिलेदेखि हुन थाल्यो, प्रस्ट छैन। तर, बाहुनका भान्सामा ‘लसुन-प्याज निषेध’ हुनुले शुरूमा यसको उत्पादन र प्रयोग अन्य जातिले गरेको बुझिन्छ। एकदलीय, परसेचित यो बाली अहिले देशको तराईदेखि पहाडसम्म करीब २० हजार हेक्टरमा खेती हुन्छ। हिमाली जिल्ला मनाङमा पनि फलेको पाइन्छ।
तराई, भित्री मधेश, उपत्यका र पहाडी क्षेत्रमा प्याजको खेती राम्रो हुन सक्छ। हिउँदमा खेती गरिने प्याजका गाना सप्रिन तापक्रम, प्रकाश तथा दिनको लम्बाइको विशेष भूमिका हुन्छ।
बिहानैदेखि घाम लाग्ने ठाउँमा सप्रिने प्याजका लागि १२ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। पानी लाग्ने हलुका र मलिलो दोमट माटोमा हुने प्याजको बोट बढ्नभन्दा गाना लाग्न बढी तापक्रम चाहिन्छ।