यो देशमा सबैभन्दा बिजोग ज्येष्ठ नागरिकको छ: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले दुःख भोगिरहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै थापाले ज्येष्ठ नागरिकलाई सहज रूपमा जीवनयापन गर्ने वातावरण नभएको बताए। “नेपालमा सबैभन्दा बिजोग ज्येष्ठ नागरिकको छ,” केसीले भने, “म पनि ज्येष्ठ नागरिक हुँ, ज्येष्ठ नागरिकको कस्तो बिजोग छ भन्ने मैले अनुभव गरेको छु।”
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ। मन्त्रालयगत रूपमा बजेटमाथि बहस भइरहेको छ। बिहीबार वन तथा वातावरण मन्त्रालय र महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ।
ज्येष्ठ नागरिक मन्त्रालयमाथिको छलफलमा भाग लिंदै सांसद केसीले ज्येष्ठ नागरिकलाई भविष्यमा अझै दुःख हुने बताए। नयाँ पुस्तालाई नेपालमा बस्ने वातावरण नभएकाले विदेश जाने र ज्येष्ठ नागरिकको बिजोग हुने उनको भनाइ थियो।
जसले जसरी जति सम्पत्ति थुपारे पनि बुढेसकालमा काम नलाग्ने उनले बताए। “घूस खाएर, भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति बुढेसकालमा केही काम लाग्नेवाला छैन,” केसीले भने, “तपाईंका छोरानातिलाई यो देशमा बस्ने वातावरण छैन।”
उनले नयाँ पुस्तालाई नेपालमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। यससँगै ज्येष्ठ नागरिकलाई सहज जीवनयापन गर्ने गरी सरकारले व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।