नेपाल र भारतको खेल वर्षाले अवरुद्ध
एसीसी महिला इमर्जिङ कप अन्तर्गत बिहीबारको नेपाल र भारतको खेल वर्षाले अवरुद्ध भएको छ।
वर्षाका कारण हङकङको मोङकङ क्रिकेट मैदानमा तय भएको नेपाल र भारतको खेल अवरुद्ध भएको हो। योसँगै नेपाल र भारतले एक-एक अङ्क बाँडेका छन्।
इमर्जिङ कप अन्तर्गत समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग नौ रनले पराजित भएको थियो। दोस्रो खेल वर्षा अवरुद्ध भएपछि अब सेमिफाइनल पुग्ने सम्भावना न्यून भएको छ।
यो समूहमा रहेको भारत तीन अङ्क सहित शीर्षस्थानमा छ। त्यस्तै, पाकिस्तानको पनि तीन अङ्क छ भने रनरेटका आधारमा दोस्रो स्थानमा छ।
एक खेल हारेको नेपाल एक अङ्क सहित तेस्रो स्थानमा छ। त्यस्तै, एक खेल हारेको हङकङको पनि एक अङ्क छ भने रनरेटका आधारमा नेपालभन्दा तल चौथो स्थानमा छ।
नेपालले अर्को खेल असार २ मा हङकङसँग खेल्नेछ। नेपालले जितेमा र पाकिस्तानलाई भारतले हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ।
त्यस्तै, समूह ‘बी’ का पनि आज दुवै खेल वर्षाले अवरुद्ध भए। यो समूहमा रहेका बाङ्लादेश र श्रीलंका तीन-तीन अङ्क सहित पहिलो र दोस्रो स्थानमा छन्। यूएई दुई अङ्क सहित तेस्रो स्थानमा छ भने मलेशियाले अङ्क जोड्न सकेको छैन।