बाढीले माण्डु हाइड्रोेमा क्षति
बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।
रु चार अर्ब २५ करोड लगानी रहेको मकवानपुरस्थित माण्डु हाइड्रोपावरमा बाढी पहिरोले रु ६ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरका विद्युत् व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए।
निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानीमा निर्माण भएको सो कम्पनीमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाका एक हजार ८०० जनाको शेयर छ ।
बाढीसँगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पुर्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’ गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ ।
साथै वाग्मती खोलाको बाढीले जलविद्युत् गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीका जनसम्पर्क अधिकृत दानीले जानकारी दिए।
उनका अनुसार अहिले क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको छ । साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको पनि उनले जानकारी दिए।