दुर्लभ गीत जोगाउने दुर्गम गाउँ
सडक र जीवनका अन्य धेरै सुविधाबाट पर रहेको, एक्लिएको यस्तो गाउँ जसले लगभग हराइसकेका गीत जोगाइरहेछ।
स्वागत छ वसन्त ऋतुको पहिलो, दोस्रो, तेस्रो महीना
जब पशुबस्तु (चौंरी, भेडा, बाख्रा) ब्याउँदछन्
तब सधैं दूध, दही खान पाइन्छ
सुखका साथ आनन्द हुन्छ
शुभकामना छ, वसन्त ऋतु
स्वागत छ वर्षा ऋतुको पहिलो, दोस्रो, तेस्रो महीना
जब पाखा र वनजङ्गलमा फूल फुल्छन्
तब देवी देउतालाई फूल टिपेर चढाइराख्नुनपर्ने
सुख आनन्द मिल्छ
शुभकामना छ वर्षा ऋतु
स्वागत छ शरद ऋतुको पहिलो, दोस्रो, तेस्रो महीना
जब खेतबारीमा बाली-नाली पाक्छ
तब प्रशस्त अन्नबाली खान र पूजा गर्न पाइन्छ, किन्नु पर्दैन
खान मजा हुन्छ
शुभकामना छ शरद् ऋतु
स्वागत छ हिउँद ऋतुको पहिलो, दोस्रो, तेस्रो महीना
जब खोलानालाहरूको पानी माथि माथि बरफ जम्छ
तब पुल आवश्यक नपर्ने सुख आनन्द मिल्छ
शुभकामना छ हिउँद ऋतु
चौंरी र भेडा बाख्रा पाल्ने, हिउँदमा पानी जम्ने, हिउँ पर्ने यस्तो ठाउँ कहाँ होला? सजिलै अनुमान गर्न सकिन्छ, यो नेपालको हिमाली क्षेत्र हो। माथिको गीतले त्यही हिमाली भूगोल र जीवनशैलीको सजीव चित्र उतारेको छ। बर्खामा दूध-दही खाने, वसन्तमा फूल फुल्ने, शरद्मा बाली पाक्ने र हिउँदमा हिउँमाथि हिंड्ने जीवन्त चित्रण सँगसँगै यो गीतले त्यो गाउँकै छवि नै आँखा अगाडि ल्याइदिन्छ। साथै त्यो ठाउँमा ऋतुचक्र अनुसार मानिसको बदलिंदो जीवनशैलीलाई पनि सटीक ढङ्गमा वर्णन गर्छ।
यो हो, नेपालकै विकट मानिने डोल्पाको पुङ्मो गाउँ, जहाँ केही सङ्गीतप्रेमीले सो समुदायको समग्र जीवन उतार्ने यस्ता गीत जोगाउने प्रयास गरिरहेका छन्। जम्मा २०० बासिन्दा भएको यो गाउँले कसरी डोल्पाको साङ्गीतिक सम्पदा जोगाइरहेको छ भन्ने कथा हो यो।
पुङ्मो गाउँ
कर्णाली प्रदेशको डोल्पा जिल्लामा समुद्री सतहभन्दा तीन हजार ६०० मिटर माथि, नेपालकै गहिरो ताल शे-फोक्सुण्डो छ। त्यही फोक्सुण्डोको छेउमा छ, पुङ्मो। त्यही गाउँका तीन युवा पेम्बा टासी लामा, सोनाम लामु बैजी, पासाङ निमा बैजी र युङडुङ साङ्मु लामा गत चैतमा काठमाडौं आएका थिए। ‘इकोज् इन द भ्याली’ नाम दिइएको उत्सवमा गाउँको गीत सुनाउनकै लागि उनीहरूले पाँच दिनको यात्रा तय गरेका थिए।
साहसिक कथा जस्तै लाग्ने यात्राको वर्णन गर्दै पेम्बा टासी भन्छन्, “हामी पहिले पुङ्मोबाट हिंड्दै जुफाल विमानस्थल पुग्यौं। त्यहाँबाट प्लेन टिकट नमिलेपछि त्रिपुराकोट हुँदै हिंड्दै तल्लो बगर, छिन्चु, सुर्खेत पुग्यौं। नेपालगन्ज विमानस्थलबाट प्लेन चढेर काठमाडौं पुग्दा हामी गाउँबाट हिंडेको पाँच दिन भइसकेको थियो ।”
जुफाल विमानस्थलबाट हिंडेर एकदेखि तीन दिनमा पुगिने फोक्सुण्डो तालको छेउमा पर्ने यो गाउँ यातायातले मात्र नभई अरू हिसाबले पनि निकै विकट रहेको सोनाम लामा बताउँछिन्।
“हाम्रो गाउँ एकदम सानो छ। जम्मा ४० घरधुरीमा २०० जति मात्र मान्छे छौं। यहाँ कुनै पर्यटन हुँदैन, त्यसैले कोही आउँदैन। हाम्रोमा व्यापार पनि छैन, त्यसैले हामी खेती गर्छौं र चौंरी पाल्छौं,” लामा भन्छिन्।
विगतमा भने पुङ्मोमा अलि बढी चहलपहल हुने गरेको गाउँका बासिन्दा र सङ्गीत संरक्षणकर्ता सेम्दुक लामा बताउँछन्। गुम्बा स्थापित भएको नै ५००-६०० वर्ष भएको पाइएकाले यो बस्ती कम्तीमा त्यति नै पुरानो भएको लामा बताउँछन्।
“हाम्रो गाउँ निकै उचाइमा भए पनि जाडो महीनामा माथिल्लो डोल्पामा जत्तिको जाडो हुँदैन। त्यसैले विगतमा जाडो महीनामा माथिल्लो डोल्पोका मान्छेहरू पुङ्मोमा आएर बस्थे रे। त्यसै कारणले पुङ्मोमा बस्ती बस्यो भनिन्छ, जुन पछि गएर हिउँदे बस्ती मात्र नभएर वर्षैभरि बस्ने ठाउँ बन्यो। तर, आजकाल मान्छेहरू जाडो महीनामा तलै पहाड वा तराईतिरै झर्छन्, त्यसैले हाम्रो गाउँको जनसंख्या बढेन। हामी चाहिं झर्नु पर्दैन, पुङ्मोमै बस्दा पनि हुन्छ,” सेम्दुक भन्छन्।
पुङ्मोका गीतहरू
पुङ्मो गाउँ यसरी बिस्तारै एक्लिएपछि यहाँ डोल्पोपा (डोल्पाका मानिस) समुदायका प्राचीन संस्कृति केही हदसम्म जोगिने वातावरण बनेको देखिन्छ। डोल्पामा अन्त बिर्सिइएका गीतहरू पुङ्मोमा गाइने यहाँका बासिन्दा बताउँछन्। कुनै बाजा विना गाइने खुङ्लु सबैभन्दा पुरानो विधा मानिन्छ।
‘इकोज् इन द भ्याली’ मा उनीहरूले यस्तै एउटा खुङ्लु गीत प्रस्तुत गरेका थिए। ल्होसार लगायत चाडपर्वमा गाइने यो पहिलो गीतमा स्वागतभाव रहेको छ। “गीतमा हामीले घाम, जून, बाबु-आमा, लामा, राजा र युवालाई स्वागत गर्छौं,” पासाङ निमा भन्छिन्।
त्यसैगरी, यो समुदायमा बसेरै गाउने सुन्लु र ढेल्लु भनिने अरू पनि पुराना विधा रहेका छन् भने उठेर बाजा बजाउँदै, नाच्दै गाइने श्यार्बोलाई नयाँ विधा मानिन्छ।
‘इकोज् इन द भ्याली’ मा उनीहरूले गाएको अर्को खुङ्लु गीतले यो समुदायको जीवनशैली झल्काउँछ।
दैलोदेखि माथिसम्म अन्नले भरियो
त्यो अन्नबाट छ्याङ बनाउनुपर्छ
अलिकति पानी पनि हाल्नुपर्छ
“तर, धेरै पातलो बनाउनु चाहिं हुँदैन नि!” हाँस्दै पेम्बा टासी गीतको अर्को पंक्ति सुनाउँछन्।
छ्याङ बनाउँदा धेरै पानी नहाल
छ्याङ त कडा हुनुपर्छ
नेपालका आदिवासी जनजाति समुदायले आफैंले मदिरा बनाउने गरेको इतिहास र समुदायमा त्यसको महत्त्व र महिमा पनि यो गीतमा पाइन्छ। “अहिले त छ्याङ त्यति चल्दैन, तर पहिले त छ्याङ जस्तो मीठो केही हुँदैनथ्यो नि,” पासाङ निमा भन्छिन्।
छ्याङ कति मिठो हुन्छ
सबै खानेकुरा छ्याङ जस्तै भए हुने
डोल्पामा अन्न पाकेपछि र रमाइलो गर्ने वेलामा मात्र नभएर बच्चा जन्माएपछि सुत्केरी महिलालाई पनि छ्याङ खुवाउने गरेको पासाङ निमा बताउँछिन्। छ्याङले कमजोर भएको जीउलाई तागत दिने र सुत्केरीको दूध आउने विश्वास गरिन्छ भने त्यति मात्र नभएर बूढाबूढीलाई पनि छ्याङ उपयुक्त मानिन्छ। गीतले पनि त्यसै भन्छः
बूढाबूढीलाई कहिलेकाहीं निद्रा लाग्न गाह्रो हुन्छ
अलिकति छ्याङ खाएर सुत्यो भने राम्रो निद्रा लाग्छ
यो गीत मनोरञ्जनका लागि मात्र नभएर जीवनमा उपयोगी पनि रहेको देखिन्छ किनकि यसमा छ्याङ बनाउने तरीका पनि सिकाइएको छ।
छो-पुङ्मो समुदाय (डोल्पाभित्र पुङ्मो र रिग्मोका मानिस)का अरू थुप्रै गीतले पनि मनोरञ्जन मात्र नभएर जीवनोपयोगी सीप वर्णन गर्छन्, चाहे त्यो स्वागत गर्ने तरीकाबारे होस् वा ऋतु अनुसार गर्नुपर्ने व्यवहार नै किन नहोस्। गीतको यस्तो उपयोगिता नै त्यसको विशेषता भएको सङ्गीत अध्येताहरू बताउँछन्।
यी गीत सुन्न र सिक्न पुङ्मो पुगेका ल्याटिन अमेरिकी देश चिलेका सङ्गीतकार तोमास कार्रास्को भन्छन्, “त्यहाँ हामीले सङ्गीत सिर्जना गर्ने एकदम मौलिक तरीका भेट्यौं। यस्ता समुदायमा कुनै व्यावसायिक सङ्गीतकार हुन्छ भन्ने छैन। सामान्य मान्छेले अरू काम सँगसँगै गीत सिक्ने, बनाउने र गाउने काम पनि गरिरहेको हुन्छ। त्यसलाई समुदायले ‘कला‘ भन्छ भन्ने छैन। सङ्गीत पनि लुगा बनाउने, गहना बनाउने जस्ता अरू सीपभित्रै पर्छ।”
“लोकसङ्गीतबारे जान्नु भनेको गीत मात्रै सिक्नु होइन, त्यो समुदायबारे र त्यो समुदायमा सङ्गीतको उपयोगबारे पनि बुझ्नु हो,” पुङ्मो पुगेका अर्का चिलेएन सङ्गीतकार मोआ एडमन्ड्स भन्छन्,“यो समाजमा यो सङ्गीतको एउटा प्रयोजन छ भन्ने बुझ्नु नै एउटा चुनौती थियो।”
ज्ञान र सूचना प्रसारणका अन्य माध्यमको विकास नहुँदासम्म सङ्गीतले नै त्यो अभिभारा पूरा गरिरहेको थियो। सङ्गीत समुदायकै अङ्ग जसका विभिन्न उपयोगिता थिए- समुदायको मौखिक इतिहास कहने, नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने, रीतिरिवाज पूरा गर्ने, कुनै कुनै किसिमका उपचार गर्ने र अरू पनि धेरै। आज भने ज्ञान प्रसारणका अन्य माध्यमको विकास र यी उपयोगहरू घट्दै गएका कारण सङ्गीत मनोरञ्जनमा सीमित भएको छ।
पुङ्मो जस्ता ठाउँमा भने अझै पनि सङ्गीतका यस्ता बहुउपयोगिता बाँकी छन्। जस्तै- थुप्रै हिमाली समुदायमा बजाइने ट्यामयेन बाजाबारे डोल्पामा एउटा गीत नै गाइन्छ। लामो आकार भएको, पाँच वटा तार भएको, शिरमा सिंह वा घोडा वा अन्य मूर्ति कुँदिएको र विभिन्न किसिमका कलात्मक चित्र बनाइएको यो बाजा पुङ्मो गाउँमा बजाइने एक मात्र बाजा हो। यो बाजा बजाएर श्यार्बो गीत गाउँदै गाउँलेहरू कहिलेकाहीं रातभरि नाच्ने गर्दछन्। गीतले नै त्यो बाजा कसरी बनाउने भन्नेबारे बताएको छ।
यो बाजा बनाउनका लागि धेरै सामान जुटाउनुपर्छ
भाले भोजपत्रको काठबाट शिर बनाउनुपर्छ
लाङ्मा भन्ने झारबाट पेच बनाउनुपर्छ
बाख्राको आन्द्राबाट तार बनाउनुपर्छ
हराउँदै गीत
एक्लिएको हुनाले पनि पुङ्मो गाउँमा छो-पुङ्मो समुदायका पुराना गीतहरू निकै पछिसम्म जीवित थिए। “हाम्रो जमानामा विद्यालय हुँदैनथ्यो। रात परेपछि हामी आगो बाल्थ्यौं र आगोको वरिपरि गाउँदै, नाच्दै बस्थ्यौं। अहिले त कसैले गाउँदैन,” सेम्दुक लामा भन्छन्।
यस्ता पुराना गीतमा युवाको खासै रुचि नभएको गुनासो पनि उत्तिकै छ। समयसँगै एक्लिएको यो गाउँ पनि मूलधारकै समाजमा घुलमिल हुँदै जाँदा त्यस्तो भएको हुन सक्ने पुङ्मोका बासिन्दाहरू बताउँछन्। डोल्पाबाट आएका चार जना गायकहरू अझैसम्म पनि परम्परागत पोशाकमै देखिन्छन्। नेपालीभन्दा आफ्नै भाषामा बोल्न मन पराउँछन्, तर उनीहरूमध्ये प्रायका छोराछोरी काठमाडौं वा अन्त कतै बसेर पढिरहेका छन्। यसरी समाजमा आवागमन बढ्दै जाँदा युवाको ‘टेस्ट’ पनि परिवर्तन भइरहेको छ।
“पुरानो कुरा नहराओस् भनेर हामी गाइरहेका छौं। तर, डोल्पामै पनि अन्यत्र यी गीत गाएको सुनिंदैन। उनीहरूले सिक्ने इच्छा पनि गरेका छैनन्। उनीहरू नेपाली, हिन्दL, अंग्रेजी गीतहरू गाउँछन्,” पासाङ निमा भन्छिन्।
“हाम्रा खुङ्लु, सुन्लु, ढेल्लु जस्ता गीतहरूमा बाजा बजाइँदैन। शायद यही कारणले हो कि युवाहरूले नरुचाएको? अरू गीतहरूमा जस्तो बाजाको र नाचगानको आकर्षण नभएर पो हो कि?” सेम्दुक सोध्छन्।
भएका गीतको संरक्षण गर्ने प्रयास भने यो समूहले गरिरहेको छ। “डोल्पामा पनि धेरै कम मान्छेले जान्ने गीतहरू हाम्रो गाउँका केही आमाले जान्नुहुन्थ्यो। हामीले ती गीत संरक्षण गर्ने कोशिश गरेका छौं,” एउटा वृत्तचित्र देखाउँदै सेम्दुक लामा भन्छन्।
सेम्दुकले ती महिलाले गाएका गीतहरूको भिडिओ खिचेर सानो वृत्तचित्र बनाएका छन्। सेम्दुककै प्रयासमा यो वर्ष पुङ्मो गाउँका गायकहरू काठमाडौंमा आएर ‘इकोज् इन द भ्याली’ लगायत काठमाडौंका केही स्थानमा गीत पनि गाएका छन्। त्यसमा उनीहरूलाई दक्षिण अमेरिकी देश चिलेका दुई जना सङ्गीतकारले बाँसुरी र गितारमा साथ दिएका छन्। नयाँ प्रयोग, बाजाहरूको साथ र केही प्रचारप्रसारले यी गीत जोगाउन केही सघाउँछ भन्ने छो-पुङ्मो समूहले आशा गरेका छन्।
सङ्गीतले जोडिएको डोल्पो, फ्रान्स र चिले
छो-पुङ्मोका गीतको काठमाडौं यात्राको कथा नेपाली-फ्रेन्च भिडिओग्राफर एरिक चन्द्र श्रेष्ठबाट शुरू हुन्छ। अझ खास भन्ने हो भने त उनकी आमा मरिनाबाट शुरू हुन्छ। सन् १९८० को दशकमा फ्रान्सबाट आएकी मरिना नेपालमा घुम्दै थिइन्।
“त्यो वेलामा विदेशीलाई डोल्पा जान दिइँदैनथ्यो। तर, कसो कसो मेरी आमा पुग्नुभएछ र पुङ्मो जानुभएछ। त्यहाँ उहाँले एकजना लामाको फोटो खिच्नुभएको थियो। ती लामा बितेपछि गाउँका मान्छेसँग उहाँको फोटो थिएन। धेरै वर्षपछि कुनै गुम्बामा मेरी आमा र त्यही गाउँका सेम्दुक लामाको भेट भयो। त्यो फोटोको चर्चा चल्यो र आमाले त्यो फोटो दिनुभयो। त्यसरी पुङ्मो गाउँसँग फेरि सम्बन्ध बन्यो,” एरिक भन्छन्।
आमाको माध्यमबाट एरिक र सेम्दुकको चिनजान भयो। सेम्दुकले एरिकलाई आफ्नो गाउँमा भएका विभिन्न गीतबारे बताए। एरिकले त्यो कुरा चिलेका दुई जना सङ्गीतकार तोमास करास्को गुबर्नेटिस र मोआ निकोलस एडमन्ड्स ग्वेभेरालाई सुनाए। उनीहरू तीनै जना डोल्पा गएर ती गीत सुन्न र सिक्न उत्साहित भए, तर यो काम खर्चिलो थियो। एरिकले ‘इकोज् इन द भ्याली’ का आयोजक रिजु तुलाधरसँग सबै कुरा गरेपछि यो काममा उनीहरूलाई सहयोग गर्न इकोज् तयार भयो। यसरी उनीहरू तीन जना डोल्पा पुगेका थिए।
एरिक, तोमास र मोआ तीनै जना सङ्गीतमा रुचि राख्छन्। तोमास र मोआ दक्षिण अमेरिकी देश चिलेका नागरिक हुन्। उनीहरू दुवै जनाले चिलेमा ‘वेस्टर्न क्लासिकल’ (पश्चिमा शास्त्रीय सङ्गीत) पढेका थिए। त्यही शैलीमा तोमासले बाँसुरी बजाउँछन् भने मोआले गितार। एरिकले भने लामो समयसम्म साउन्ड इन्जिनीयरिङ लगायतका सङ्गीत सम्बन्धी गतिविधि बुझेर क्यामेरा समाएका हुन्। थुप्रै वर्ष बेल्जियममा बसेपछि उनी नेपालका सांस्कृतिक गतिविधिमा भाग लिन मन लागेर सन् २०१७ मा नेपाल फर्केका थिए। त्यसपछि उनी सङ्गीत सम्बन्धी विभिन्न भिडिओमा काम गरिरहेका छन्। डोल्पा जानुअघि उनले गायिका झुमा लिम्बूसँग मुन्धुम सङ्गीतमा र कालिम्पोङको नेपाली-भाषी ब्यान्ड ‘गाउँले भाइ’ को भिडिओमा काम गरिसकेका छन्।
तोमास र मोआलाई भने पश्चिमा शास्त्रीय सङ्गीत पढिसकेपछि त्यो बाहेक अरू प्रकारका सङ्गीतमा चासो बढ्दै गयो।
“शास्त्रीय सङ्गीतहरूका पछाडि जुन सिद्धान्तहरू छन्, ती सब लोकसङ्गीतबाट आउँछन्। कोही कोही मान्छेको आवाजसँग विशेष सम्बन्ध हुन्छ, उनीहरू कुनै सिद्धान्त विनै सङ्गीत सिर्जना गर्छन्। त्यो एकदमै सुन्दर र सहज तरीकाले हुन्छ, अन्तर्ज्ञान जस्तै,” तोमास भन्छन्।
यस्तै सङ्गीत सिक्ने क्रममा उनी बाँसुरीवादन सिक्न बुल्गेरिया र टर्की पुगे र स्पेनमा हुँदा जापानी बाँसुरीवादन सिके। बीच बीचमा उनी चिले गएर बजाउँदै पनि गर्थे। त्यसपछि उनलाई ‘राग सङ्गीत’ सिक्न भारत जान मन लाग्यो।
“तर, त्यति वेलासम्म तोमास र म ‘ड्युओ’ का रूपमा चिलेमा बजाउन थालिसकेका थियौं, हामी दुई जनाको जोडी जमिसकेको थियो। भारत जाने वेलामा तोमासले मलाई सँगै जाने प्रस्ताव गरे। मैले स्वीकार गरें र हामी सँगै आयौं,” मोआ भन्छन्।
सन् २०१९ मा तोमास र मोआ भारतको मुम्बई पुगे। तोमासले त्यहाँ हरिप्रसाद चौरसियाको गुरुकुलमा बाँसुरी सिक्न थाले भने मोआ सो क्षेत्रका विभिन्न किसिमका सङ्गीत सुन्न र बुझ्न।
त्यसै क्रममा उनीहरू ‘ध्रूपद मेला’ सुन्न बनारस पुगेका थिए। भारतमा भिसाको नियम अनुसार उनीहरूले ६ महीना बिताएपछि एक पटक देश बाहिर जानुपर्ने थियो। उनीहरू सबभन्दा नजिकको सिमाना काटेर बनारसबाट नेपाल आइपुगे। केही हप्ताभित्रै नेपालमा कोभिडका कारण लकडाउन शुरू भयो। त्यस वेलादेखि चिलेका यी दुई युवा नेपालमै छन्।
उनीहरू दुवैजना काठमाडौं ज्याज कन्जर्भेटरीमा पढाइरहेका छन्। लोकसङ्गीतकार झुमा लिम्बूसँग मिलेर लिम्बू मुन्धुममा आधारित सङ्गीतमा पनि काम गर्छन्।
त्यसै क्रममा भिडियोग्राफर एरिक चन्द्र श्रेष्ठसँग उनीहरूको भेट भयो। डोल्पाको सङ्गीत सुन्न र सिक्न उनीहरू एरिकसँगै पुङ्मो गए।
पुङ्मोसम्मको यो यात्रा धेरै कारणले स्मरणीय थियो। “विदेशीलाई डोल्पा जानु असाध्य महँगो छ। हामीले अनुमतिका लागि थप पैसा तिर्नुपर्छ र प्लेनको भाडा पनि झन्डै तीन गुणा महँगो छ,” मोआ भन्छन्।
त्यसै कारण उनीहरू २४ घण्टा यात्रा गरेर बसमा नेपालगन्ज पुगे। त्यहाँबाट डोल्पाको जुफाल विमानस्थल गएपछि उनीहरू दुई दिन हिंडे। एरिक सानैदेखि आमासँग हिंड्दै डोल्पा लगायत नेपालका हिमाली क्षेत्रमा पुगेका थिए, तर त्यसरी कहिल्यै नहिंडेका तोमास र मोआका लागि विछट्टै नवीन अनुभव नहुने त कुरै भएन।
“हामी धेरै अल्छी छौं, त्यसैले दिनको पाँच घण्टा हिंडेर पुङ्मो पुग्न दुई दिन लाग्यो। त्यहाँका मानिस त एकै दिनमा पुग्छन्,” तोमासले त्यो अनुभव सुनाए, “हिंडेर मात्र पुगिने ठाउँबारे मैले सुनेको मात्र थिएँ। आफैं अनुभव गर्दा नौलो लाग्यो।”
मोआले त हिमालसँग माया नै बसेको बताए। उनको अनुभव यस्तो छ, “म जीवनभर समुद्रको छेउमा बसें, मेरा बुबाको घर एउटा टापुमा थियो। डोल्पाको यात्रा मेरा लागि नौलो थियो, तर त्यो हिमालसँग प्रेम हुँदै जाने एउटा प्रक्रियामा पर्यो, जुन विगत केही वर्षदेखि मलाई भइरहेको छ। त्यसकारण पनि म नेपालमा बस्न रमाइरहेको छु किनकि यहाँबाट म हिमाल हेर्न पाइरहेको छु। डोल्पा जाँदा पनि हिमालसँग एउटा सम्बन्ध भए जस्तो भयो।”
पुङ्मोको यही दुर्गमताले नै त्यहाँको संस्कृति जोगाउन मद्दत गरेको एरिक ठान्छन्। “त्यहाँ धेरै मान्छे जाँदैनन्, नयाँ कुरा कमै पुग्छ, त्यसैले पुराना गीतहरू अझै मान्छेले सम्झिरहेका छन्,” उनी भन्छन्।
शुरू शुरूमा त उनीहरूलाई पुङ्मोमा काम गर्न निकै कठिन भयो। हरेक कुरा दुई पटक अनुवाद गर्नुपर्थ्यो। गाउँलेहरू तिब्बती जस्तो भाषामा बोल्थे। कसैले त्यो कुरा नेपालीमा एरिकलाई भन्थ्यो। अनि बल्ल एरिकले चिलेअनहरूलाई अंग्रेजीमा सुनाउँथे। “नमस्ते, के छ? मात्र भन्न पनि लाग्ने समय अत्यन्त लामो थियो,” मोआ सम्झन्छन्, “तर, हिमालमा जिन्दगी ढिलो नै चल्छ।”
उनीहरू जाडो महीना शुरू हुने वेला पुगेका थिए। त्यो समय गाउँलेहरू जाडो महीनाका लागि जोहो गर्न दिनको १० घण्टा काम गर्छन्। “बेलुका उनीहरू एकदम थाकेर घर आइपुग्थे। त्यो वेला पनि हामी उनीहरूलाई गीत गाउन भन्थ्यौं। स्वाभाविक हो, शुरूमा त उनीहरूले मानेनन्। पहिलो पाँच दिनसम्म त हाम्रो काम नै नहोला जस्तो थियो,” एरिक सम्झिन्छन्।
बिस्तारै गाउँलेहरू उनीहरूसँग खुल्न थाले। राति उनीहरूले गीत सुनाउँथे। अर्को दिन तोमासले ती गीतहरूको नोटेशन बनाएर लेख्थे। अनि तोमास र मोआले त्यो धुन सिक्थे।
“तोमासले नोटेशन बनाउने गाह्रो काम गरिसकेपछि मैले त्यो धुन सिक्न धेरै गाह्रो भएन,” मोआ सुनाउँछन्।
“अर्को दिन हामी त्यो गीत उनीहरूलाई सुनाउँथ्यौं। त्यो सुनेर उनीहरू खुशी हुन्थे र अरू गीत सुनाउँथे। अन्तिम दिनमा हामीले एकअर्कालाई गीत सुनाएर रमाइलो गर्यौं। हतार हतार एउटा स्टुडियो जस्तो बनाएर गीत रेकर्ड गर्यौं। गाउँका अरू मान्छे आए, अरू गाउँबाट लामाहरू आए। सबैजना रातभरि नाचे,” तोमास भन्छन्।
यस्तो किसिमको सिकाइ चिलेका सङ्गीतकारहरूका लागि नौलो थिएन। मोआले चिलेमा पनि कहिले बारमा त कहिले पार्टीमा गएर सङ्गीत सुन्ने र सिक्ने गर्दथे।
“दक्षिण अमेरिकामा सङ्गीत र समुदायको गहिरो सम्बन्ध छ। मान्छेहरू भेट्नु, रातभरि गीत गाउँदै उज्यालो पार्नु हाम्रो जीवनशैली हो। त्यो पनि एउटा विद्यालय हो जस्तो मलाई लाग्छ, जहाँबाट धेरै कुरा सिक्न सकिन्छ,” उनी भन्छन्।
तोमास र मोआ दुवै जनालाई डोल्पाको सङ्गीतले चिलेको सङ्गीतको याद दिलाएको छ– तोमासले यो एन्डिज पर्वतका आदिवासीको सङ्गीतसँग र मोआले आफ्ना बुबाको गाउँ इस्टर आइल्यान्डको सङ्गीतसँग मिल्दोजुल्दो रहेको बताए।
“हुन त संसारभर कुनै पनि सङ्गीतमा मिल्ने कुराहरू भेट्टाउन सकिन्छ, तर पनि केही नोट र केही धुनहरूको प्रयोगमा मलाई यो सङ्गीत दक्षिण अमेरिकाको जस्तै लाग्यो,” तोमास भन्छन्।
पुङ्मोले यस्तो दुर्लभ किसिमको सङ्गीत मात्र नभएर हराउँदै गरेको एउटा जीवनशैली पनि बचाइराखेको छ जुन यी तीनै जनाले याद गरेका थिए। गाउँलेहरूसँग कहिले गाउँमा त कहिले लेकका साना ढुङ्गाका भेडीगोठमा पुग्दा मोआलाई ‘अद्भुत’ अनुभव भएको थियो। एक्लिएको, आधुनिक जीवनशैली त्यति प्रचलित भइनसकेको, पैसाभन्दा पनि सामान आदानप्रदानमा व्यवहार चल्ने, बाहिरका मान्छेहरूसँग पनि पैसाको मात्र कुरा नगर्ने यो गाउँले एउटा बितिसकेको समयको छनक दिन्छ, जुन हाल धेरै मानिसका लागि अप्राप्य छ।
“सामुदायिक रूपमा बाँच्ने त्यहाँको शैली म सम्झन्छु। जम्मा ४० जति घर छन्। सबै जोडिएका छन्। एउटा घरबाट अर्कोमा सजिलै जान मिल्छ। छतछतबाट हिंड्न मिल्छ। सबै गाउँले एकअर्काको नाता पर्छन्। एउटा ठूलो परिवार जस्तै गरेर बाँच्नै यो शैली धेरै सुन्दर छ। ठूलो शहरमा यो सब सम्भव छैन,” तोमास भन्छन्।
पुङ्मोको सङ्गीतलाई प्रवर्द्धन गर्न तोमास र मोआले सन् २०२३ मा ‘इकोज् इन द भ्याली’ सङ्गीत उत्सवमा बाँसुरी र गितार बजाएर डोल्पाका गायकहरूलाई साथ दिएका थिए। त्यति हुँदाहुँदै पनि उनीहरू दुवै आफूलाई ‘लोकसङ्गीतकार’ भन्दैनन्।
“विशुद्ध लोकसङ्गीत एकदम सुन्दर हुन्छ। तर, म त्यसरी बजाउन सक्दिनँ किनकि म लोकसङ्गीतकार होइन। बजाउन चाहे पनि म त्यसमा सहज अनुभव गर्दिनँ होला। म कुनै पनि विधामा शुद्ध छैन।न म पश्चिमा शास्त्रीय सङ्गीत नै शुद्ध तरीकाले बजाउन सक्छु। त्यसैले म फ्युजन गर्न चाहन्छु। त्यो सङ्गीत सबैले सुन्न सक्ने होस्, तर त्यसमा लोकसङ्गीतले दिने ज्ञान पनि होस्,” तोमास भन्छन्।
मोआ पनि आफ्नो सङ्गीत शैलीलाई ‘फ्युजन’ नै भन्छन्। “म विभिन्न लोकसङ्गीत सिक्छु, त्यसलाई आफूले सिकेको क्लासिकल शैलीसँग मिसाउँछु र एउटा व्यक्तिगत शैली बनाउँछु। म कुनै एउटा विधामा गहिरिन चाहन्नँ, बरु लचिलो हुन चाहन्छु र त्यसमा खुशी छु,” मोआ भन्छन्।
यी तीनै जना भविष्यमा पुङ्मोको सङ्गीतमा अझ बढी काम गर्न चाहन्छन्। त्यो सङ्गीतलाई अडियो-भिडिओमा अभिलेखीकरण गर्ने र अझ प्रवर्द्धन गर्ने उनीहरूको योजना छ।
“संस्कृति कहिल्यै बदलिनु हुँदैन भन्ने त मलाई लाग्दैन, किनकि समयसँगै सबै कुरा परिवर्तन हुन्छन्। त्यो हुन नदिंदा कट्टरता आउँछ। तर, विगतलाई बिर्सिनु हुँदैन र हराउन लागेका कुराहरूको अभिलेख चाहिं राख्नुपर्छ जस्तो लाग्छ,” एरिक भन्छन्, “आज त्यहाँका युवाले यी गीतमा रुचि नदेखाउन सक्छन्। तर, भविष्यमा समाज पूरै पश्चिमा जस्तो भयो भने विगतसँग सम्बन्ध तोडिन जान्छ। भावी पुस्ताले यी गीत सिक्न सक्छ वा आफ्नो इतिहास जान्न सक्छ। यी गीत आज हराए भने भोलि कहाँबाट सिक्ने? त्यसैले यी गीत हराउनुअघि हामी सुरक्षित राख्न चाहन्छौं।”
एरिकका लागि यो यात्रा साङ्गीतिक मात्र नभएर धेरै व्यक्तिगत पनि रह्यो। “यहाँका थुप्रै मान्छेले उहिले कहिले मेरी आमा यहाँ आउनुभएको सम्झिँदा रहेछन्। कति जना त सानासानै थिए, तर मेरी आमाले फोटो खिचेको उनीहरू सम्झिन्थे। त्यसैले मैले त्यहाँ एउटा विशेष सम्बन्ध बनाए जस्तो लाग्यो,” उनी भन्छन्।
चिलेका यी दुई युवाले कम्तीमा अझै एक-दुई वर्ष नेपालमै बस्ने योजना बनाएका छन्। त्यतिन्जेल पुङ्मोको सङ्गीतलाई अझ प्रवर्द्धन गर्ने, नेपालका अरू लोकसङ्गीतमा काम गर्ने र सङ्गीत सिकाइरहने उनीहरूको योजना छ।
“हामी झुक्किएर नेपाल आइपुगेका हौं, तर त्यसमा हामीलाई कुनै गुनासो छैन,” तोमास भन्छन्, “अब भने हामी आफ्नै खुशीले नेपालमा बसिरहेका छौं।”
अनि घरको सम्झना कत्तिको आउँछ त?
“सम्झिने काममा म एकदम खराब छु,” मोआ भन्छन्, “मसँग मेरो गितार छ र मैले बजाउन पाएँ भने म संसारको कुन कुनामा छु, त्यो फरक पर्दैन।”