रहेनन् ‘द रोड’ र ‘नो कन्ट्री फर ओल्ड म्यान’ का लेखक कोरम्याक म्याकार्थी
पुस्तक लेखनबारे म्याकार्थीको चर्चित भनाइ पनि छ। उनले भनेका छन्, “यदि तपाईं लामो समयसम्म पुस्तक कसरी लेख्ने भन्ने सोचिरहनुभएको छ भने तपाईंले अब सोच्ने होइन, लेख्न थाल्नुपर्छ।”
द रोड र नो कन्ट्री फर ओल्ड म्यान जस्ता प्रसिद्ध उपन्यासका लेखक कोरम्याक म्याकार्थीको निधन भएको छ। ८९ वर्षीय म्याकार्थीको प्राकृतिक कारणले गत मंगलबार निधन भएको उनका अमेरिकी प्रकाशकले बताएका छन्।
एकान्तप्रेमी म्याकार्थी वयस्क पुरुषहरूको मनोदशा उतार्न खप्पिस मानिन्थे। उनी अमेरिकाकै सर्वोत्कृष्ट लेखकमध्ये भएको रटगर्ज युनिभर्सिटीका अंग्रेजीका प्राध्यापक जे.टी. वारवार्सेले बताए। “म्याकार्थी उत्कृष्ट उपन्यासकार मात्र होइनन्, उत्कृष्ट शिल्पी पनि हुन्,” प्राध्यापक वारवार्सेले भने।
म्याकार्थीको ब्लड मेरिडियन आफूले १०–१२ पटक पढेको बताउँदै उनले भने, “उनको लेखाइमा गज्जबको वर्णन शिल्प छ। मलाई लाग्छ, फिट्जेराल्डसँग त्यो खूबी थियो। फउकनरमा पनि त्यस्तै शिल्प थियो। त्यस्तो शिल्प जहाँ खतरा र त्रासदीको वर्णन हुन्छ र तपाईं घटनासँग अलग रहनै सक्नुहुन्न। त्यो त महान् क्षमता हो नि।”
यस्तै, अमेरिकी लेखक स्टिभन किङले ‘आफ्नो समयको सर्वोत्कृष्ट अमेरिकी उपन्यासकार’ गुमाउनुपर्दा दुःख लागेको बताएका छन्।
प्रतिष्ठित पुलित्जर पुरस्कार पाएको म्याकार्थीको १०औं उपन्यास द रोड २००६ मा प्रकाशित भएको थियो। यसमा सर्वनाश भएपछिको अमेरिकी परिवेशमा एउटा बुबा र छोराले बाँच्नका लागि गरेको संघर्षको कथालाई रौं ठाडो हुने संवेदना सहित वर्णन गरिएको समीक्षकहरूले बताएका थिए।
सन् २००५ मा प्रकाशित नो कन्ट्री फर ओल्ड म्यान अमेरिकाको मरुभूमि राज्य टेक्सासको लागूपदार्थ विक्रेताको कथामा बुनिएको छ। जसमा हिंसाका शृंखलाहरूको मानवीय त्रासदीपूर्ण वर्णन गरिएको छ।
द रोड र नो कन्ट्री फर ओल्ड म्यानमाथि सिनेमा पनि बनेका छन्। नो कन्ट्री फर ओल्ड म्यानमा प्रसिद्ध चलचित्र निर्देशक दाजुभाइ जोअल र इथन कोयनको पटकथा लेखन र निर्देशन छ। हाभिएर बारडेम र टमी ली जोन्सको मुख्य भूमिका रहेको सो चलचित्रले सन् २००८ मा उत्कृष्ट चलचित्र सहित चार विधामा अस्कर अवार्ड जितेको थियो।
सन् १९९३ मा आइरिस क्याथोलिक परिवारमा रोड आइल्यान्डमा जन्मिएका म्याकार्थीको बाल्यकाल नक्सभिल, टेनेसीमा बितेको थियो। जहाँ उनका बुबा वकालती काम गर्थे।
उनको पहिलो उपन्यास द अर्किड किपर सन् १९६५ मा प्रकाशित भएको थियो। सन् १९८५ मा प्रकाशित ब्लड मेरिडियनले भने उनलाई ख्याति दिलायो। सन् १९९२ मा प्रकाशित तीन शृंखलाको पहिलो उपन्यास अल द प्रिटी हर्सेसले उनलाई न्याशनल बूक अवार्ड सहित प्रसिद्धि दिलाएको थियो।
१६ वर्षको अन्तरालमा गत वर्ष मात्र उनका दुई उपन्यास द प्यासेन्जर र स्टेला मारिज प्रकाशित भएका थिए। विमान दुर्घटनाको कथानकमा बुनिएका यी दुई उपन्यासको लागि उनले झन्डै चार दशकसम्म काम गरेका थिए।
उपन्यास बाहेक म्याकार्थीले केही पटकथा र छोटा कथा पनि लेखेका छन्। सार्वजनिक जीवनमा कतै देखा नपर्ने उनी मिडिया अन्तर्वार्तामा पनि सहभागी हुँदैनथे। तर, उनी सन् २००७ मा एक पटक अमेरिकी टेलिभिजन प्रस्तोता ओपरा विन्फ्रेको कार्यक्रममा पुगेका थिए।
त्यति वेला उनलाई सोधिएको थियो, “तपाईं किन अन्तर्वार्ता दिनुहुन्न?”
उनले भनेका थिए, “मलाई अन्तर्वार्ता मस्तिष्कका लागि ठीक होइन जस्तो लाग्छ।”
पुस्तक लेखनबारे म्याकार्थीको चर्चित भनाइ पनि छ। उनले भनेका छन्, “यदि तपाईं लामो समयसम्म पुस्तक कसरी लेख्ने भन्ने सोचिरहनुभएको छ भने तपाईंले अब सोच्ने होइन, लेख्न थाल्नुपर्छ।”