रूस-युक्रेन युद्धका कारण एलिजाबेथ गिल्वर्टले नयाँ उपन्यास सार्वजनिक नगर्ने
प्रसिद्ध लेखक एलिजाबेथ गिल्वर्टले सोभियतकालीन कथानकमा बुनिएको आफ्नो नयाँ उपन्यास युक्रेन युद्धका कारण सार्वजनिक नगर्ने बताएकी छन्।
युक्रेन युद्ध भइरहेको समयमा उपन्यास सार्वजनिक हुन लागेको टिप्पणी आएपछि गिल्वर्टले सार्वजनिकीकरण हाललाई स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नयाँ उपन्यास द स्नो फरेस्टबारे आफ्ना पाठकले ‘निराशा र पीडा’ व्यक्त गरेपछि गल्ती महसूस गर्दै यस्तो निर्णय गरेको बताएकी छन्। “अहिले पुस्तक सार्वजनिक गर्ने ठीक समय होइन,” उनले भनेकी छन्।
द स्नो फरेस्ट गत २४ फेब्रुअरीमा सार्वजनिक हुने तय भएको थियो। उपन्यास साइबेरियामा बसोबास गर्ने लाइकोभ परिवारको कथा हो। लाइकोभ परिवारले ४० वर्षसम्म अन्य मानव समुदायको अति कम सम्पर्कमा रहेर जीविका चलाएको कथालाई उन्यासमा बुनिएको छ।
गिल्वर्टले कोरोनाभाइरस महामारीको वेला एकान्तमा बस्नुपरेको आफ्नो अनुभवले उपन्यास लेखनका लागि प्रोत्साहित गरेको बताइन्। उपन्यासबारे सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि आफ्ना केही युक्रेनी पाठकले आलोचना गर्न थालेको उनले बताइन्।
उनको सामाजिक सञ्जालमा द स्नो फरेस्ट सार्वजनिक हुने दिन युक्रेन युद्ध शुरू भएको दिन भएको जनाउँदै धेरै टिप्पणी आएका थिए। केहीले त्यो दिन पुस्तक सार्वजनिक गर्नु भनेको रूसको ‘महिमागान’ भएको बताउँदै भनेका छन्, ‘यसो गर्नु भनेको सन् १९४० मा जर्मनीहरूको बहादुरीगान गाउनु जस्तै हो।’
सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै गिल्वर्टले पाठकको ‘क्रोध, दुःख र निराशायुक्त’ टिप्पणीले द्रवित भएर आफू उपन्यास सार्वजनिक नगर्ने निर्णयमा पुगेको बताइन्। “मानिसहरूले जसले चरम पीडा र विशाद खेपिरहेको अवस्थामा म कसैलाई पनि थप दुःख दिन चाहन्नँ,” उनले भनेकी छन्।
जसले उपन्यासको अग्रिम अर्डर गरेका छन्, तिनीहरूको सबै पैसा फिर्ता हुने विश्वास पनि दिलाएकी छन्। अघिल्लो पुस्तक इट, प्रे, लभको सफलताले साहित्यिक लेखनमा उत्साहित गिल्वर्ट चरित्रहरूको आन्तरिक मनोदशा र तिनका उहापोह उतार्न माहिर छिन्।
द स्नो फरेस्टको सार्वजनिकीकरण रोकिएपछि आफू लेखनका अन्य काममा लाग्ने उनले बताएकी छन्।