‘पशुपतिका भट्टको नागरिकता खोज्नेहरू आज गेरुवस्त्र लगाएर राजनीतिमा धर्मको आश्रय खोज्दै छन्’
‘माओवादीकै कारण दुई देशबीचको राजनीतिक सम्बन्ध मन्दिरमा पनि नागरिकता खोज्ने तहमा पुगेको थियो। आज राजनीतिमा पनि धर्म खोज्ने तहमा आइपुगेको छ।’
पार्टीको १४औं महाधिवेशनपछि फुर्सदिला बनेका नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल १९ वर्षपछि अध्यापनमा फर्किएका छन्। पार्टीको महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्रीबाट राजीनामा दिएका रिजाललाई गत आमनिर्वाचनमा पार्टीले उम्मेदवार बन्ने अवसरै दिएन।
पार्टीमा पहिले जस्तो सक्रियता नदेखिनु र अध्यापनमा लाग्नुलाई कतिले राजनीतिबाटै अलग्गिएको रूपमा बुझिरहँदा उनी भने आफू सक्रिय राजनीतिमै रहेको दाबी गर्छन्। उनी भन्छन्, “अझै एउटा चुनाव लड्ने इच्छा छ।” सञ्चार तथा सूचना प्रविधिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहिसकेका रिजालसँग अध्यापन कर्मको सेरोफेरोमा हिमालखबरका सन्त गाहा मगरले गरेको संवादः
तपाईं १९ वर्षपछि अध्यापन कर्ममा फर्किनुभयो। अनुभव कस्तो रह्यो?
१९ वर्ष क्लासमै नगएको हैन तर नियमित पढाएको थिइनँ। वेलावेला अभिमुखीकरण कक्षामा लेक्चर दिन्थें। अहिले पूरै कोर्स नै जिम्मामा आएको छ। यस्तो जिम्मेवारी लिएर पहिलो दिन विद्यार्थीसँग कुरा गर्दा मनमा कहीं न कहीं अप्ठ्यारो महसूस हुन्छ नै। यो अवधिमा मेरो स्वभावमा पनि केही बदलाव आएकै होला। त्यसैले २०८० मा आएर नियमित कक्षा लिंदा शरीरमा काँडा उम्रिएन भन्दा झूटो हुन्छ।
अध्यापन किन छाड्नुभएको थियो?
२०५९ असोज १८ मा राजाले प्रधानमन्त्रीलाई हटाएपछि देश अर्को चरणमा प्रवेश गर्यो। २०६१ मा राजाले प्रत्यक्ष शासन शुरू गर्दै शेरबहादुर देउवालाई थुनामा राखे। हामी पनि थुनामा पर्यौं। त्यति वेला माइक्रो इकोनोमिक्स पढाउँथें। २२ वटा लेक्चर सकेको थिएँ, १० वटा बाँकी थिए। थुनाबाट निस्किँदा पढाउने वेला गइसकेको थियो। १४ दिनमा १० वटा लेक्चर सकें। त्यसपछि विद्यार्थीलाई अन्याय गर्नु हुँदैन भनेर पढाउनै छाडें।
अहिले कुन विषय पढाउनुहुन्छ?
‘टुडेज बिजनेस एन्ड इकोनोमिक्स कलाइडस्कोप’ पढाउँछु। मैले नै डिजाइन गरेको कोर्स हो। ‘कलाइडस्कोप’ को अर्थ हुन्छ, निरन्तर परिवर्तन भइरहने। व्यापार र अर्थतन्त्र पनि त्यसैगरी बदलिइरहेको छ। यस्तो बदलावको प्रवृत्तिबीच जे सुन्यो त्यो सत्य हुन्न, त्यसैले प्रश्न गर्नुपर्छ भन्ने हो।
अर्कातिर अहिले रेडियो, टेलिभिजनभन्दा मोबाइल फोनको जमाना हो। सामाजिक सञ्जालमा देखिएको कुराले तत्कालै प्रभाव पार्छ। आर्टिफिसियल इन्टेलिजेन्सको युगमा सूचना प्रविधिको प्रयोगले नयाँ संस्कृति निर्माण गरेको छ। सँगसँगै ध्रुवीकरण बढेको छ जसले जे ठीक लाग्यो त्यो सबै ठीक अनि ठीक लागेन कि त्यो हुनै सक्दैन भन्ने प्रवृत्ति जन्माउँदो छ।
यस्तो ध्रुवीकरणले आफ्नै जस्तो विचार भएकाहरूको मात्र जमात तयार पार्छ जहाँ प्रश्न नै सोधिँदैन। त्यसैले हामीलाई प्रश्न सोध्ने प्रविधि चाहिएको छ। अर्थतन्त्र, राजनीति, व्यापार, प्रशासन-व्यवस्थापन हरेक कुरालाई गहिरिएर बुझ्न प्रश्न अत्यावश्यक छ।
तपाईंका विद्यार्थी कुन तहका हुन्?
यसमा हामीले अलिकति खुला गरेका छौं। एपेक्स कलेजमा एमबीएका ६ वटा ट्राइमेस्टर हुन्छन्। जुनसुकै ट्राइमेस्टरका विद्यार्थी यहाँ आउन सक्छन्, एपेक्सबाट पास गरेर गइसकेकाहरू जो-कोही। एपेक्समा पढाइराखेका फ्याकल्टीबाट पनि बस्न सक्छन्। तर सबैले रजिस्टर गर्नुपर्छ। आज आउँछु, भोलि आउँदिनँ भन्न पाइँदैन। मेरो कक्षा अहिले हरेक आइतबार आठदेखि दश बजेसम्म हुन्छ।
केही वर्ष पहिले अनौपचारिक कुराकानीमा भविष्यमा सक्रिय राजनीतिभन्दा लेखपढको काममा लाग्ने बताउनुभएको थियो। अब त्यो समय आइपुगेको हो?
तपाईंसँग त्यति वेला कुरा गर्दा पार्टीको एउटा र देशको एउटा चुनाव लड्छु भनेको थिएँ। पार्टीमा महामन्त्री पदका लागि लडें, पराजित भएँ। अस्ति भएको देशको चुनाव लड्न पाइनँ जुन मेरा निम्ति अन्यायपूर्ण थियो। लुकाउँदिनँ, देशको चुनाव लड्ने इच्छा अझै बाँकी नै छ। उमेर र स्वास्थ्यले साथ दिए साढे चार वर्षपछिको चुनाव लड्ने नै हो। त्यसैले म क्रियाशील राजनीतिभन्दा बाहिर छैन।
यसरी क्रियाशील राजनीतिकै मानसिकतामा रहिरहँदा अध्यापनलाई असर गर्दैन?
भोलि चुनाव जितेर सांसद भए कक्षामा नियमित पढाउन नसकुँला। तर अहिले सक्छु किनकि म सरकार, संसद् कतै छैनँ। पार्टीमा पनि सघन खालको पदीय जिम्मेवारी होइन। यस्तो फुर्सदमा मैले गर्ने भनेको अध्यापन नै हो। यो मेरो रुचिको काम हो। अमेरिकामा तीन वर्ष अनि बेलायतमा भिजिटिङ एशोसिएट प्रोफेसर भई तीन हप्ता जति पढाएँ। त्रिभुवन र काठमाडौं विश्वविद्यालय आदिमा पनि पढाएँ। त्यसपछि सन् २००० मा एपेक्स कलेज शुरू गर्यौं जहाँ २०६१ सालसम्म नियमित पढाएँ। पढाउँदा ज्ञान पनि बढे जस्तो लाग्छ जुन अरूसँग विचार-विमर्श गर्ने बाटो पनि बन्छ।
पढाइमा रमाउने मान्छे राजनीतिमा कसरी आउनुभयो?
राजनीति शुरू गरेको विराटनगरबाट हो। जनता हाइस्कूलमा २०२५ सालमा विद्यार्थी युनियनको चुनाव लडें। यस्तो कुराले सामाजिक र राजनीतिक ‘मोटिभेशन’ दिन्छ। म कक्षामा प्रथम हुन्थें। युनियनमा समय धेरै खर्चनुनपर्ने भएकाले पढाइमा खासै असर पर्दैनथ्यो। नेविसंघमा पनि सधैं काम हुँदैनथ्यो। यस्तोमा २०३६ सालको आन्दोलनमा गयौं। थुनामा पर्यौं। राजनीतिक कारणले म २०३३ सालमा पनि थुनिइसकेको थिएँ। जनमत संग्रह घोषणापछि नेविसंघमा खटाइ केही सघन बन्यो।
यस्तैमा फेरि विद्यार्थी युनियनको चुनाव आयो। जनकपुरको महाधिवेशनबाट उपाध्यक्ष भएँ, जिम्मेवारी बढ्यो। म विज्ञान पढ्ने मान्छे, चार घण्टाको ल्याब भ्याउन नसक्ने स्थिति बन्यो। त्यसपछि विज्ञान छाडेर प्राइभेट तवरमा कानून पढ्न थालें। फेरि दुई वर्षपछि २०३८ सालमा व्यवस्थापन शुरू गरें।
बीचमा राजनीति किन छाड्नुभयो, फेरि किन जोडिनुभयो?
पार्टीभित्र पहिल्यैदेखि कचरपचर थियो, त्यही घानमा म परें। नेतृत्वसँग त्यति राम्रो सम्बन्ध जमेन। त्यसपछि पढाइमै लागें, युनिभर्सिटी टप गरें। अब मेरो ध्यान अमेरिका जाने भयो। त्यहाँ आठ वर्ष पढें-पढाएँ। तर पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सल्लाहकारका रूपमा अवसर दिइयो। त्यसैले फर्किएँ।
अर्को पटक योजना आयोगको सदस्य भएर काम गरें। यसैबीच सुरेशराज शर्माले ‘तपाईंहरू विदेश पढेर आउनुभएका युवा नेपालमा नपढाउने?’ भनेपछि काठमाडौं विश्वविद्यालयमा अध्यापन थालें, पहिले पार्ट टाइम अनि पछि फुलटाइम। ०६१ सालमा थुनिनुअघिसम्म फुलटाइम राजनीतिमै लाग्छु भन्ने चाहिं थिएन।
तपाईंको पार्टी अहिले सत्तामा छ। तर सरकारका काममा डेलिभरी नभएको, भ्रष्टाचार बढेको गुनासो पहिलेके जस्तो छ नि?
हामीले अलिक दीर्घकालीन सोच राख्नुपर्ने हो। ५० लाखभन्दा बढी मानिस विदेशमा छन्, त्यो पनि युवा। २० देखि ४५ वर्षसम्मका पुरुष त देशबाहिरै बढी छन् जस्तो देखिन थालिसक्यो। उनीहरूले पठाएको पैसाका आधारमा अर्थतन्त्र बनेको छ। उपभोगलाई पूर्ति गर्न विदेशबाट सामान आयात गर्दा भन्सारको बिन्दुमा उठाएको राजस्वबाट सरकार चल्छ। यस्तो ठाउँमा निराशा हुनु अस्वाभाविक भएन।
निराशाको कारण त्यति नै हो त?
अरू पनि छन्। आज यो र त्यो पार्टी मिल्यो, फेरि तीनै पार्टीबीच मारामार गर्यो। आफ्नै पार्टीले सरकार ढाल्यो भन्या छ। चुनाव लड्ने वेला एउटा गठबन्धन गर्ने अनि चुनाव सकिने बित्तिकै पदमा कुरा नमिलेपछि अर्को गठबन्धनमा जाने। यस्तो पनि हुन्छ? राजनीतिसँग आममान्छेको अपेक्षा आफ्ना लागि काम गरिदेओस्, देशको विकास गरिदेओस् भन्ने हो। तर हाम्रोमा पेटमा आगो अनि आँखामा सपना भएका नेता भएनन्। बरु कसरी अर्कालाई झुक्याएर पद लिने भन्ने राजनीति भयो।
अर्को चाहिं संरचनागत समस्या छ। जस्तो- नेपालको राजनीतिमा कांग्रेस र एमालेबीच मजाको प्रतिस्पर्धा छ। हाम्रोमा २७५ सीटको बहुमत १३८ ल्याए मात्र सरकार बन्छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सीट रहेको यो पद्धतिमा यी दुईमध्ये कसैले पनि एक्लै बहुमत पुर्याउन सहज छैन।
अनि प्रधानमन्त्री बन्ने लडाइँमा चुनावपछि जो जता पनि जाने, सरकारमा बस्दा पनि एकअर्कालाई धम्क्याउने, घुक्र्याउने भइरहन्छ। ध्यान नै पाँच-दश सीट भएकालाई चित्त बुझाएर सरकारमा कसरी टिकिरहने भन्ने भएपछि देशको परिस्थितितिर ध्यान नै नहुने भयो। त्यसकारण आमनागरिकको निराशालाई सम्बोधन गर्न राजनीतिक संरचनागत फेरबदल पनि जरुरी छ।
यस्तो मिश्रित निर्वाचन प्रणाली संविधानमा तपाईंहरूले नै राख्नुभएको होइन?
मैले हाम्रो पार्टीको विधान संशोधनकै वेला पुरुषलाई किन समानुपातिकमा राख्नुपरेको, सीधै प्रत्यक्षमा राखौं भन्दा साथीहरूले मानेनन्। संविधान बनाउँदा ताका म राज्य व्यवस्थापन समितिमा थिएँ। त्यति वेला खस आर्य भन्ने थिएन, ‘अन्य’ थियो। अन्यलाई किन समानुपातिकमा राख्ने भन्दा साथीहरूले चर्कै स्वरमा चाहिन्छ भन्न थाल्नुभयो।
सुदूरपश्चिम, मध्यपश्चिम पहाडको क्षत्री बाँकी देशको क्षत्री जस्तो नरहेको, त्यसैले उसको छुट्टै प्रतिनिधित्व हुनुपर्ने भनियो। कांग्रेसकै विधानले पनि समानुपातिकमा सबै पहिचानका व्यक्तिलाई राखेको छ। त्यो पनि सही होइन। त्यसैले समानुपातिक प्रणालीमा कसलाई चाहिं ल्याउने भन्ने राम्ररी सोच्नुपर्ने भएको छ।
समाधान के हुन सक्ला त?
त्यसका लागि संविधान संशोधन गर्नुपर्यो तर यो कांग्रेस र एमाले नमिलीकन सम्भव छैन। दुवै पार्टीले जनताको निराशा सम्बोधन गर्ने, देश विकासलाई केन्द्रमा राखी कुरा गर्ने वेला आएको छ। यसका लागि वर्तमान निर्वाचन प्रणालीको गम्भीरतापूर्वक समीक्षा गरिनुपर्छ।
कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्री पुष्पकमल दाहालले हालै भारतको औपचारिक भ्रमण दौरान गेरुवस्त्र पहिरेर त्यहाँको महाकालेश्वर मन्दिरमा पूजा गरेको प्रसङ्ग निकै आलोचित छ। तपाईं कसरी हेर्नुहुन्छ?
यसमा भारतको सत्तामा रहेकाहरूले धर्म, मन्दिर, उपासनालाई कसरी हेर्छन् र त्यसले हाम्रो राजनीतिलाई प्रभावित बनाएको हो/होइन भन्ने प्रश्न महत्त्वपूर्ण छ। नत्र लामो कम्युनिस्ट पृष्ठभूमिबाट आएको माओवादी पार्टीका नेतालाई भारतमा महाकालेश्वर अनि नेपाल फर्केर पशुपतिको पूजा-आराधना गर्ने उत्प्रेरणा किन आयो? पहिलो चोटि प्रधानमन्त्री हुँदा त दाहालले पशुपतिको मूल भट्टमा भारतीयलाई हटाई नेपालीलाई राख्नुभयो। जबकि भारतमा नेपाली मूलकै मान्छे चार ठाउँमा मूल पुजारी छन्।
माओवादीकै कारण त्यति वेला दुई देशबीचको राजनीतिक सम्बन्ध मन्दिरमा पनि नागरिकता खोज्ने तहमा पुगेको थियो। आज राजनीतिमा पनि धर्म खोज्ने तहमा आइपुगेको छ। २०६६ सालमा म संस्कृतिमन्त्री भएपछि पशुपतिमा भारतीय मूलकै मान्छे मूल भट्ट हुने परम्परालाई निरन्तरता दियौं। तर भारतीय भट्टलाई वाईसीएलले सांघातिक आक्रमण गरिदियो। भारतीय राजदूतले आफ्ना भट्टको सुरक्षाबारे गहिरो चासो देखाएका थिए।
त्यस्तो आक्रामक शैलीबाट आज आफैं गेरुवस्त्र लगाएर मन्दिरसम्म पुग्नुमा उहाँलाई के कुरा ‘रियलाइजेशन’ भएको होला? देश-जनतालाई शान्तिको सन्देश दिइएको हो? अहिंसा र अध्यात्मको भावना विकास भएको पो हो कि? मेरो मनमा प्रश्न छ। यद्यपि म यो कुरालाई धेरै राजनीतीकरण गर्न चाहन्नँ। व्यक्तिगत रूपमा उहाँप्रति मित्रता र सद्भाव नै छ। फेरि हामी अहिले पाँच वर्ष मिलेर सरकार चलाउने भनी एउटै डुङ्गामा छौं।