विश्वमै घट्दै छ प्रजनन दर, कस्ता होलान् सम्भावित आर्थिक जोखिम?
जनसंख्या घट्दा र त्यसमा उत्पादनशील उमेरसमूहका व्यक्तिको अनुपात कम हुँदा गम्भीर आर्थिक समस्या सिर्जना हुने भएकाले खस्किँदो प्रजनन दरबारे विश्वले नै केही गर्नैपर्ने भएको छ।
औद्योगिक क्रान्तिको झन्डै २५० वर्षमा विश्वको जनसंख्या अर्थतन्त्र जस्तै विस्फोट भएको छ। तर, यो शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ‘ब्ल्याक डेथ’ पछि पहिलो पटक घट्न सक्छ (ब्ल्याक डेथ- सन् १३४६ देखि १३५३ सम्म यूरोप र उत्तरी अफ्रिकामा फैलिएको प्लेग महामारीका कारण सात करोडदेखि २० करोडसम्म मानिसको मृत्यु भएको अनुमान गरिन्छ)।
उति वेला ठूलो संख्यामा मृत्यु भएकाले जनसंख्या घटेको थियो, पछिल्लो समय चाहिं जन्मदर घटिरहेको कारण जनसंख्या ओरालो लाग्ने देखिएको छ। विश्वभर नै प्रतिमहिला बच्चा जन्माउने दर घटिरहेछ। यो प्रवृत्ति जानकारीमा भए पनि यसको दर र परिणाम निश्चित छैन। जन्मदरमा आएको कमीले विश्व अर्थतन्त्रको भविष्यमा प्रश्न खडा गरिदिएको छ। भलै कृत्रिम बौद्धिकता (एआई)ले केही हदसम्म आशा सिर्जना गरेको होस्।
सन् २०३० सम्ममा पूर्वी र दक्षिण-पूर्वी एशियाका आधाभन्दा बढी मानिस ४० वर्षभन्दा माथिका हुनेछन्। अफ्रिका बाहेक अन्य महादेशमा सन् २०५० को दशकसम्म जनसंख्या उच्च बिन्दुमा पुग्ने र यो शताब्दीको अन्त्यसम्म अहिलेभन्दा कम हुने आकलन गरिएको छ।
सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो जुन त्यति वेलाको ‘विस्थापन दर’ (निश्चित स्थानमा प्रतिमहिला कति बच्चा जन्मिँदा पुरानो पुस्तालाई नयाँ पुस्ताले विस्थापन गर्छ भन्ने दर) २.१ भन्दा बढी थियो। अहिले औसत प्रजनन दर २.३ छ र यो घट्दो क्रममा छ। कुल गार्हस्थ्य उत्पादनका हिसाबले ठूला १५ देशको प्रजनन दर विस्थापन दरभन्दा कम छ। त्यसमा अमेरिका सहित संसारका अधिकांश धनी देश पर्छन्। त्यो समूहमा चीन र भारत पनि पर्छन् र ती दुई देशको जनसंख्या जोड्दा विश्वको जनसंख्याको एकतिहाइ हुन्छ (चीनको प्रजनन दर १.२८ छ भने भारतको २.०५)।
जनसंख्या खुम्चिने गरी नयाँ जन्मिनेहरूको संख्या घटिरहँदा संसारमा वृद्धहरूको संख्या बढ्दो छ। अर्थात्, संसारमा बच्चाको आवाजलाई वृद्धहरूले टेक्ने लौरोको आवाजले ढाकिदिएको छ। वृद्धहरूको संख्या बढी हुने देशमा जापान र इटालीसँगै ब्राजिल, मेक्सिको र थाइल्यान्ड पर्छन्।
सन् २०३० सम्ममा पूर्वी र दक्षिण-पूर्वी एशियाका आधाभन्दा बढी मानिस ४० वर्षभन्दा माथिका हुनेछन्। अफ्रिका बाहेक अन्य महादेशमा सन् २०५० को दशकसम्म जनसंख्या उच्च बिन्दुमा पुग्ने र यो शताब्दीको अन्त्यसम्म अहिलेभन्दा कम हुने आकलन गरिएको छ। अफ्रिकामा पनि प्रजनन दर द्रुत गतिमा खस्किइरहेको छ।
केही वातावरणवादीले जे तर्क गरे पनि घट्दो जनसंख्याले अवश्य पनि समस्या निम्त्याउँछ। सिङ्गो जनसंख्यामा युवाको अनुपात कम हुँदा आर्थिक समस्या सिर्जना हुनेछन्। विश्वभरका पेन्सन खाने उमेरसमूहलाई थेग्न गाह्रो हुनेछ। सेवानिवृत्तहरू कामकाजी उमेरका मानिसहरूको उत्पादनमा निर्भर हुन्छन्। जबकि अहिले नै धनी देशहरूमा ६५ वर्षमाथिका एक जनाका लागि २० देखि ६४ वर्षबीचका तीन जना छन्; सन् २०५० सम्ममा दुई जना हुनेछन्। यसबाट उच्च कर, ढिलो सेवा निवृत्ति, बचतकर्ताले पाउने प्रतिफलमा कमीका साथै सरकारी बजेटमा सङ्कट जस्ता परिणाम आउनेछन्।
केही वातावरणवादीले जे तर्क गरे पनि घट्दो जनसंख्याले अवश्य पनि समस्या निम्त्याउँछ। सिङ्गो जनसंख्यामा युवाको अनुपात कम हुँदा आर्थिक समस्या सिर्जना हुनेछन्। विश्वभरका पेन्सन खाने उमेरसमूहलाई थेग्न गाह्रो हुनेछ। सेवानिवृत्तहरू कामकाजी उमेरका मानिसहरूको उत्पादनमा निर्भर हुन्छन्।
सेवानिवृत्त र काम गर्ने उत्पादनशील व्यक्तिहरूको अनुपात घट्नु जन्मदरमा भएको कमीको एउटा मात्रै समस्या हो। युवा पुस्तासँग समस्यालाई एकदमै नयाँ तरीकाले समाधान गर्ने सिर्जनशीलता पनि छ, जसलाई मनोवैज्ञानिकहरू ‘फ्लुड इन्टेलिजेन्स’ (तरल बौद्धिकता) भन्छन्। युवाहरूको यो गतिशीलता पुराना कामदारहरूले सञ्चय गरेको ज्ञानको परिपूरक हो। यसले परिवर्तन ल्याउँछ।
युवा आविष्कारकहरूले दर्ता गरेको पेटेन्टले अभूतपूर्व आविष्कारहरू गर्ने देखिन्छ। पुराना देशहरू र त्यहाँका युवा पुस्ता कम उद्यमशील र जोखिम पनि कम लिने खालका हुन्छन्। वृद्ध मतदाताले राजनीति पनि जटिल बनाउँछन्। किनभने अर्थतन्त्रमा वृद्धि हुँदा युवाको तुलनामा वृद्धहरूले थोरै फाइदा पाउने भएकाले उनीहरू वृद्धिको पक्षमा कमै उभिन्छन्। वृद्धहरू धेरै भएको समाजमा सिर्जनशीलता कम हुन्छ, जसले उत्पादकत्वको वृद्धि खुम्च्याइदिन्छ। परिणाम, त्यो समाजले ठूला अवसर समात्न सक्दैन।
यी सबै पक्षमा विचार गर्दा न्यून प्रजनन दर समाधान गरिनुपर्ने समस्या हो। यद्यपि यसका अन्तर्निहित कैयौं कारण आफैंमा स्वागतयोग्य छन्। मानिसहरू धनी हुँदै जाँदा कम सन्तान जन्माउन चाहन्छन्। काम र परिवारको व्यवस्थापन गर्न जटिल हुँदै गएकाले पनि एकभन्दा बढी सन्तान जन्माउन चाहँदैनन्। न्यून प्रजनन दरलाई समाजको असफलताका रूपमा व्याख्या गर्ने र परम्परागत परिवार संरचनातिर फर्कन आह्वान गर्ने लोकरिझ्याइँवादी परम्परावादीहरू गलत छन्।
यसको तुलनामा आप्रवासीहरूलाई स्वागत गर्ने उदारवादीहरूको मान्यता उचित छ। तर, यो पनि गलत उपचार हो। अहिले धनी देशहरूमा हुने आप्रवासन उच्च बिन्दुमा छ, जसले ती देशको कामदारको अभाव पूरा गरेको छ। तर, विश्वभरि प्रजनन दर घट्नुको अर्थ हो- यो शताब्दीको मध्यसम्म कुनै परिवर्तन नहुँदासम्म सर्वत्र दक्ष युवा जनशक्तिको अभाव हुनेछ।
मानिसहरू सर्वेक्षकहरूलाई आफूले अहिले भएभन्दा धेरै बच्चा जन्माउन चाहेको प्रायः बताउँछन्। यो आकांक्षा र यथार्थबीच खाडल छ। अधिकांश मानिस धेरै बच्चा हुर्काउनै सक्दैनन्। यसो हुनुमा आवासको कमी वा उपचार सेवाको असुविधा जस्ता नीतिगत असफलता पनि कारण हुन सक्छन्। यी समस्या समाधान भइहाले पनि आर्थिक विकासले प्रजनन दरलाई विस्थापन दरभन्दा कम नै गराउने देखिन्छ। परिवारको पक्षमा बनाइएका नीतिहरूले पनि सन्तोषजनक परिणाम नदिएका दृष्टान्त छन्। जस्तै- सिंगापुरले धेरै बच्चा जन्माउनेलाई अनुदान, कर फिर्ता र बाल स्याहार सुविधा दिने नीति ल्याएको छ, तर त्यहाँको प्रजनन दर १.० मात्र छ।
अहिले एआईमा भएको विकास निकै उपयुक्त समयमा भएको मान्नुपर्छ। एआई मिश्रित उत्पादनशील अर्थतन्त्रले ठूलो संख्याको सेवानिवृत्त जनसंख्यालाई आड दिन सक्छ। अर्कातर्फ एआई आफैंले मानव बौद्धिकताको आवश्यकतालाई व्यापक घटाउन सक्छ।
विश्वका गरीबहरूको सम्भावना खोतल्ने हो भने थप बच्चा नजन्माई पनि शिक्षित युवा कामदारको अभाव पूरा गर्न सकिन्छ। अहिले पनि दुईतिहाइ चिनियाँ बालबालिका ग्रामीण भेगमा बस्छन् र कम गुणस्तरीय विद्यालयमा पढ्छन्। भारतमा पनि त्यही अनुपातमा २५ देखि ३४ वर्षका मानिसले माध्यमिक तहको शिक्षा पूरा गरेका छैनन्। अफ्रिकाको युवा जनसंख्या केही दशकदेखि बढिरहेको छ। उनीहरूको सीप विकास गर्न आवश्यक छ, जसले यी युवालाई स्थिर अर्थतन्त्रलाई गति दिने गरी नवप्रवर्तकका रूपमा भित्र्याउन सक्छ। त्यति गर्दा पनि विकासलाई प्रोत्साहित गर्न कठिन नै हुन्छ, र ठाउँहरू जति छिटो धनी हुन्छन्, त्यति नै छिटो पुराना हुन्छन्।
त्यसैले घटिरहेको युवा पुस्ता र खुम्चिँदो जनसंख्याबारे विश्वले केही न केही गर्नैपर्ने भएको छ। यो विषयलाई ध्यानमा राख्दा अहिले एआईमा भएको विकास निकै उपयुक्त समयमा भएको मान्नुपर्छ। एआई मिश्रित उत्पादनशील अर्थतन्त्रले ठूलो संख्याको सेवानिवृत्त जनसंख्यालाई आड दिन सक्छ। अर्कातर्फ एआई आफैंले मानव बौद्धिकताको आवश्यकतालाई व्यापक घटाउन सक्छ। रोबोटिक्ससँग जोडिएको एआईले कम श्रम गर्न सक्ने वृद्धहरूको स्याहार पनि गर्न सक्छ। त्यस्ता आविष्कारहरूको माग धेरै छ।
बालबालिकाको न्यून संख्याले निम्त्याएको समस्या समाधान गर्न प्रविधिले सघाएमा ऐतिहासिक विकासक्रम पनि सही बाटोमा डोरिनेछ। १८औं शताब्दीमा थोमस माल्थसले अप्रत्याशित उत्पादकत्वले जनसंख्या बढाउँछ भनेर आकलन गरेका थिए। बच्चाहरू कम हुनुको अर्थ प्रतिभावान् मानिसको अभाव हुनु पनि हो। तर, यो समस्यालाई मानिसकै प्रतिभाले समाधान गर्नेछ।
(दी इकोनोमिस्टको २०२३ जून ३-९ को अङ्कमा प्रकाशित लेखको भावानुवाद।)