अमेजन जङ्गलमा ४० दिनसम्म कसरी बाँचे चार बालबालिका?
अमेजन जङ्गलबाट ४० दिनपछि जीवितै उद्धार गरिएका चार बालबालिकालाई उनीहरूकी घाइते आमाले आफूलाई छोडेर जान भनेकी थिइन्। विमान दुर्घटनाको चार दिनपछि आमाको मृत्यु भएको बालबालिकाले बताएका छन्।
विमान दुर्घटनामा परी हराएका चार बालबालिकाको कोलम्बियाको अमेजन जङ्गलबाट ४० दिनपछि जीवितै उद्धार गरिएको थियो। उनीहरूकी आमा म्यागडेलेना म्याकुटी पनि विमान दुर्घटना भएको चार दिनसम्म जिउँदै रहेको जनाइएको छ।
घाइते अवस्थामा रहेकी म्यागडेलेनाले आफूलाई छोडेर जान र सहयोग खोज्न आफ्ना सन्तानलाई भनेकी थिइन्। जेठी छोरीलाई उद्धृत गर्दै बालबालिकाका बुबा म्यानुयल रोनोक्युले संवाददाताहरूसँगको कुराकानीमा आमा म्यागडेलेनाले आफूलाई छोडेर जान र आफ्नो बचाउ गर्न बालबालिकालाई भनेको बताएका छन्।
जङ्गलबाट जीवितै उद्धार गरिएका चार जना बालबालिकाको उमेर १४, ९, ५ र १ वर्ष छ। उनीहरूलाई जङ्गलमा भेटेपछि हवाई उद्धार गरिएको थियो। जङ्गलबाट सीधै राजधानी बोगाटामा रहेको सैनिक अस्पताल लगिएको थियो।
“मलाई जेठी छोरीले के कुरा निश्चित पारिन् भने उनीहरूकी आमा चार दिनसम्म जिउँदै थिइन्,” बाबु रोनोक्युले बोगोटोको सैनिक अस्पताल बाहिर बसेका पत्रकारलाई सुनाए।
रोनोक्युले थपे, “आफू बित्नुअघि उनले आफ्ना सन्तानलाई ‘तिमीहरू यहाँबाट जाओ। तिमीहरूले आफ्ना बुबा कति मायालु छन् भन्ने थाहा पाउनेछौ, उनले मैले जस्तै तिमीहरूलाई माया गर्नेछन्’ जस्ता कुरा भनेकी रहिछन्।”
चामत्कारिक उद्धार गरिएपछि चार जना बालबालिकाले जङ्गलमा कसरी समय बिताए भन्ने जानकारी बिस्तारै सार्वजनिक हुँदै गएका छन्। उद्धारकार्यमा खटिएका निकोलास ओर्डोनेज गोमेजले बालबालिकालाई जङ्गलमा भेटेको क्षण स्मरण गर्दै भने, “सबैभन्दा ठूली लेजलीले सानो बालकलाई पाखुरामा च्याप्दै मतिर दौडिएर आउँदै गर्दा ‘भोक लाग्यो’ भनेकी थिइन्।”
आफूहरूले बालबालिकालाई उनीहरूका परिवारले उद्धार गर्न पठाएको बताएको गोमेजले सुनाए। “दुईमध्ये एउटा बालक भुइँमा सुतेका थिए। उनी उठे र मलाई ‘मेरी आमा मरिन्’ भने,” गोमेजले सुनाए, “त्यसपछि ती बालकले भने– मलाई केही पाउरोटी र ससेज दिनुस्।”
ती बालबालिका हुइटोटो आदिवासी समुदायका सदस्य हुन्।ी खान मिल्ने जङ्गली बोटबिरुवाको ज्ञान भएकाले उनीहरू यत्तिका दिनसम्म बाँच्न सफल भएको हजुरबुबाले सञ्चारकर्मीलाई बताए। सबैभन्दा ठूली १३ वर्षीय लेजलीलाई आफ्ना तीन भाइबहिनी बचाएको श्रेय जान्छ।
उद्धारमा सहभागी एक आदिवासी समुदायका सदस्य हेनरी गुयरियोले बालबालिकाले एउटा सानो सुरक्षित ठाउँ बनाएको बताए। “उनीहरूले टाटको सानो छतरी बनाएछन् र भुइँमा रुमाल ओछ्याएका रहेछन्। उनीहरू सधैं नदीको छेउमा बस्दै आएका रहेछन् र लेजलीले सोडाको सानो बोतललाई पानी बोक्न आफूसँगै राखेकी रहिछन्,” गुयरियोले भने।
१० जूनमा सार्वजनिक एउटा फुटेजमा चार जना बालबालिका जङ्गलमा बिताएका दिनले थकित र गलित देखिन्थे। उनीहरूको दिमागमा केवल खानेकुरा घुमिरहेको थियो। “बालबालिकाले खीर खाने कुरा गरे, पाउरोटी खाने कुरा गरे,” उनले भने।
१ मेका दिन म्यागडेलेना म्याकुटी र उनका चार सन्तान सेस्ना २०६ विमानमा अमेजन जङ्गलको आराराकुआरा क्षेत्रमा सानजोझे डेल गुआभियरामा जाँदै थिए।
उनीहरू आफ्ना बुबालाई भेट्न जाँदै थिए। विद्रोही समूहले धम्की दिएपछि उनका बुबा घर छोडेर गएका थिए।
उनीहरू सवार विमानको इन्जिन फेल भएपछि दक्षिण कोलोम्बोको घना जङ्गलमा नाक जोत्तिने गरी दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त विमान भेट्टाउन उद्धारकर्मीको टोलीलाई दुई साता लागेको थियो।
सेनाको उद्धार टोलीले दुर्घटनास्थलमा दुई जना विमान चालक र उनीहरूकी आमाको शव भेट्टाएको थियो। बालबालिका भने जङ्गलमा सहयोग खोज्न भौंतारिएका थिए।
हराइरहेका बालबालिका खोज्न बृहत् खोज अभियान चलाइएको थियो जसमा १०० जनाभन्दा बढी सैनिक, स्थानीय जनजाति समुदायका मानिस तथा खोजमा उपयोग गरिने कुकुरहरू सहभागी थिए।
उद्धार टोलीले जङ्गलका ठाउँ ठाउँमा बालबालिकाको चिह्न पाएको थियो जसमा उनीहरूका खुट्टका डोब र फलफूलको बोक्रा थिए। यी सङ्केतले उद्धार टोलीलाई बालबालिका जीवितै रहेको विश्वास दिलाउने गरेको थियो।
उनीहरू भेटिन सक्ने सम्भावित स्थानमा उनीहरूकी हजुरआमाले हुइटोटो भाषामा सबै जनालाई सँगै बस्न गरिएको आग्रहलाई हेलिकोप्टरबाट सुनाइएको थियो। बालबालिकाले उद्धारकर्तालाई भेट्दा आफूहरूले हेलिकोप्टरको सो सन्देश सुनेको बताएका थिए।
अन्ततः ९ जूनमा उनीहरूलाई अलि खुला ठाउँमा भेट्टाइएको थियो जब एक उद्धारकर्ताले एक बच्चा रोएको आवाज सुने। “उनीहरूलाई भेट्टाउँदाको क्षण साँच्चै नै खुशी दिने खालको थियो,” ग्युयेरेरोले भने।
बालबालिकाका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले भने, “उनीहरू साह्रै कमजोर भएको, सानातिना चोट लागेको, जङ्गलमा हुँदा केही संक्रमण भए पनि समग्रमा स्वास्थ्य राम्रै रहेछ।”
विमानमा भएको एक झोला पिठोले एक सातासम्मलाई खुराक पुगेको उनले बताए। बालबालिकालाई अस्पतालमा कुपोषण र जलवियोजनको उपचार गरिएको छ। उनीहरूलाई अस्पतालमा परिवारजन, आफन्त तथा उद्धार टोलीमा संलग्न सदस्यहरूले भेटेका छन्।
कोलम्बियाली सेनाले बालबालिकाले बनाएको एउटा चित्र ट्वीट गरेको थियो जसमा ‘विल्सन’ नामको एउटा कुकुर पनि देखिन्छ। जङ्गलमा खोजी जारी रहँदा विल्सन कुकुर हराएको थियो जसले बालबालिकालाई खोज्न महत्त्वपूर्ण सहयोग गरेको थियो।
त्यो कुकुरले बालबालिकासँग केही समय बिताएको पनि थियो तर अहिले ऊ बेखबर छ। कोलम्बियाली सेनाले कुकुरको खोजी जारी रहने बताउँदै ‘हामी कसैलाई पनि एक्लै छोड्नेछैनौं’ भन्ने प्रतिबद्धता गरेको छ। (बीबीसीबाट)