पूर्वी नेपालबाट भित्रियो मनसुन
यस वर्षको मनसुन पूर्वी नेपालबाट भित्रिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार मनसुनी प्रणाली नेपालमा प्रवेश गरेको हो। कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको विभागले जनाएको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जून हो। यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको विभागले जनाएको छ।
पूर्वबाट भित्रिएको मनसुन बिस्तारै पश्चिमी भूभागतिर पुग्नेछ। देशका अन्य भूभागमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिएको विभागको भनाइ छ।
मनसुन भित्रिएसँगै पूर्वी नेपालमा मौसम बदली हुने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
साथै, मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।