बाढी पहिरोबाट १११ जनाको मृत्यु, ४० बेपत्ता
बाढी–पहिरोकाे कारण मुलुकभर १११ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी पहिरोमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ जना घाइते भएका छन् ।
अहिलेसम्म बाढीबाट ५८ जना, पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । यसपटकको मनसुन शुरु भएपछि बाढीका १२८ र पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।
बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । बाढीबाट एक अर्बभन्दा बढी र पहिरोबाट दुई करोडभन्दा बढीको क्षति भएको खनालले बताए । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये सबैभन्दा बढी गुल्मी जिल्लामा पहिरोबाट १३ र रौतहटमा बाढी र डुबानबाट १० जना छन् ।
प्रमुख खनालका अनुसार सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाले ज्यान गुमाएका छन् ।
बाढी पहिरोमा परेर काठमाडौं, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन/तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई(दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक/एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् ।
त्यस्तै, मकवानपुर र लमजुङमा आठ/आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच/पाँच, मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक/एक जना, झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन् ।