देशका १६ जिल्लामा देखियो दादुरा, एक हजारभन्दा बढी संक्रमित
देशका १६ जिल्लामा दादुरा देखिएको छ भने जसबाट एक हजारभन्दा बढी संक्रमित छन्।
स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको जनाइएको छ। महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण देखिएको छ।
यीमध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरीका बालबालिका बढी प्रभावित छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौशाला नगरपालिका-२ र ५ मा दादुराको प्रकोप बढेको डा. लालले बताए।
यी स्थानीय तहका ६ महीनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगन्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ।
बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका ६ महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप अभियान शुरू गरेको जनाएको छ।
दादुरा र रुबेला रोग कोरोनाभाइरसभन्दा पनि तीव्र गतिले फैलिनुका साथै मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्ने जनाइएको छ। मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ।
महाशाखाले काठमाडौंका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ। यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशील हुन समेत महाशाखाले अनुरोध पनि गरेको छ। (रासस)