प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्धका उजुरीकर्तासँग छलफल
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ।
समितिको बुधबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका २३ उजुरीकर्ता सहभागी भएका छन्। कार्की विरुद्ध २९ जनाले उजुरी दिएका छन्।
ज्येष्ठ सदस्यका रूपमा पशुपतिशम्शेर जबराले बैठकको नेतृत्व गरेका छन्। उजुरीको गाम्भीर्य हेरी पहिले सामान्य प्रकृतिका उजुरीमाथि छलफल भइरहेको जबराले बताए।
यसअघि बैठकमा समिति सदस्य सांसद जनार्दन शर्माले फरक–फरक खालका उजुरी भएका कारण सबैलाई एकै ठाउँमा राख्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने बताएका थिए।
त्यस्तै, सांसद महेश बर्तौलाले उजुरीहरू अनुमान गरे अनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा राखे। कतिपय उजुरी राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो।
अर्का सांसद रमेशजंग रायमाझीले विषय हेरेर छलफल चलिरहेको बताए। “कुन विषयलाई गहन भन्ने, कुन विषयलाई सामान्य भन्ने? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ,” उनले भने। अहिले समितिले उजुरीकर्तासँग छलफल गरिरहेको छ।
जेठ २९ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले जेठ ३२ मा सुनुवाइ गर्ने निर्णय गरेको छ। यसअघि जेठ १६ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। प्राप्त उजुरीबारे संसदीय सुनुवाइका वेला कार्कीसँग सोधपुछ गरिनेछ।
वैशाख २५ मा बसेको संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो। अहिले कार्की कायममुकायम प्रधानन्यायाधीश छन्।
अब संसदीय सुनुवाइबाट कार्कीको नाम स्वीकृत भएको खण्डमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।