बाढीले कल्भर्ट बगाउँदा बेनी-जोमसोम सडक अवरुद्ध
गएराति आएको बाढीले कल्भर्ट बगाउँदा म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल गएराति आएको बाढीले बगाएको हो। कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडकमा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट भत्काएको थियो।
कल्भर्ट भत्काएपछि ह्यूमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। फेरि गएराति आएको बाढीले ह्यूमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।
७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजना मार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदूर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।