सिंचाइले बदल्दै छ महिलाको मुहार
सिंचाइ कुलो निर्माणबाट कर्णाली प्रदेशका जुम्ला, कालिकोट लगायत जिल्लामा कृषि उत्पादन र विद्युतीकरणमा मात्र टेवा पुर्याएको छैन, विकासको कामबाट प्राप्त आम्दानीले महिलाहरूको अवस्था फेरिएको छ।
पानी रसाउने र वर्षामा भेलबाढीको जोखिम हुने भएकाले सामान्यतया पहाडी बस्तीमाथि कुलो बनाइँदैन। तर जुम्लाको तिला गाउँपालिका–७ घोडेसिममा खेतीयोग्य जमीन नै बस्तीमाथि भएकाले तीन दशकदेखि माथि नै कुलो थियो।
पुरानो शैलीमा बनेको कुलो बाटोमै चुहावट हुँदा खेतबारीमा पानी कम पुग्थ्यो। अर्कातिर, कुलोको पानी रसाउँदा माटोेका ढिस्का खसेर घरहरू भत्किन्थे। तिला गाउँपालिका–७ का वडाध्यक्ष खामविलाल रोकायाका अनुसार ढिस्को खसेर घर भत्किने घटना प्रायजसो वर्षात्मा धेरै हुन्थे। कुलोमुनि भिरालो ठाउँमा रहेको बस्तीमा ८६ वटा घर छन्।
पानी चुहिएर घरका पर्खाल लड्ने र ढिस्को खस्ने समस्याबाट आजित भएपछि घोडेसिमका बासिन्दाले तीन वर्षअघि गाउँपालिकालाई गुहार्दै बस्ती सुरक्षित ठाउँमा सार्न माग गरेका थिए। गाउँपालिकाले यसबारे प्रदेश सरकारमा प्रस्ताव लैजाँदा सकारात्मक प्रतिक्रिया पनि आएको वडाध्यक्ष रोकाय बताउँछन्।
तर केही महीनायता बस्ती सार्ने कुरा गाउँलेहरू सुन्नै चाहँदैनन्। गाउँमा एक किलोमिटर पक्की कुलो बनेर व्यवस्थित सिंचाइ सुविधा पाएपछि बसिरहेकै बस्तीमा उनीहरू रमाएका छन्। “पक्की कुलो बनेपछि सबैको खेतबारीमा चाहिने जति पानी पुगेको छ। अहिले त मानिसहरूले धान बाली मात्र हैन, तरकारी पनि रोप्न थालेका छन्,” स्थानीय लक्ष्मी रोकाया भन्छिन्।
कुलोबाट बस्तीका ८६ घरधुरीले २६ हेक्टर जमीनमा सिंचाइ गरिरहेका छन्। कुलोबाटै १८ किलोवाट बिजुली निकालिएको छ। सिंचाइ सुविधासँगै विद्युत्मा पहुँच पुगेपछि गाउँलेहरू खुशी छन्। यति मात्र होइन, कुलो व्यवस्थापनपछि जीर्ण तथा बन्द अवस्थामा रहेका पानीघट्टहरू पनि सञ्चालनमा आएका छन्।
कर्णाली प्रदेशकै कालिकोटको शुभकालिका गाउँपालिका–६ हाउडी गाडमा पनि ६५८ मिटरको पक्की कुलो बनेर सिंचाइको दिगो व्यवस्था भएपछि स्थानीय किसान दङ्ग छन्। कुलोमा खोलाबाट पानी जम्मा गरेर ३५ किलोवाट बिजुली पनि उत्पादन गरिएको छ। यसबाट वडा नम्बर ६ हाउडी गाड र ८ भलेका गाड गाउँमा पहिलो पटक बिजुली पुगेको छ। ३१५ घरमा विद्युतीकरण भएको छ।
हाउडी गाडकी ५० वर्षीया जौकला शाही ४८ वर्षको उमेरमा पहिलो पटक बत्ती बलेको देख्न पाएको भन्दै खुशी व्यक्त गर्छिन्। “हाम्रो त संसारै उज्यालो भयो। जङ्गलमा जान दियालो बालिन्थ्यो, अहिले चार्जवाला टर्च लान्छौं,” उनी भन्छिन्।
शुभकालिका–६ का वडाध्यक्ष दीपबहादुर शाही खोलाबाट डाँडाकाँडा छिचोल्दै कुलो ल्याउन असम्भव जस्तै लागे पनि सम्भव भएको बताउँछन्। उनका अनुसार स्थानीय सरकारको २० लाख र संयुक्त राष्ट्रसंघ– विश्व खाद्य कार्यक्रमको २३ लाख रुपैयाँ लगानीमा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली पाईलट अन्तर्गत यो सिंचाइ परियोजना बनेको हो।
सिंचाइपछि गाउँलेका सपना
शुभकालिका, कालिकोटकी बत्ती चौलागाईं (५०) ले सिंचाइको व्यवस्था हुनुअघि आकाशे पानीको भरमा धान बाली लगाउँथिन्। उनका अनुसार उनको खेतमा ५०/५५ किलोसम्म चामल निस्किने एक भारी धान फल्छ। यसले उनको चार जनाको परिवारलाई तीन महीना खान पुग्छ। बाँकी नौ महीना श्रीमान् र छोराले भारतमा मजदूरीबाट गर्ने कमाइले गुजारा टार्ने गरेको उनको भनाइ छ।
गाउँका सबै घरको समस्या र अवस्था यही हो।
अहिले खेतमा नहरको पानी पुगेपछि आकाशे पानी पर्खेर वर्षको एक बाली धान खेतीमा चित्त बुझाउनुपर्ने अवस्था अन्त्य भएको छ। बत्ती भन्छिन्, “अब धानको सिजन बाहेक तरकारी लगाउने सोचेकी छु।”
बत्ती जस्तै पहिले वर्षमा एक बाली मात्र लगाउँदै आएका यहाँका पूर्ण चौलागाईं (३०), प्रिमकला आचार्य (४३), सरस्वती अधिकारी (२५) पनि तरकारी खेती गर्ने सोचमा छन्। प्रिमकला भन्छिन्, “वर्षभरि सिंचाइ हुने भएपछि अब खेत बाँझो रहन दिंदैनौं। सके जति उब्जनी गरेर बढी भए बजार लगेर बेच्ने योजना छ।”
तिला, जुम्लाकी लक्ष्मी रोकाया (३०) ले पछिल्ला वर्षहरूमा पानीकै अभावमा गहुँ र जौ खेती गर्न छाडेकी थिइन्। तर यस वर्ष नहरबाट पानी आउने पक्कापक्की भएसँगै खेती गरेकी थिइन्। खेतमा अहिले गहुँ र जौका बाला पोटिला भएका छन्। सप्रिएको बाली देखाउँदै भन्छिन्, “पहिला यी पाखा रित्तै थिए, अहिले सिंचाइले बालीनाली हरिया भएका छन्।”
लक्ष्मीले तरकारी खेती पनि गर्न थालेकी छन्। अहिले आफूलाई खान मात्र तरकारी रोपेकी उनले व्यावसायिक खेती नै गर्ने तयारी गरेकी छन्। “यो सिजनमा आफूले खाएर पनि दुई हजारको तरकारी बेचें। अब राम्रो रायो लगाउनुपर्यो, बीउ खोज्दै छु,” उनी भन्छिन्।
पहिले आकाशे पानीको भर पर्दा आलु रोप्न जहिल्यै ढिला हुने गरेकोमा अहिले कालिकोटको शुभकालिकाका किसानले जेठमै रोपिसकेका छन्। “हामी त आलु फलाएर बेच्न पुगे बेच्छौं, स्याउका बिरुवा पनि थप्छौं,” गहुँबारीमा काम गरिरहेका घोडेसिम, जुम्लाका महिलाहरू नहर देखाउँदै भन्छन्, “यो पानी अलि माथि स्याउका बोटसम्म पुर्याउन सके अझै राम्रो हुन्थ्यो।”
खुर्सानी, काँक्रा, गोलभेंडा, प्याज रोप्न सिंचाइको पानी पुग्ने र प्रशस्त फले जुम्ला बजारमा बेच्ने उनीहरू सुनाउँछन्।
विकासका काममा महिला
कालिकोटको शुभकालिका गाउँपालिका–६ को जनसंख्या एक हजार ६०० छ । ८०० महिला र ८०० पुरुष रहेको वडा कार्यालयको तथ्याङ्क छ। यीमध्ये ४०० पुरुष मजदूरीका लागि भारत गएकाले अहिले विकास निर्माणका काममा खटिनेमा पुरुषभन्दा महिलाको संख्या बढी देखिने वडा नम्बर ६ का वडाध्यक्ष दीपबहादुर शाही बताउँछन्। “वडाका विकास निर्माणका कामहरूमा महिला र ज्येष्ठ नागरिक नै बढी संलग्न देखिन्छन्,” उनी भन्छन्।
यता, जुम्लाको तिला गाउँपालिका–७ मा पनि युवाहरू रोजगारी र कमाइको सिलसिलामा बाहिर भएकाले विकासका काम महिलाले नै धानिरहेको वडाध्यक्ष खामविलाल रोकाया बताउँछन्। “महिलाहरूले भीरपाखामा ढुङ्गा बोक्ने, बालुवा चाल्ने जस्ता गह्रुँगो काम पनि गरिरहेका छन्,” उनी भन्छन्।
कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन (क्याफ्स कर्णाली) परियोजना अन्तर्गत तिला गाउँपालिकाको घोडेसिममा सिंचाइ योजना बनाउन खटिनेमा पनि महिला कामदारकै संख्या बढी थियो। ५० महिला र ३५ पुरुषले दुई महीना लगाएर उक्त काम सकेका थिए। त्यस्तै, शुभकालिका गाउँपालिकास्थित हाउडी गाडको सिंचाइ परियोजनामा ४२ महिला र ३० पुरुषले मजदूरी गरेका थिए। विभिन्न विकास निर्माणको उपभोक्ता समितिको अध्यक्ष र सचिवमा पनि महिला नै छन्।
घरका पुरुषहरू कमाइका लागि भारत गएपछि गाउँघरको विकास निर्माणमा आफैं मजदूरी गर्नेहरूमध्ये शुभकालिका गाउँपालिकाकी रूपा रोकाया (३६) पनि एक हुन्। उनको पाँच रोपनी जग्गामा फल्ने दुई मुरी गहुँले चार महीना मात्र खान पुग्छ। गत माघमा कमाउन भारत गएका उनका ससुरा, श्रीमान् र छोराले अहिलेसम्म खर्च पठाएका छैनन्। घरमा भएका तीन छोराछोरी र सासूलाई उनले आफ्नै कमाइबाट रेखदेख गर्दै आएकी छन्।
गाउँमा सञ्चालित सिंचाइ परियोजनामा रोजगारी पाउँदा एक महीनामा १८ हजार रुपैयाँ कमाएको उनी बताउँछिन्। “यो पैसाले अब केही महीना दाल–चामल खान पुग्ने भएको छ,” उनी भन्छिन्।
स्थानीय स्तरमा भएका विकास निर्माणका ससाना कार्यक्रमका कारण महिलाहरूको हातमा पहिलो पटक पैसा पुगेको र यसको ठूलो अर्थ भएको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढा बताउँछिन्। “हातमा पैसा हुनु भनेको आत्मविश्वास हुनु हो, महिलाहरू आत्मनिर्भर बन्दा कतिपयले पहिलो पटक मन लागेको कुरा किन्न पाए होलान्,” उनी भन्छिन्।
कालिकोटकी जौकला शाहीले दैनिक ७५० रुपैयाँका दरले ४० दिन काम गरेर ३० हजार रुपैयाँ कमाइन्। यति रकमबाट तीन महीना पुग्ने खाद्यान्न जोहो हुनेमा उनी दङ्ग छिन्।
महिलाहरूले आम्दानी गरेसँगै उनीहरूको आत्मविश्वास बढ्नुका साथै घरपरिवार र समाजमा इज्जत पनि बढेको उनले महसूस गरेकी छन्। उनी भन्छिन्, “पहिला मेरा फुपूहरू गम्छाले मुख ढाकेर कुनामा बस्थे, लोग्नेमान्छेको मुख पनि हेर्दैनथे। अहिले त हामी बोल्छौं, लोग्नेमान्छेले मात्र गर्ने भनेका काम पनि गर्छौं।
विगतमा कर्णालीमा विकास निर्माणका काम हुँदा मसला बनाउने, बेल्चा चलाउने आदि काम महिलाले गर्ने होइन, गर्न सक्दैनन् भनेर पन्छाइन्थ्यो। कालिकोटकी जौकला शाहीले पनि यस्तो भोगेकी थिइन्। तर, गाउँमा पुरुषको संख्या घटेर विकासका काममा महिलाहरूको सहभागिता बढेसँगै ‘पुरुषले मात्र गर्ने/गर्न सक्ने’ भनिएका काममा उनीहरूले आफ्नो क्षमता देखाउन पाए।
काममा क्षमता देखाएसँगै ज्यालामा रहेको विगतको असमानता पनि मेटिन थालेको जौकला बताउँछिन्। “पहिला लोग्नेमान्छेलाई धेरै हाजिरा (ज्याला) दिन्थे। अहिले हामीलाई पनि उनीहरूलाई जत्तिकै हाजिरा छ,” उनी भन्छिन्।