‘खाइस्यो-गइस्यो’ भन्ने कि नभन्ने?
लोकतान्त्रिक परिवर्तनले उच्च ओहदामा रहेकालाई समेत ‘बक्सियोस्’ सम्बोधन गर्नुनपर्ने खुलापन दिइसके पनि सामाजिक तहमा दरबारिया भाषाको पकड बढ्दो छ।
कुनै पनि भाषाले सञ्चारको काम मात्र गरिरहेको हुँदैन, वक्ताको सामाजिक हैसियत पनि झल्काइरहेको हुन्छ। यसले व्यक्तिको सामाजिक पहिचान र आपसी सम्बन्ध निर्क्योल गर्न मद्दत पुर्याउँछ। मानवशास्त्री पियर बोर्डिउ भाषालाई व्यक्तिको स्वार्थ पूरा गर्ने र क्षमता देखाउने साङ्केतिक शक्तिका रूपमा पनि हेरिनुपर्ने ठान्छन्। उनका अनुसार भाषिक कथन वा अभिव्यक्तिहरूलाई भाषाको बजार र प्रचलनबीचको उत्पादनका रूपमा बुझ्न सकिन्छ।
व्यक्तिहरूले भाषाको विशिष्ट प्रयोगका सन्दर्भमा आफ्ना सञ्चित भाषिक स्रोतहरू उपयोग गर्छन् र आफ्ना शब्दहरूलाई सामाजिक क्षेत्र वा बजारका माग अनुरूप अनुकूलन गर्छन्। तसर्थ हरेक परस्पर भाषिक क्रियाले सामाजिक संरचनाको चिह्न/अंश व्यक्त गर्दै पुनरुत्पादनमा सघाउँछ।
नेपाली समाजमा पनि बढ्दो बसाइँसराइसँगै भाषाको भूमिका परिवर्तन हुँदै छ। यस्तो परिवर्तनले बोल्ने नयाँ तरीका सिकाउँछ। तर यसले मानिसलाई सामाजिक अन्तरक्रियामा समावेश गराउँदा गराउँदै केहीलाई बहिष्करणमा पनि पारिरहेको हुन सक्छ। अनि भाषा सामाजिक सम्बन्धको पनि मानक हो। हाम्रा सन्दर्भमा बसाइँसराइसँगै नयाँ नयाँ मानिसको घुलमिल हुँदा उच्च आदरार्थी अर्थात् क्रियापदको अन्त्यमा ‘स्योस्/सियो’ लागेका शब्दको प्रचलन बढेको छ।
मानिसहरूले नयाँ ठाउँ जानुलाई आफ्नो स्तरोन्नतिका रूपमा देखाउन र समाजमा घुलमिल हुन यस्ता शब्द अपनाएको पाइन्छ। यसलाई सामाजिक स्तरोन्नतिकै अभ्यासका रूपमा पनि लिन सकिन्छ। आफ्नो परिवार तथा वर्गकै स्तर माथि उठाउने नाममा देखासिकी गर्नेहरूले यस्ता उच्च आदरार्थी शब्द जबर्जस्ती भिरेको कुरा त देख्दै–सुन्दै आइएकै हो। हाम्रै एक शिक्षकले सुनाए अनुसार उहाँका साथीकी श्रीमतीले श्रीमान्लाई ‘दिनभरि कुकुर जसरी डुलेर आइसियो’ भनिछन्। यसबाट उच्च आदरार्थी भनिएको ‘स्योस्’ को अर्थान्तरण सम्मानसूचकमा मात्र सीमित नरहेको मान्न सकिन्छ।
दरबारिया र खानदानी भनिने गरेका यस्तै सम्बोधन कार्यस्थलमा पनि हुने गरेको पाइन्छ। प्रगतिशील मानिएका केही गैरसरकारी संस्थामै उपल्लो ओहदाको व्यक्तिलाई ‘बक्सियोस्’ भनिएको सुनिन्छ। यसो भन्नेमा घरमै यस्तै भाषामा अभ्यस्त भएकाहरू पनि हुन्छन्। तर घरमा फरक भाषा बोलेर कार्यालयमा मात्र ‘स्योस्’ लगाउनेहरूको प्रयोजन हाकिमलाई रिझाउने हुन सक्छ। प्रयोजन जे भए पनि दुवै थरीले यस्तो आदर दिने आफूभन्दा ठूलो पदकालाई मात्र हो। आफ्नो भन्दा सानो पद तर ठूलो उमेरकालाई भने उनीहरू हजुर–तपाईंमै सीमित गर्दिन्छन्। पण्डित/पुरेतले पनि यजमानलाई ‘स्योस् वा बक्सियोस्’ भनिरहेका हुन्छन्। यसरी रिझाउने हिसाबले गरिने सम्बोधनले एकातिर वर्ग–अन्तर अझै बढाइरहेछ, अर्कातिर सम्बोधितले अपेक्षित/अनपेक्षित रूपमा पाएको विशेषाधिकारको आनन्द उठाइरहेकै छ।
मेरा एक आफन्तले धनीमानीका सन्तान पढ्ने राजधानीका स्कूलमा ‘स्योस्’ को प्रयोग बढी हुने गरेको सुनाउनुभयो। आफैं पनि बोर्डिङ स्कूलमा पढाउने उहाँका अनुसार यस्तो भाषा स्कूलले नसिकाए पनि बच्चाहरूले सम्पन्न परिवारबाट आउने समकक्षीको बोली सुनेर सिक्ने गर्छन्। तर घरमा अभ्यस्त नभएका सामान्य परिवारका बच्चाहरू कसलाई ‘स्योस्’ लगाउने/नलगाउने भनी अन्योलमा परिरहेका हुन्छन्।
मेरी एक साथी छिन् जसको परिवारमा उच्च आदरार्थी भाषा प्रयोग हुँदैन। तर उनकी भान्जीले ‘स्योस्’ भन्न थालिछन्। कुरा के रहेछ भने उनले सामान्य आदरार्थी भाषामा कुरा गर्दा साथीले ‘छ्या कस्तो बोलेको’ भनेर प्रतिक्रिया जनाइछन्। अनि उनले पनि उच्च आदरार्थी भाषामा अभ्यस्त तिनै साथीबाट ‘स्योस्’ भन्न सिकिछन्। यसबाट थाहा हुन्छ, यस्ता कुराले बाल मस्तिष्कमा पनि कुन हदसम्म प्रभाव पारेका हुँदा रहेछन्?
नेपाली खस भाषा राष्ट्रभाषा भएसँगै अन्य जातीय भाषा मासिन थालेकोमा गणतन्त्र स्थापनापछि मातृभाषाको प्रयोगलाई पुनः प्राथमिकता दिइँदै आएको छ। प्राथमिक तहसम्म मातृभाषामै अध्ययनको व्यवस्था पनि छ तर त्यसको प्रभाव मूल्याङ्कन भइसकेको छैन। शहरका केही स्कूलमा भने सबै वर्गका विद्यार्थीलाई एकै किसिमको भाषिक अभ्यासतिर डोर्याउने काम भइरहेको छ। अझ भनौं, ‘उच्च वर्ग’ को भाषिक अभ्यास अन्य समुदायका सदस्यमाथि हावी हुँदै छ। शैक्षिक संस्थाहरूले ‘स्योस्’ सम्बोधन गरिनुलाई स्तरीय मान्नु अनि बच्चाले त्यस्तो भाषा सिक्दा अभिभावक मक्ख पर्नु भनेको समाजले आफ्नो स्तरोन्नतिको मानक ठान्दै आएको दरबारिया भाषिक अभ्यासकै सुषुप्त प्रकटीकरण हो।
मानवशास्त्री बोर्डिउका अनुसार व्यक्तिले प्रयोग गरेको भाषाले सो समुदायको शक्ति झल्काउँछ। राजतन्त्र रहँदा दरबारसँग नजिकिन, घरानियाँ परिवारसँग सम्बन्ध रहेको देखाउन कतिपय मानिसले दरबारको जस्तो बोलीवचन अपनाएको पाउन सकिन्छ। राजपरिवार, राणाहरू र नेपालका अन्य उच्च भनिएका घरानाहरू र तीसँग सम्बन्ध रहेकाहरूले स्योस् भनेर बोल्ने चलन थियो। तर आजभोलि घरानियाँ परिवारको सदस्य मात्र नभएर आर्थिक रूपमा अलि सबल अनि बसाइँ सरेर नयाँ ठाउँमा आएकाहरू जो पहिला तपाईं सम्बोधन गर्थे, तिनले पनि ‘स्योस्’ भनेको सुनिन्छ।
बोर्डिउ भन्छन्, ‘भाषाको साङ्केतिक शक्तिले सामाजिक संरचनामा व्यक्तिको स्थान झल्काउँछ।’ यसलाई नेपाली सन्दर्भमा बुझ्दा गाउँका ठूलाठालु मानिनेलाई बाबुसाहेब, मुखिया भन्दै ‘हजुर–स्योस्’ भनी सम्बोधन गरिन्छ। यस्तो सम्बोधन गर्नेमा आफ्नो परिवार र आफन्तलाई उच्च आदरार्थी प्रयोग गर्नेहरू हुँदैनन्। उनीहरू आफैं चाहिँ ठूलाठालुबाट ‘तँ’ भनिन्छन्। बोलीको शैली र भाषाले सामाजिक शक्ति संरचना र असमानता झल्काउने अर्को उदाहरण महिलाले विवाहपछि श्रीमान्पट्टिको नातागोतालाई गर्ने सम्बोधन हो। महिलालाई उमेर र नाता दुवैमा आफूभन्दा सानालाई समेत उच्च आदरार्थी सम्बोधन गर्न/गराउन लगाउनुले समाजमा केटापट्टिको परिवार ठूलो र केटीको परिवार सानो भन्ने झल्को दिन्छ।
माइतमा सामान्य आदरार्थी भाषाकै अभ्यास गरेका कतिपय छोरीमान्छेले विवाहपछि केटाको परिवारलाई ‘स्योस्’ भनी सम्बोधन गर्न थाल्छन्। अनि सासू आमालाई मुवा, नन्द र भान्जीलाई मैयाँ भन्ने गर्छन्। जबकि सामान्य बोलीचालीमा यिनै नातालाई आमा, नानी, बैनी, भान्जी शब्द मात्रले पनि चिनाइरहेको हुन्छ। दर्शन गर्नु, भातको सट्टामा भुजा र दिनुको सट्टामा टक्र्याउनु आदि केही शब्दले प्रयोगकर्ताको वर्गीय पहिचान र शासकीय तहसँगको सामीप्य झल्काइरहेका हुन्छन्। कतिपयले यस्तो उच्च आदरार्थी भनिने सम्बोधनलाई माया–सम्मानका रूपमा पनि अर्थ्याउलान् तर शब्दको उच्चारण मात्रैले सम्मान हुने होइन। सम्बन्धित व्यक्तिलाई व्यवहारमा गरिने सम्मान चाहिं बढी अर्थपूर्ण हुन्छ।
हाम्रो समाज अझै पनि वर्गभेदमै रमाएर आफ्नो विशिष्टता जनाउनमा सन्तुष्टि मान्छ। यद्यपि व्यवस्थाहरू धेरै पटक परिवर्तन भइसके। राणाकालीन दरबारिया भाषाको औपचारिक अभ्यास राजतन्त्र रहँदासम्म निरन्तर रह्यो। यसबीच भएको प्रजातान्त्रिक परिवर्तनले लेख्य भाषामा राजपरिवार बाहेकलाई ‘तिमी’ सम्बोधन गर्ने वातावरण दियो। पछिल्लो लोकतान्त्रिक परिवर्तनले त वर्गहीन समाजको परिकल्पना गर्दै संवैधानिक पदमा आसीन समेतलाई ‘तिमी’ भन्न सकिने खुलापन दिइसकेको छ। यद्यपि सामाजिक तहमा ‘स्योस्’ तिरको झुकाव झन् झन् फैलिंदो छ।