काठमाडौंका क्लिनिकमा मापदण्ड विपरीत चिकित्सक विनै धमाधम उपचार
मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सक तथा अन्य व्यावसायिक परिषद्मा दर्तावाला स्वास्थ्यकर्मीले आफूले प्राप्त गरेको योग्यताभन्दा बढी वा योग्यताभन्दा बढी विधि वा पद्धतिको प्रयोग गरेमा तिनलाई व्यावसायिक आचारसंहिता बमोजिमको कारबाही हुन्छ।
काठमाडौं उपत्यकामा चिकित्सक विना नै क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलको अनुगमनमा क्रममा काठमाडौंमा केही क्लिनिकले चिकित्सकीय मापदण्ड विपरीतका अभ्यास गरेको पाइएको हो।
काउन्सिलमा परेको उजुरीको आधारमा सोमबार बालुवाटारस्थित कोरियन स्किन केयर क्लिनिक, सिटी सेन्टरस्थित कोरियन ब्यूटी क्लिनिक एन्ड केयर, नक्सालस्थित ब्यूटी क्लब, ललितपुरस्थित डिकस्मो क्लिनिक, लुम्बिनी डेन्टल क्लिनिक, जोरपाटीस्थित जोरपाटी पोलिक्लिनिक र कलंकीस्थित कलंकी पोलिक्लिनिकको अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री नेतृत्वको टोलीले क्लिनिक भनेर खोलिएका यी संस्थामा चिकित्सक समेत नरहेको पाएको थियो। डा. खत्रीका अनुसार केही क्लिनिकले छाला सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले मात्रै गर्नुपर्ने उपचार चिकित्सक विनै गर्ने गरेको पाइएको थियो।
बालुवाटारस्थित कोरियन स्किन क्लिनिकमा अनुगमनको क्रममा चिकित्सकको प्रेस्क्रिप्शन विना दिन नमिल्ने औषधि दिइएको र चिकित्सक विना गर्न नमिल्ने उपचार हुने गरेको भेटिएको खत्रीले बताए।
यस्तै, नक्सालस्थित ब्यूटी क्लबले चिकित्सक विना नै चिकित्सकले गर्ने छाला सम्बन्धी उपचार गरेको उजुरी थियो। डा. सिंहका अनुसार सिटी सेन्टरस्थित कोरियन ब्यूटी क्लिनिक एन्ड केयरमा पनि चिकित्सकले गर्ने काम चिकित्सक विनै भइरहेको थियो। उक्त क्लिनिक सञ्चालकलाई कागजात सहित उपस्थित हुन काउन्सिलले निर्देशन दिएको छ।
यस्तै, योग्यता विना र योग्यताले भ्याउनेभन्दा बढी अभ्यास गर्नेमाथि पनि काउन्सिलले कारबाही अगाडि बढाएको छ।
बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकका सञ्चालक डा. उदीप श्रेष्ठले योग्यताले भ्याउनेभन्दा बढी उपचार गर्ने गरेको उजुरी काउन्सिलमा परेको थियो। उनले फिलिपिन्सबाट एमबीबीएस सरहको शैक्षिक योग्यता हासिल गरेको तर विशेषज्ञ चिकित्सकले गर्ने उपचार गर्ने गरेको उजुरी छ।
उनकै क्लिनिकमा विदेशी चिकित्सक डा. शिव शिवाजी सूर्यवंशीलाई काउन्सिलको अनुमति विनै कामका लगाएको अर्को उजुरी पनि परेको थियो। नेपालमा विदेशी चिकित्सकले काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान भए पनि डा. सूर्यवंशीले हेल्दी च्वाइस क्लिनिकमा एक वर्ष अनुमति नलिई काम गरेका थिए। काउन्सिलले डा. सूर्यवंशीलाई दिइएको तलब र डा. उदीपका उपचार सम्बन्धी कागजातहरू लिएर अनुसन्धान अगाडि बढाएको डा. खत्रीले बताए।
यस्तै, डिकस्मो क्लिनिकमा नर्सले ‘स्किन केयर स्पेशलिस्ट’ लेख्ने गरेको र लुम्बिनी डेन्टल क्लिनिकका सञ्चालकले डेन्टल असिस्टेन्ट भएर चिकित्सकले गर्ने उपचार गर्ने गरेको पाइएको थियो।
उता, जोरपाटी पोलिक्लिनिक र कलंकी पोलिक्लिनिकमा आयुर्वेद काउन्सिल र स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका चिकित्सकले ‘सिनियर फिजिसियन’, ‘चाइल्ड एन्ड रिप्रडक्टिभ स्पेशलिस्ट’ लेखेर एलोपेथिक उपचार गर्ने गरेको पाइएको थियो ।
नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका संयोजक डा. खत्री विना दर्ता, विना योग्यता र योग्यताभन्दा बढी उपचार गर्ने/गराउने केही संस्था विरुद्ध उजुरी परेको बताउँछन्। उनका अनुसार विभिन्न गैरचिकित्सकीय संस्थाहरूबाट समेत विभिन्न उपचार र शल्यक्रिया लगायतका उपचार गराएको पाइएकाले अनुगमन थालिएको हो।
मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सक तथा अन्य व्यवसायिक परिषद्मा दर्तावाला स्वास्थ्यकर्मीले आफूले प्राप्त गरेको योग्यताभन्दा बढी वा योग्यताभन्दा बढी विधि वा पद्धतिको प्रयोग गरेमा तिनलाई व्यावसायिक आचारसंहिता बमोजिमको कारबाही हुन्छ।
व्यावसायिक आचरण उल्लंघन गरेमा घटनाको आधारमा निलम्बन, लाइसेन्स खारेज र जरिवाना तिराउने व्यवस्था छ।
त्यस्तै, विना चिकित्सकीय ज्ञान र उपाधि उपचारमा संलग्न भएमा तीन लाख क्षतिपूर्तिदेखि तीन वर्षसम्म कैद हुने र अङ्गभङ्ग वा मृत्यु भएमा फौजदारी अभियोगमा कारबाही हुने कानूनी व्यवस्था छ।
डा. खत्री भन्छन्, “अहिले उजुरी परेका आधारमा अनुगमन शुरू गरेका हौं, अब नियमित अनुगमन गर्छौं।”