पाकिस्तान 'ए' विरुद्धको खेलमा नेपाल नौ रनले पराजित
प्रतियोगितामा कुल आठ टोली प्रतिस्पर्धा गर्दै छन्। नेपाल, भारत, पाकिस्तान र हङकङ समूह ‘ए’ मा छन्। मलेशिया, यूएई, बाङ्लादेश र श्रीलंका समूह ‘बी’ मा छन्।
जारी एसीसी महिला टी ट्वेन्टी इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’ सँग नौ रनले पराजित भएको छ। हङकङमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाइन्। यस्तै कविता जोशीले १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका लागि इन्दु वर्माले तीन विकेट लिइन्। कविता कुँवर, कविता जोशी र सीता राना मगरले २-२ विकेट लिए।
उता, पाकिस्तान ‘ए’ का लागि ब्याटिङतर्फ शवाल जुल्फिकरले २८ रन बनाइन्। फतिमा सानाले १६, सदाफ शामसले १२ र गुल फेरोजाले ११ रन बनाए। अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङतर्फ पाकिस्तान ‘ए’ की तुबा हसन र सइदा अरूब शाहले २-२ विकेट लिए। यस्तै, अनोशा नासिर र उम्मे हानीले १-१ विकेट हात पारे।
अब नेपालले प्रतियोगितामा आफ्नो दोस्रो खेल १५ जूनमा खेल्नेछ। भारत ‘ए’ विरुद्धको उक्त खेलपछि नेपालले १७ जूनमा हङकङ विरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ।
प्रतियोगितामा कुल आठ टोली प्रतिस्पर्धा गर्दै छन्। नेपाल, भारत, पाकिस्तान र हङकङ समूह ‘ए’ मा छन्। मलेशिया, यूएई, बाङ्लादेश र श्रीलंका समूह ‘बी’ मा छन्।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।