दक्षिणएशियामै उपेक्षित जलवायु शिक्षा
तीन वर्षअघि नेपालको शैक्षिक इतिहासमै पहिलो पटक जलवायुको विषय समावेश गरिएको थियो। यद्यपि धेरै बालबालिकामा जलवायु परिवर्तन सम्बन्धी बुझाइ अहिले पनि कमजोर छ।
तापक्रम वृद्धिको प्रभावले हिमाली क्षेत्रका मानिसहरूमा जोखिम बढ्दै छ। यसैबीच, जलवायु परिरवर्तनको प्रभावबारे विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा विद्यालयहरू अलमलमा रहेको, शिक्षक र विज्ञहरूले द थर्ड पोललाई बताएका छन्।
सन् २०१९ को डिसेम्बर महीनामा पहिलो पटक शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले नेपालको शैक्षिक लक्ष्यमा जलवायु शिक्षाको पाठ्यक्रम विकास गरी प्रकाशन गरेको थियो। उक्त पाठ्यक्रमको सिकाइ उद्देश्यमा, नागरिकहरूलाई जलवायु परिवर्तन सम्बन्धी सचेत बनाउनु र प्राकृतिक तथा मानव सिर्जित प्रकोपको सम्भावित जोखिमहरू घटाउन र व्यवस्थापन गर्न सक्षम बनाउनु लेखिएको छ।
त्यसको तीन वर्ष बितिसक्दा पनि जलवायु परिवर्तन सम्बन्धी पर्याप्त पठन सामग्री उपलब्ध नभएको शिक्षाविद् र विद्यालयका शिक्षकहरूले द थर्ड पोललाई बताए।
जलवायु शिक्षामा पाठ्यसामग्रीको अभाव
रमादेवी काफ्ले अर्याल भरतपुर चितवनको श्री आधारभूत विद्यालयकी शिक्षिका हुन्। सामाजिक शिक्षा लगायत विभिन्न विषय पढाउने शिक्षिका अर्याल सरकारले जलवायु परिवर्तन वा अन्य वातावरणीय विषय पढाउनका लागि उपयुक्त मार्गदर्शन वा शैक्षिक सामग्री प्रदान नगरेको बताउँछिन्।
श्री आधारभूत विद्यालय चितवन राष्ट्रिय निकुञ्जको नजिकै पर्छ। निकुञ्ज र वरपरका क्रियाकलापले आदिवासी लगायत स्थानीय समुदायलाई फाइदा पनि पुर्याएको छ र अप्ठ्यारो पनि पारेको छ। विद्यालयमा पढ्ने ८० प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी चेपाङ समुदायका छन्।
“सामाजिक शिक्षाको किताबमा जलवायु परिवर्तन सम्बन्धी एउटा पाठ छ, तर त्यसमा सामान्य जानकारी मात्र छ,” अर्याल भन्छिन्। “पढाइलाई थप प्रभावकारी बनाउन हामीसँग न थप सामग्री छ न तालीम नै पाएका छौं। कहिलेकाहीं यूट्यूबमा हेरेर वा अन्य किताब पढेर पढाउने प्रयास गर्छौं।”
सगरमाथाको आधारशिविर रहेको जिल्ला सोलुखुम्बुका शिक्षकहरूले पनि बढ्दो तापक्रमले हिमाली क्षेत्रमा पारिरहेको समस्याबारे विद्यार्थीहरूलाई बुझाउन आफूहरूलाई गाह्रो भएको द थर्ड पोललाई बताए।
“राजधानी काठमाडौंबाट धेरै टाढा भएर हो कि किन हो हामीमाथि त्यति ध्यान पुगेको छैन,” सोलुखुम्बु जिल्लामा अवस्थित खुमजुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवाङ दोर्जी बाइङले भने। “यहाँ सरकारको तर्फबाट जलवायु शिक्षा सम्बन्धी कुनै पनि कार्यक्रम आएको मलाई सम्झना छैन।”
“सरकारी अधिकारी र विज्ञहरू हाम्रो क्षेत्र अर्थात् हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पार्ने गम्भीर असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चासो लिएर कुरा गर्छन्। तर जलवायु परिवर्तनको प्रभाव र अनुकूलनको बारेमा थप थाहा हुनुपर्ने यहींका बालबालिकालाई सूचित गर्न खासै चासो दिइएको छैन,” बाइङ भन्छन्।
करीब १२ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरू पढ्ने कक्षा ७ र ८ का लागि संघीय सरकारले बनाएको पाठ्यक्रम अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी छुट्टै पाठ पढाइन्छ। तर त्यसपछि १७ वर्षको उमेरसम्म वा माध्यमिक शिक्षाको अन्तिम तह कक्षा १२ पुग्दासम्म जलवायु परिवर्तन सम्बन्धी थप अध्ययनका लागि यस पाठ्यक्रमले कुनै पाठ्यपुस्तक तोकेको छैन।
‘पाठ्यपुस्तक नै सबैथोक होइन’
पाठ्यक्रम विकास केन्द्रले जलवायु परिवर्तन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थापनको विषयलाई सम्बोधन गर्ने गरी वर्तमान पाठ्यक्रमको विकास गरेको केन्द्रका एक प्रतिनिधिले बताए।
“किताब मात्रै सबै थोक होइन,” पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत बाबुराम ढुंगाना भन्छन्। “सम्बन्धित सामग्री र सूचना खोजेर विद्यार्थीलाई पढाउने जिम्मा सम्बन्धित शिक्षकको हो।”
सोलुखुम्बु विद्यालयका प्रधानाध्यापक बाइङका अनसार सूचनाको यो खाडललाई केही हदसम्म गैरसरकारी संस्थाहरूले पुरेका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र हिमालयन ट्रस्ट नेपालले जलवायु परिवर्तनबारे विद्यार्थीहरूलाई कसरी बुझाउने भनी शिक्षकहरूलाई तालीम दिएका छन्।
एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईका अनुसार समितिले वातावरण संरक्षणबारे शिक्षक र विद्यार्थीहको बुझाइ वृद्धि गर्ने काम गर्छ। “विद्यार्थी सक्रिय छन् र आफ्नो क्षेत्रमा के भइरहेको छ र आफूले के योगदान गर्न सकिन्छ भनेर जान्न इच्छुक छन्। तर स्रोत सीमित भएकाले सहकार्य पनि सीमित छ,” राई भन्छन्।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत ढुंगाना भने जलवायु परिवर्तन सम्बन्धी शिक्षामा शिक्षकलाई सहयोग पुर्याउन पर्याप्त सामग्री छैन भन्ने तर्कसँग सहमत छैनन्। “एउटा शिक्षा दिग्दर्शन छ र शिक्षकका लागि तालीमको पनि व्यवस्था छ,” ढुंगाना भन्छन्। “स्रोत सामग्रीहरू पर्याप्त छन् र जलवायु परिवर्तन सम्बन्धी पाठहरू पनि पर्याप्त छन्।”
तर, अर्याल लगायत शिक्षक कक्षाकोठामा प्रयोग गर्ने पाठ्यसामग्रीको लागि यूट्यूब लगायतमा खोज्नुपर्ने बाध्यता रहेको बताउँछन्।
जलवायु परिवर्नबारे धेरै विद्यार्थी अनभिज्ञ
द थर्ड पोलले विद्यार्थीसँग प्रत्यक्ष कुरा गर्दा उनीहरूबाट आएको जवाफले वर्तमान पाठ्यक्रम अन्तर्गत जलवायु परिवर्तनको विषयले शिक्षणमा पाउने स्थान सम्बन्धी प्रश्न उठाएको छ।
ललितपुरको यूनाइटेड स्कूलमा कक्षा ८ मा पढ्ने १३ वर्षीया छात्रा ओजस्वी शाक्य वातावरणीय विषयमा जान्न इच्छुक छिन्। “हामीलाई सास फेर्न स्वच्छ हावा र पिउन सफा पानी चाहिन्छ। त्यसैले वातावरण जोगाउनु हामी सबैको दायित्व हो,” उनी भन्छिन्। तर, शाक्यले कक्षाकोठामा वातावरणबारे धेरै सुनेकी छैनन्। “हामीले त्यस विषयमा केही सिकेका छैनौं तर जान्न चाहन्छौं।”
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले दक्षिणएशियाका आठ देशमा १५ देखि २४ वर्ष उमेर समूहका झन्डै २६ हजार सहभागीमाझ सन् २०२० मा एक सर्वेक्षण गरेको थियो। सर्वेक्षणले जलवायु शिक्षा उपेक्षामा रहेको पत्ता लगायो।
पाकिस्तान, भारत, अफगानिस्तान र श्रीलंकाका १० मध्ये एक सहभागीले जलवायु परिवर्तनबारे केही पनि नसुनेको बताए। जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धिको व्याख्या गर्न सक्ने सबैभन्दा धेरै विद्यार्थी (सहभागिताको ५० प्रतिशत) बाङ्लादेशमा थिए भने सबैभन्दा कम (२७ प्रतिशत) पाकिस्तानमा थिए। नेपालका चार हजार १९७ सहभागीमध्ये ३४ प्रतिशतले मात्रै जलवायु परिवर्तन र भूमण्डलीय तापमान वृद्धिको व्याख्या गर्न सकेका थिए।.
“गणित, अंग्रेजी लगायत विषय अनिवार्य छन् तर पृथ्वीमा चराचर जीवनबारे कुरा गर्ने विषयलाई पाठ्यक्रममा स्थान छैन,” काठमाडौंकी संरक्षण तथा शिक्षा अभियानकर्ता सञ्जीवनी योञ्जन श्रेष्ठ भन्छिन्।
योञ्जनको संस्था वन्यजन्तु संरक्षण नेपालले नेपाल प्रकृति पाठशाला नामक वातावरणीय शिक्षा कार्यक्रमको सञ्चालन गर्छ। कार्यक्रमले मुलुकमा प्राकृतिक स्रोतको परिचालन गर्दा जिम्मेवार तरीकाले गर्न प्रोत्साहित गर्ने गरी एक हजारभन्दा बढी विद्यालयमा काम गरेको छ र १५० जति शिक्षक तालीम सञ्चालन गरेको छ।
“नयाँ पाठ्यक्रम आउनुअघि १४ र १५ वर्ष उमेर समूहले पढ्ने कक्षा ९ र १० को लागि वातावरण, जनसंख्या र स्वास्थ्य नामको अनिवार्य विषय थियो तर अहिले छैन,” उनले औंल्याइन्। सन् २०२०/२१ मा पाठ्यक्रम विकास केन्द्रले १४ र १५ वर्ष उमेर समूहले पढ्ने कक्षा ९ देखि १२ को लागि वातावरण विज्ञान नामको एच्छिक विषय जारी गर्यो।
पाठ्यक्रम विकास केन्द्रमा सामाजिक शिक्षाका विषय प्रमुख हेमराज खतिवडाले द थर्ड पोलसँग भने, “छुट्टै विषय नभए पनि विज्ञान र अंग्रेजी जस्ता विषयमा जलवायु परिवर्तनलाई समावेश गरिएको छ। छुट्टै पढ्न मन लाग्यो भने ऐच्छिक विषय छँदै छ।”
जलवायु परिवर्तन सम्बन्धी सरकारको एक मात्र समर्पित निकाय वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको नेतृत्व गर्ने बुद्धिसागर पौडेल भन्छन्, “पर्यावरण शिक्षाबारे छलफल थोरै हुन्छ भन्ने कुरा म स्वीकार गर्छु। समन्वयमा अलिकति कमजोरी छ। हामीले सम्बन्धित मन्त्रालयले हेर्छ भन्ने ठान्छौं, तर उनीहरूले हामीले हेर्छौं भन्ने ठान्छन्।”
स्थानीय स्तरमा जलवायु शिक्षा
“जलवायु र पर्यावरण शिक्षाबारे हामीले अझै धेरै काम गर्नुपर्छ किनभने भविष्यका लागि यही नै सबैभन्दा दिगो लगानी हो,” वातावरण अभियानकर्मी सञ्जीवनी योञ्जन श्रेष्ठ भन्छिन्। “हामीले अहिले गरेभन्दा धेरै गर्न सक्छौं र त्यसका लागि हामीले स्थानीय सामग्रीको प्रयोग गर्ने र सम्बन्धित स्थानमा उपयुक्त हुने प्रकारका तालीम प्रदान गर्न सक्छौं।”
स्थानीय परिवेश सुहाउँदो सिकाइ हुनुपर्ने योञ्जनको तर्क छ। विद्यार्थीलाई तिनीहरू वरिपरिको वातावरण वा पर्यावरणको खोजी गरी सिकाउने र यसैको आधारमा विश्वमा भइरहेको परिवर्तनबारे बताउनुपर्ने उनको तर्क छ। सन् २०१० मा समाजसेवी तथा शिक्षासेवी म्यागी डोयनले सुर्खेतमा स्थापना गरेको कोपिला भ्याली स्कूलमा यही विधि अपनाइन्छ। डोयन भन्छिन्, “हामी विद्यार्थीलाई बाहिर प्रकृतिमा गएर त्यसैबाट सिक्न लगाउँछौं, अनि हाम्रा शिक्षकहरू उनीहरूलाई सहयोग गर्छन्।”
जलवायु शिक्षामा नेपालको जरुरी आवश्यकता सम्बोधन गर्न सरकारले बनाएको पाठ्यक्रम पर्याप्त नभएको कुरामा डोयन सहमत छिन्।
“विद्यार्थीलाई साँच्चै प्रकृतिप्रति जिम्मेवार बनाएर हुर्काउने हो भने उनीहरूलाई आफू वरिपरिको वातावरणको अध्ययन गर्न दिनुपर्छ,” उनी भन्छिन्।
“सबैजसाे शैक्षिक संस्थाले पर्यावरणीय विषयबारे डर देखाइरहेका छन्। बालबालिकाहरू प्रकृतिसँग डराउन थालेका छन्,” डोयन भन्छिन्, “हामी वयस्क प्रकृतिसँग कसरी घुलमिल हुन्छौं र प्रकृतिलाई कसरी सहयोग पुर्याउन सक्छौं भनी देखाउनुपर्छ। यसले उनीहरूलाई प्रोत्साहित गर्छ र प्रकृतिलाई प्रेम गर्न सिकाउँछ र उनीहरूले भविष्यमा यसको रक्षा गर्न सक्छन्।”
(द थर्ड पोलमा “के नेपालले विद्यालयहरूमा जलवायु शिक्षा दिन पर्याप्त प्रयास गरेकाे छ?” शीर्षकमा प्रकाशित लेखबाट साभार गरिएको।)