बालकृष्ण खाणको पक्षमा बहस गर्न जिल्ला अदालतमा वरिष्ठ अधिवक्ताहरूको लर्को
‘ठूला नेता’ कोमा बहस गर्दा आफ्नो नाम चम्किने, नेतासँग सम्बन्ध विस्तार हुने तथा चल्तीको मुद्दामा वकालत गरेको भन्दै वृत्तिविकास सहज हुने भएकाले यस्ता मुद्दामा वकीलहरूको लर्को लाग्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानले शुरूदेखि नै वकीलहरूलाई अनुरोध गरेको विषय हो, “कृपया विषयवस्तुमा केन्द्रित रहेर नदोहोर्याई बहस गरिदिनुहोला।”
थुनछेक बहस चाँडो सकेर बाटो खोलिदिने आफ्नो चाहना रहेको न्यौपान इजलासमा समेत वेलावेला दोहोर्याउँछन्। जेठ २९ गतेसम्म बहस सकाउने उनको लक्ष्य थियो। तर, त्यो पूरा भएन। पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आज मात्रै बहस हुनेछ।
खाणमाथि गृहमन्त्री हुँदा अघिल्लो सरकारले निर्णय नगरी राखेको भुटानी शरणार्थीको समस्याको दिगो हल खोज्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गर्दा गडबडी गरेको आरोप छ। संगठित अपराधको गिरोहमा खाणको भूमिका निर्णय कार्यान्वयनकर्ताको रहेको अभियोग छ।
उनीमाथि लागेको अभियोग प्रतिवाद गर्न २२ जना वकीलले वकालतनामा लेखाएका छन्। सबैलाई बहस गर्न समय दिन कठिन रहेको न्यायाधीशले बारम्बार भनिरहे पनि कति जनाले बहस गर्छन् भन्ने यकीन छैन।
खाणको पक्षबाट नेपाली कांग्रेस निकट प्रजातान्त्रिक कानून व्यावसायी संघमा आबद्ध वकीलहरूले बहस गर्दै छन्। त्यसमध्ये केही वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ताहरू समेत छन्।
पूर्व महान्यायाधिवक्ताहरू खम्मबहादुर खाती, महादेव यादव, रमनकुमार श्रेष्ठले खाणको प्रतिरक्षा गर्नेछन्। उनीहरू सबै वरिष्ठ अधिवक्ता समेत हुन्। त्यस्तै, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरेले पनि खाणको पक्षमा बहस गर्न नाम टिपाएका छन्।
जितेन्द्रबहादुर पाण्डे, नृसिंहकुमार कार्की, मंगलकुमार शिल्पकार, जनकराज श्रेष्ठ, अनु भट्टराई, शंकरबहादुर केसी, निरुजा चापागाईं, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देवबहादुर महत, विश्वनाथ खनाल, एगराज पोखरेल, सुरेन्द्र महतो, पंकज कर्ण, ललितबहादुर बस्नेत र योगेन्द्रबहादुर अधिकारीले पनि खाणको पक्षमा बहस गर्नेछन्।
‘ठूला नेता’ को मा बहस गर्दा आफ्नो नाम चम्किने, नेतासँग सम्बन्ध विस्तार हुने तथा चल्तीको मुद्दामा वकालत गरेको भन्दै वृत्तिविकास सहज हुने भएकाले यस्ता मुद्दामा वकीलहरूको लर्को लाग्छ।
यसअघि २०७७ र २०७८ को संसद् विघटन मुद्दामा समेत बहस गर्ने वकीलहरूको भीड सर्वोच्च अदालतमा लागेको थियो। वकीलहरूको लर्को लागेपछि सर्वोच्चको संवैधानिक इजलासले अधिवक्ता र वरिष्ठ अधिवक्ताका लागि समयसीमा नै तोकेको थियो। निर्धारित समय बाहेकको बहस इजलासले नसुन्ने नीति बनाएको थियो।
जिल्ला अदालतका मुद्दामा वरिष्ठ अधिवक्ताहरू बहसका लागि जाने अभ्यास पेशागत रूपमा अशोभनीय र अमर्यादित मानिए पनि शरणार्थी प्रकरणको मुद्दामा वरिष्ठ अधिवक्ताहरूको ठूलो समूह जिल्ला अदालतमा बहसका लागि ओर्लिएको छ।
खाणका पक्षमा मात्रै आधा दर्जनभन्दा बढी वरिष्ठ अधिवक्ता बहसमा छन्। त्यस्तै, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका तर्फबाट वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता सुशील पन्तले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठ ओर्लिएका थिए।