एम्बाप्पेले पीएसजीसँग सम्झौता नवीकरण नगर्ने, पीएसजीले पनि सित्तैमा अर्को क्लब जान नदिने
पीएसजीसँग एम्बाप्पेको सम्झौता जून २०२४ सम्मको छ। र, बीबीसीका अनुसार एक वर्षपछि सित्तैमा गुमाउनुभन्दा यो ग्रीष्म सिजनमै एम्बाप्पेलाई बेच्ने पीएसजीले तयारी गरेको छ।
फ्रान्सका चर्चित फूटबलर किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता नवीकरण नगर्ने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एम्बाप्पेले सोमबार पीएसजीका पदाधिकारीलाई एक औपचारिक पत्र लेख्दै यसबारे जानकारी दिइसकेका छन्।
मिरर फूटबलका अनुसार एम्बाप्पेले उक्त पत्र क्लबका पदाधिकारीलाई दिनुपूर्व नै फ्रेन्च अखबार एल इक्विपेले ‘न्यूज ब्रेक’ गरिसकेको थियो। यसपश्चात् लिग वान विजेता क्लब पीएसजी क्रुद्ध भएको थियो। जबकि, पीएसजी एम्बाप्पेसँगको सम्झौता नवीकरण हुनेमा आशावादी थियो। पीएसजीले जुलाई ३१ सम्मको म्याद दिएर एम्बाप्पेलाई सन् २०२५ सम्मका लागि सम्झौता गर्न प्रस्ताव समेत गरेको थियो।
अब पीएसजीसामु दुई वटा विकल्प छन्- २४ वर्षीय स्टार फर्वार्डलाई बेच्ने या ‘फ्री ट्रान्सफर’ मा उनलाई क्लब छोड्न दिने। सामान्यतया फूटबलर एउटा क्लबबाट अर्कोमा सर्दा उसको नयाँ क्लबले पुरानो क्लबलाई क्षतिपूर्ति बापत रकम (ट्रान्सफर फी) बुझाउनुपर्छ। तर, उक्त खेलाडीको पुरानो क्लबसँगको सम्झौता सकिन ६ महीनाभन्दा कम समय बाँकी भएमा, ऊ आफ्नो सम्भावित नयाँ क्लबसँग वार्ता गर्न स्वतन्त्र हुन्छ र नयाँ क्लबले उसलाई अनुबन्ध गर्दा पुरानो क्लबलाई कुनै रकम बुझाउनु पर्दैन।
पीएसजीसँग एम्बाप्पेको सम्झौता जून २०२४ सम्मको छ। र, बीबीसीका अनुसार एक वर्षपछि सित्तैमा गुमाउनुभन्दा यो ग्रीष्म सिजनमै एम्बाप्पेलाई बेच्ने पीएसजीले तयारी गरेको छ।
यो कदमले चर्चित क्लब रियल मड्रिडलाई भने सतर्क बनाउनेछ। किनकि, लामो समयदेखि मड्रिडले एम्बाप्पे भित्र्याउन खोजिरहेको छ। त्यसमाथि अहिले अर्का फ्रेन्च खेलाडी तथा रियल मड्रिडका स्ट्राइकर करीम बेन्जिमा मड्रिड छोडेर साउदी अरेबियन क्लब अल इत्तिहादमा अनुबन्ध भइसकेका छन्। यसकारण पनि मड्रिड स्ट्राइकरको खोजीमा छ। यद्यपि उक्त रिक्त स्थानका लागि इङ्ल्यान्डका कप्तान तथा टोटनह्याम क्लबका खेलाडी ह्यारी केन प्रमुख दाबेदार हुन्।
एम्बाप्पे सन् २०१७ मा पीएसजीमा अनुबन्धित भएका थिए। पीएसजीका लागि उनले २६० खेलमा २१२ गोल गरेका छन्।
हालसालै अर्जेन्टिनी विश्व प्रसिद्ध फूटबलर लियोनल मेस्सीले पनि पीएसजी छोडेका थिए। उनी अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामी जाने निश्चित भएपछि एम्बाप्पे पीएसजी छोड्ने दोस्रो ‘हाई प्रोफाइल’ खेलाडी हुनेछन्।
यता, मेस्सी भित्र्याउन नसकेपछि साउदी अरेबियन क्लब अल हिलालले ब्राजिलियन स्ट्राइकर तथा पीएसजीका अर्का सुपरस्टार खेलाडी नेयमार जुनियरलाई मोटो रकममा अनुबन्ध गर्न खोजेको समाचार पनि आइरहेको छ।