‘सबै सामुदायिक वनले नराम्रो गरेका छैनन्’
वन विभागले प्रदान गर्ने गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७६ बाट ३१ असारमा नवलपुरको देवचुली नगरपालिकास्थित धुसेरी सामुदायिक वन पुरस्कृत भयो। उक्त वनको उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्की भन्छन्, “आम्दानीको ३५ प्रतिशत रकम सामाजिक काममा खर्चन्छौं।”
धुसेरी सामुदायिक वनले पुरस्कार पाउने के काम गरेको थियो ?
वनको संरक्षण र दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण र समूहमा सुशासन कायम राख्न सफल भएका कारण यो पुरस्कार प्राप्त गरेका हौं । यसका साथै अतिक्रमण हटाएर वनको क्षेत्रफल विस्तार गर्यौं ।
वन अतिक्रमणको अवस्था कस्तो छ ?
जम्मा १८ हेक्टर वन क्षेत्र अतिक्रमित थियो । त्यसमध्ये यस वर्ष धुसेरी र आँपचौरमा गरी पाँच हेक्टर क्षेत्रको अतिक्रमण हटाउन हामी सफल भयौं ।
तपाईंहरूको वनको बजेट कति छ ?
हाम्रो कुल बजेट रु.१ करोड ८७ लाख छ । आम्दानीको स्रोत वन पैदावार बिक्री बापत प्राप्त हुने रकम हो । उपभोक्ता समूहले ट्याक्टर पनि संचालन गरेकाले त्यसबाट पनि केही आम्दानी हुन्छ ।
यति धेरै आम्दानी गर्ने उपभोक्ता समूहले अन्य क्षेत्रमा सहयोग गर्दैन ?
हामीले आम्दानीको ३५ प्रतिशत रकम सामाजिक काममा खर्चने गरेका छौं । यस अन्तर्गत सौर्य ऊर्जा, सडकबत्ती, छात्रवृत्तिमा सहयोग गर्छौं ।
उपभोक्ता समूहभित्र घुम्ती कोष कार्यक्रम संचालन गरेर गरीब तथा विपन्न परिवारलाई सघाइरहेका छौं ।
कोषबाट समूहमा रहेका विपन्न परिवारलाई विना ब्याज रकम उपलब्ध गराउँछौं । त्यसबाट उहाँहरूले आयमूलक काम गर्नुहुन्छ र निश्चित समयपछि रकम फर्काउनुहुन्छ ।
सामुदायिक वनहरूले काठको व्यापार गर्ने गरेको आरोप छ नि !
सबैलाई एउटै डालोमा राखेर हेर्नुहुँदैन । कतिपयले त्यस्तो गलत काम गरेका होलान् । तर सबैले गरेका छैनन् ।
हामीले वैज्ञानिक वन व्यवस्थापन गर्दा प्राप्त भएको काठ समूहभित्र बिक्री–वितरण गर्ने र बढी भएको काठ बाहिर बिक्री गर्ने गरेका छौं ।