काठमाडौंका दुई वटा अस्पतालमा महानगरले लगायो ताला
काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालमा ताला लगाएको छ। दर्ता विनै सञ्चालित वडा नं. ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नं. ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा महानगरको जनस्वास्थ्य विभागले ताला लगाएको हो।
काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा दिने अस्पताल समेत दर्ता नभएको पाइएपछि बन्द गराएको बताए।
महानगरले ताला लगाएका दुवै अस्पताल १५-१५ शय्याका छन्। चाइनिज पिपुल्समा अक्युपन्चर र पाइल्सको उपचारका लागि मानिस आउने गरेका थिए। सहयात्री अस्पतालमा गर्भपतन सेवा दिने गरिएको विभागका प्रमुख पौडेलले बताए।