सैन्य कारबाहीमा ड्रोन प्रयोगले थप्दै चुनौती
ड्रोनको प्रयोगका लागि विश्व जगत्लाई नयाँ र स्थायी नियम चाहिन्छ जसले ड्रोन प्रयोगको नियमन गरोस् र ड्रोन आक्रमणका परिणामहरू पारदर्शी हुन्।
गत ३० मेमा कम्तीमा आठ वटा ड्रोनले रूसको राजधानी मस्कोमा आक्रमण गरे। त्यस आक्रमणमा परी केही भवनमा क्षति पुग्यो भने केही सर्वसाधारणको ज्यान पनि गयो।
त्यसको जवाफमा रूसले पनि युक्रेनका बस्तीहरूमा आक्रमण गर्दा सर्वसाधारणको ज्यान गयो। युक्रेनले मस्कोमा भएको आक्रमणमा आफू ‘प्रत्यक्ष’ जिम्मेवार नभएको दाबी गरे पनि रूसी सरकारले भने यो आक्रमणलाई ‘आतङ्ककारी हमला’ को संज्ञा दियो।
युद्ध शुरू भएपछि रूस र युक्रेन दुवैले निशाना लगाउन, बम खसाउन र अन्य प्रयोजनका लागि ड्रोनको प्रयोग गरिरहेका छन्। अन्य युद्धमा पनि अहिले ड्रोनको प्रयोग भइरहेको छ।
यद्यपि विनाशकारी अभ्यासहरूमा मात्र ड्रोनको प्रयोग सीमित छैन। सामान पुर्याउन, मौसमको अनुमान गर्न लगायतका अन्य काममा पनि यसको प्रयोग उत्तिकै छ।
युद्धमा प्रयोग हुने सैन्य ड्रोन भने तीभन्दा फरक हुन्। यी क्षमता र आकारका हिसाबले फरक फरक हुन्छन्।
जनकूटनीति र विदेश नीतिका अध्येता एवं अमेरिकाका पूर्व सहायक विदेशमन्त्री भएका हिसाबले मानिसहरूले ड्रोनबारे थाहा पाउन महत्त्वपूर्ण छ भन्ने ठान्छु।
बढ्दो होड
युद्धको समयमा ड्रोन प्रयोग गर्ने देशमध्ये एक हो, अमेरिका। आतङ्कवादीले पनि ड्रोनको प्रयोग गर्ने गरेका छन् किनभने एकातिर यी तुलनात्मक रूपमा सस्ता हतियार हुन् भने अर्कातिर यसले मानव बस्तीमा उच्च नोक्सान पुर्याउँछ।
सन् २०२० मा ५० लाख ड्रोनको ढुवानी भएको थियो। सन् २०२५ सम्म यो संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ।
सन् २०२१ देखि २०२२ को बीचमा विश्वभरमा ड्रोनको बिक्री ५७ प्रतिशतले बढेको छ। पछिल्ला केही वर्षमा ड्रोनको खरीद बढिरहँदा यसका खरीदकर्ताका लागि सीमा भने सीमित छन्, जसले अनियन्त्रित पहुँच र उपयोगिता बढाइरहेको छ।
अर्को देश वा ड्रोनको व्यवस्थापन गरिरहेको अन्तर्राष्ट्रिय संस्थालाई कुनै पनि जवाफ नदिईकन हरेक देश कहिले र कहाँ ड्रोनको प्रयोग गर्ने भन्ने निर्णय गर्न स्वतन्त्र छन्।
फरक उद्देश्य
ड्रोनको प्राप्ति र प्रयोगका सम्बन्धमा हरेक देशका आफ्नै खाले स्वार्थ छन्। चीनले खासगरी गुप्त जासूसीका लागि अत्यन्त परिष्कृत ड्रोन प्रयोग गरिरहेको छ। खासगरी समुद्र र दक्षिण चिनियाँ सागरका विवादित टापुहरूमा यसको प्रयोग भइरहेको छ। ड्रोनमा चीनको क्षमता बढ्दै जाँदा अमेरिका लगायतका देश पनि यस प्रविधिमा थप लगानी गर्न उत्साहित छन्।
टर्कीको सेनासँग एकदमै परिष्कृत ड्रोन ‘बायरक्तर टीबी-२’ छ जसले लेजर नियन्त्रित बम बोक्न सक्छ। आकार भने निकै सानो छ, एउटा ट्रकमा अटाउन सक्ने।
यमन र लिबियामा युद्ध भइहाले प्रयोग गर्न भनेर संयुक्त अरब इमिरेट्सले चीन र टर्कीबाट ड्रोन खरीद गर्छ।
अर्कोतर्फ हालै उत्तर कोरियाले गरेको ड्रोन प्रयोगलाई जवाफ दिन असफल भएपछि दक्षिण कोरियाले विशेष ड्रोन युनिट शुरू गरेको छ। डिसेम्बर २०२२ मा उत्तर कोरियाले दक्षिण कोरियातिर पाँच वटा ड्रोन उडाएको थियो। त्यसको जवाफ दिन कोरियाले आक्रमण गर्ने चेतावनी दिंदै आफ्ना लडाकू जेटहरू उडाउनुपर्यो।
छैन नियम
सैन्य ड्रोन भएका देशहरूले अन्तर्राष्ट्रिय सहमतिमा आधारित नियम परिपालन गर्नुको साटो आफ्नै नियम पछ्याइरहेका छन्। अन्तर्राष्ट्रिय कानूनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आक्रमणको अनुमति नदिंदासम्म वा आत्मरक्षाका लागि बाहेक अन्य अवस्थामा सशस्त्र शक्ति प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
तर, पूर्ण युद्ध नगरीकन आतंकवाद विरोधी कारबाही, जासूसी र अन्य आत्मरक्षाका लागि आवश्यक नपर्ने कारबाहीका लागि पनि ड्रोन वैध रूपमै प्रयोग गर्न सकिन्छ। जसले सैन्य टकरावतिर लैजान्छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय आकाशमा ड्रोनको प्रयोगबारे नियम निर्माण गर्न गाह्रो छ। २० वर्षदेखि विज्ञहरूले हातहतियार सम्बन्धी अन्तर्राष्ट्रिय सहमति निर्माणको प्रयास गरिरहेका छन्। केही देशले सन् २०१६ को संयुक्त राष्ट्रसंघीय अनौपचारिक सहमतिलाई स्वीकार पनि गरेका छन्, जसले गैरमानवीय हवाई सामग्रीको आयात-निर्यातमा कम्तीमा औपचारिक कागजातको आवश्यकता स्वीकार गर्छन्।
तर, प्रविधिको विकासलाई समेट्ने गरी गम्भीर, विस्तृत मानक र कानूनको विकाससम्म यी प्रयत्न पुग्न सकेका छैनन्। यस्तो नहुनुका केही कारण छन्। आफ्नो सार्वभौमिकता सुरक्षित राख्न सरकारहरू ड्रोनको तथ्याङ्क सार्वजनिक गर्न चाहँदैनन्। त्यस्तै, उनीहरू आफ्नो प्रविधिको नक्कल नहोस् भन्ने चाहन्छन्। साथै ड्रोन व्यापारमा आफ्नो बजार सुरक्षित राख्न चाहन्छन्।
अमेरिका र ड्रोन
इराक, अफगानिस्तान, सिरिया र अन्य क्षेत्रमा यसको प्रयोग गरेसँगै अमेरिका ड्रोन युद्धलाई कसरी सन्तुलनमा राख्ने भनेर संघर्षरत छ। अमेरिकाले ड्रोन प्रयोग गरेर सन् २०२२ मा अलकायदाका एक जना शीर्ष नेताको हत्या गरेको थियो।
तर, ड्रोन आक्रमणका अन्य उदाहरण पनि छन् जसले अकल्पनीय क्षति पुर्याएका छन्। सन् २०२१ मा न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले इस्लामिक स्टेटको बम बोकेको शङ्का गरेर एउटा गाडीमा ड्रोन आक्रमण गर्दा १० जना बालबालिकाको निधन भयो। अमेरिकी सरकारले त्यस्तो भएको हुन सक्ने टिप्पणी गरेको थियो।
अन्य देशहरूमा ड्रोनको प्रयोगलाई अमेरिकी जनताले कसरी लिइरहेका छन् भन्नेबारे निकै कम अनुसन्धान भएका छन्। त्यस्ता अनुसन्धानले यसको सैन्य प्रयोगलाई सीमित गराउन सघाउँथे।
ड्रोनको खतरा
ड्रोनले वास्तवमै खतरा सिर्जना गरेको छ। ड्रोनको प्रसार, निर्यात, आयात र प्रयोगमा कुनै पनि नियम विना कुनै पनि देशको सेनाले ड्रोन प्रयोग गर्न छूट पाउने एवं निरन्तर विकसित यस प्रविधिबारे छलफल गर्ने कुनै ठूला मञ्च नहुनु असुरक्षित छ भन्नेमा म लगायत थुप्रै ड्रोन विज्ञहरू सहमत छौं।
थुप्रै ड्रोन एकअर्कासँग सम्पर्क गर्न र एउटै लक्ष्यका लागि सञ्चालित हुन सक्छन्। गोलोबाट छुटेको अरिंगालको झुन्ड जस्तै ड्रोनहरू स्वायत्त सैन्य दस्ता बन्न सक्छन्।
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको विकास र अझ परिष्कृत मानवहीन हवाई सामग्रीको निर्माणसँगै ड्रोन सेकेन्डभरमा गति, उचाइ र लक्ष्य बदल्न सक्ने भएका छन्। अचानक आक्रमण सम्भव भएको छ।
खासगरी युद्धभूमिमा ड्रोनको दिशा अर्को जटिलता बन्न पुगेको छ। युक्रेनी र रूसी सेना ड्रोन आक्रमण कहाँबाट भइरहेको छ भन्ने जान्न चाहन्छन्। त्यो मेसो पाउन भने कठिन छ, खासगरी रातिपख किनभने ड्रोन निकै द्रुत गतिमा उड्ने गर्छन्।
मेरो दृष्टिकोणमा ड्रोनको प्रयोग सम्बन्धी विश्व जगत्लाई नयाँ र स्थायी नियम चाहिन्छ जसले ड्रोन प्रयोगको नियमन गरोस् र ड्रोन आक्रमणका परिणामहरू पारदर्शी हुन्।
(द कन्भरसेशनमा ३१ मेमा प्रकाशित लेखको भावानुवाद।)