प्यूठानमा कार दुर्घटना, स्वर्गद्वारी दर्शन गरेर फर्केका आठ जनाको मृत्यु
प्यूठानको भिंग्री नजिकै कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केका यात्रु चढेको कार स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिंग्रीमा दुर्घटना भएको हो। लु १ च ६३४५ नम्बरको कार सडकबाट तल भीरमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुुसार दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। चार बालबालिका सहित कारमा सवार सबैको मृत्यु भएको खड्काले बताए।
दुर्घटनामा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ का ४० वर्षीय गोविन्द शाह, उनकी पत्नी ३० वर्षीया राधा नेपाली र छोरा नौ वर्षीय आदित्य शाहको ज्यान गएको छ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-१५ की ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र नौ वर्षीय विकास पोख्रेलको पनि दुर्घटनामा ज्यान गएको छ। एक बालकको सनाखत हुन बाँकी रहेको डीएसपी खड्काले बताए।