मनसुन भित्रिन अझै केही दिन लाग्छ: मौसम विभाग
नेपालमा मनसुनी वायु प्रवेश गर्न अझै केही दिन लाग्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागले मनसुनका सम्बन्धमा सोमबार जारी गरेको विज्ञप्तिमा नेपालको पूर्वी भेगमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो। तर, यो वर्ष मनसुनी प्रणाली ढिला सक्रिय भएका कारण मनसुन भित्रिन ढिला हुने देखिएको छ। विभागले मनसुनी प्रणाली भारतको उत्तरपूर्वी भूभाग, बाङ्लादेश र भुटानसम्म आइपुगेको र नेपालको कोशी प्रदेशमा आइपुग्न केही दिन कुर्नुपर्ने जनाएको छ।
नेपालमा मनसुनी वायु पूर्वी क्षेत्रबाट प्रवेश गरेर क्रमशः पश्चिमतिर विस्तार हुँदै जान्छ। पूर्वी भागबाट पश्चिमसम्म मनसुनी वायु ढाकिन करीब एक साता लाग्छ।
जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा औसतभन्दा थोरै पानी पर्ने अनुमान गरेको छ। नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत पानी मनसुनका चार महीनामा पर्छ। आकाशेबाली निर्भर नेपालको धान खेतीका लागि मनसुनी वर्षाको महत्त्व निकै ठूलो छ।