अर्थमन्त्रीको प्रस्टीकरण- गोरखा, डडेल्धुरा र नुवाकोटमा विनियोजित बजेट धेरै होइन
अर्थमन्त्री प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम विनियोजन गरिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महतले तीन जिल्लामा विनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरेका हुन्। “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पूँजीगततर्फ कुल १२३ अर्ब विनियोजन भएको छ। त्यसैले तीन जिल्लामा छुट्याएको रकम ठूलो होइन,” उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र रहेको गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेल्धुरा र अर्थमन्त्री महतको निर्वाचन क्षेत्र रहेको नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै सांसदहरूले प्रश्न गरेका थिए।
त्यस्तै, अर्थमन्त्री महतले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको बताए।
उनले मधेश प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको दाबी गरे। “पूर्व-पश्चिम राजमार्ग, पथलैया-वीरगन्ज करिडोर, चन्द्रपुर-गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहर लगायत सिंचाइ आयोजना लगायत मधेश प्रदेशलक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ,” उनले भने।
अर्थमन्त्री महतले तराई मधेशलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको बताउँदै विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजना मधेश प्रदेशमै सञ्चालित रहेको उल्लेख गरे। शहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेश प्रदेशमा विनियोजन भएको उनको भनाइ थियो।
मधेश प्रदेशमा ठूलो जनसंख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ। प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करीब १५ प्रतिशत मधेश प्रदेशमा गएको उनको भनाइ थियो।