विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौं: अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन पाँच वर्गमा छुट्याएर कर लगाएको बताएका छन्।
प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने बित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको जिकिर गरे।
यसअघि विद्युतीय सवारीसाधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो। जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसूल, १०० देखि २०० किलोवाटसम्मका ३० प्रतिशत भन्सार महसूल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
साथै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार महसूल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने र ३०० किलोवाटभन्दा माथिका सवारीसाधनमा ६० प्रतिशत भन्सार महसूल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
अब ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसूल लाग्नेछ। साथै, ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार महसूल र १० प्रतिशत अन्तःशुल्क लाग्ने र १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसूल र २० प्रतिशत अन्तःशुल्क लाग्नेछ।
त्यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा लागि ४० प्रतिशत भन्सार महसूल र ४५ प्रतिशत अन्तःशुल्क लाग्नेछ। त्यसभन्दा बढी क्षमताको हकमा साविक बमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री महतको भनाइ छ।
पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमा समेत भन्सार दर एउटै रहेको उनले बताए। सवारीमा क्षमताको आधारमा अन्तःशुल्क दरमा मात्र सामान्य फरक रहेको उनले प्रस्ट पारे।