प्रस्तावित प्रधानन्यायाधीशमाथि जेठ ३२ मा संसदीय सुनुवाइ
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि जेठ ३२ मा संसदीय सुनुवाइ हुने भएको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले जेठ ३२ मा सुनुवाइ गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संसदीय सुनुवाइ समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार संसदीय सुनुवाइ गर्ने निर्णय भएको बताए।
त्यसअघि जेठ ३१ मा उजुरीकर्तासँग छलफल गरिने भएको छ। कार्की विरुद्ध २९ वटा उजुरी परेका छन्। त्यसमाथि अध्ययनका लागि संसदीय सुनुवाइ समितिका सदस्यलाई उजुरी वितरण गरिएको छ।
यसअघि जेठ १६ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। प्राप्त उजुरीबारे संसदीय सुनुवाइका वेला कार्कीसँग सोधपुछ गरिनेछ।
वैशाख २५ मा बसेको संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो। अहिले कार्की कायममुकायम प्रधानन्यायाधीश छन्।
अब संसदीय सुनुवाइबाट कार्कीको नाम स्वीकृत भएको खण्डमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।