प्रतिलिपि अधिकार: सर्जक बेखबर हुँदा सीमित समूहको रजाइँ
प्रतिलिपि अधिकार र यसको संरक्षणबारे सर्जकहरूमा पर्याप्त जानकारी नहुँदा सिर्जना दर्ता र अधिकार हननबारे उजुरी नगर्ने प्रवृत्तिका कारण सीमित समूहले लाभ लिइरहेका छन्।
गायक शिशिर योगी गत वर्ष म्युजिक नेपाल कम्पनी विरुद्ध उजुरी लिएर नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय पुगे। २०५९ सालमा आफ्नै लगानीमा निकालेको पहिचान अल्बमको प्रतिलिपि अधिकार म्युजिक नेपालले कब्जा गरेपछि उनले उजुरी दिएका थिए। कार्यालयले म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई बोलाएर प्रतिलिपि अधिकार फिर्ता गर्ने मौखिक सहमति गरायो।
त्यस अनुरूप कम्पनीले आफ्नो युट्युब च्यानलबाट योगीको गीत त हटायो, तर १९ वर्षअघि गरेको प्रतिलिपि अधिकार सम्बन्धी सम्झौता रद्द गरेन। योगीका अनुसार उनलाई म्युजिक नेपालले दिएको पत्रमा उनको गीत कम्पनीको सम्पूर्ण डिजिटल प्लाटफर्मबाट हटाइएको र कुनै माध्यममा भेटिए हटाउने व्यहोरा उल्लेख छ। “यो पत्रबाट म सन्तुष्ट छैन, मैले त उजुरीमा १९ वर्षअघि गरिएको सम्झौता नै रद्द गरिनुपर्ने माग गरेको थिएँ,” उनी भन्छन्।
त्यस बखत अहिले जस्तो बजार प्रवर्द्धन गर्ने डिजिटल मिडिया नभएकाले योगी आफ्नो अल्बम लिएर म्युजिक नेपाल पुगेका थिए। त्यति वेला उनलाई प्रतिलिपि अधिकारबारे थाहा थिएन। त्यसको फाइदा उठाउँदै म्युजिक नेपालले सङ्गीतको प्रतिलिपि अधिकार सधैं कम्पनीमै निहित रहने व्यहोरामा हस्ताक्षर गरायो। “त्यति वेलाका धेरै कलाकारले आफैं लगानी गरेर निकालेका सिर्जना म्युजिक नेपालले कब्जा गर्यो,” योगी भन्छन्, “प्रतिलिपि अधिकारबारे जानकारी नहुँदा म जस्ता धेरै कलाकार कागजी रूपमा फसे।”
प्रतिलिपि अधिकारबारे थाहा नभएकै कारण वास्तविक सर्जकहरू ठगिएको र सबै फाइदा वितरक कम्पनी र गायक/प्रस्तोताले लिने गरेको योगी बताउँछन्। गीतहरू गायकले विभिन्न मेला, महोत्सव र स्टेज कार्यक्रममा गाए बापत पारिश्रमिक लिने तर ती गीतका गीतकार र सङ्गीतकार मारमा पर्ने अवस्था रहेको उनको भनाइ छ।
योगीको जस्तै पछिल्लो समय प्रतिलिपि अधिकार सम्बन्धी विवाद बढ्दै गएको छ। तिनैमध्येको एक हो- गायक प्रमोद खरेल र बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीबीचको विवाद। रेग्मीले आफूले लगानी गरेका विभिन्न ४३ गीतका सङ्गीत ट्र्याक अनुमति विना विभिन्न स्टेज कार्यक्रममा प्रयोग गरेर रोयल्टी उठाएको आरोप लगाउँदै खरेल विरुद्ध २०७७ असोज १६ गते प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिए। रेग्मीले सिर्जनाको प्रतिलिपि अधिकार गायक तथा प्रस्तोतामा मात्र नभई सङ्गीतकार, गीतकार, लगानीकर्ताको पनि हुनुपर्ने तर्क गर्दै विभिन्न मञ्चमा गाए बापत आएको पारिश्रमिक अन्य सर्जकले पनि पाउनुपर्ने उल्लेख गरेका थिए। उनले खरेलसँग एक करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए।
कार्यालयले यो विवाद आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठायो। तर, प्रहरीले त्यो मुद्दामा कारबाही अगाडि बढाएन।
रेग्मीको उजुरीले गायक खरेल सहित अन्य सङ्गीतकर्मीलाई क्रुद्ध बनायो। ५७ जना सङ्गीतकर्मीको हस्ताक्षर सहित खरेलले बिन्दवासिनी म्युजिक प्रालि विरुद्ध २०७७ पुस २४ गते महानगरीय प्रहरी परिसरमा जाहेरी दिए। सम्झौता अनुसार आफ्नो सिर्जना फिर्ता गर्न माग गर्दा उल्टै गालीगलौज गरेको भन्दै कारबाही गर्न निवेदकहरूको माग थियो।
खरेलले मुद्दा हालेको करीब एक सातापछि प्रहरीले रेग्मी पत्नी एवम् बिन्दवासिनी म्युजिककी कार्यकारी अधिकृत लिना रेग्मीलाई पक्राउ गर्यो। यस घटनापछि खरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सुवास रेग्मीलाई पनि २०७९ फागुनमा पक्राउ गर्यो। पक्राउ परेको केही समयमा रेग्मी दम्पती धरौटीमा रिहा भए पनि यस सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
प्रतिलिपि अधिकार हननको विषयमा उजुरी आएपछि त्यसमा संलग्नलाई प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय आफैंले कारबाही गर्ने अधिकार छैन। उजुरी लिएर आउने अधिकांशलाई कार्यालयले महानगरीय प्रहरी परिसर पठाउँछ। गीत-सङ्गीत चोरी गरेको, ट्रेडमार्क दर्ता भएको लोगो अर्को व्यक्तिले प्रयोग गरेको लगायत उजुरी गर्दै २०७६ कात्तिकदेखि २०८० वैशाखसम्म कार्यालयमा नौ वटा उजुरी परेका थिए। यीमध्ये सात घटनामा रजिस्ट्रारको कार्यालयले आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर पठायो भने दुई घटनालाई मिलापत्र गरायो।
प्रहरीमा पठाएका घटनामा केकस्तो कारबाही भयो भन्नेबारे कार्यालयलाई जानकारी छैन।
सहमतिमै टुङ्गिन्छन् विवाद
कार्यालयमा उजुरी आएका धेरैजसो घटना प्रहरीकोमा पठाइन्छ भने कतिपय छलफल र मिलापत्र गरेर टुङ्ग्याइन्छ। यस बाहेक प्रतिलिपि अधिकारका कतिपय विवाद कानूनी प्रक्रिया तथा उजुरीमा नगई सर्जकबीचको सहमतिमा पनि टुङ्गिने गरेका छन्।
२०७६ सालमा प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’ को लय आफूले पाँच वर्षअघि गाएको ‘देउसी भैली’ गीतसँग मिलेको भन्दै गायक शम्भु राईले प्रतिलिपि अधिकारको कुरा उठाएपछि विवाद चर्केको थियो। उक्त विवाद पछि सहमतिमा टुङ्गियो।
२०७८ माघमा मेलिना राई र किरण गजमेरले गाएको ‘हे दैव’ बोलको गीत पनि विवादमा आयो। रमेश एमके पौडेलको शब्द र सुवास भुसालको सङ्गीत रहेको यो गीतमा शब्द चोरीको आरोप लागेको थियो। गीतकार भूपेन्द्र खड्काले आफ्नो अल्बम आधा सपनामा रहेको एउटा गीतको पूरै पङ्क्ति चोरिएको दाबी गरेपछि ‘हे दैव’ यूट्यूबबाट हटाइयो। यो विवाद कानूनी प्रक्रियामा नगई सहमतिमा टुङ्गिएको थियो।
त्यस्तै, चार वर्षअघि गायक राजेशपायल राईले टेलिभिजनको एक साङ्गीतिक रियालिटी शोमा ‘निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ’ बोलको गीत गाए। उनले गाइरहँदा टेलिभिजनको पर्दामा मौलिक गायकमा राईकै नाम लेखिएको थियो। त्यसको केही दिनपछि कलाकार मुरलीधरले आफूले लेखेर, सङ्गीत भरेर रेडियो नेपालमा गाएको गीत राईले अनुमति विना प्रयोग गर्दै आएको भन्दै कानूनी उपचार खोज्ने फेसबूक मार्फत चेतावनी दिए। तर, पछि उनीहरू सहमतिमा आए।
प्रतिलिपि रजिस्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेतका अनुसार सर्जकहरूले मुद्दा मामिलामा जानुभन्दा मिल्नुमा नै उचित देख्ने भएकाले धेरैजसो विवाद सहमतिमै टुङ्गिन्छन्।
कानूनमा के छ?
विभिन्न समयमा नेपालमा प्रतिलिपि अधिकार सम्बन्धी केही विवाद हुँदै आए पनि यस्तो अधिकारबारे धेरैलाई थाहै छैन। सोही कारण प्रतिलिपि अधिकार दर्ता गर्ने र हनन भएमा उजुरी गर्नेको संख्या अत्यन्त कम छ। प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका प्रवक्ता बस्नेत प्रतिलिपि अधिकार हननको विषयमा कमै मात्र उजुरी पर्ने गरेको बताउँछन्। “प्रतिलिपि अधिकार संरक्षणबारे पर्याप्त थाहा नहुँदा सर्जकले आफ्ना सिर्जना दर्ता गराउने चलन पनि अत्यन्तै कम छ,” उनी भन्छन्।
साहित्य, कला, ज्ञान-विज्ञान तथा अन्य क्षेत्रमा भएका मौलिक रचनाहरूको प्रतिलिपि अधिकारको संरक्षणका निम्ति प्रतिलिपि अधिकार ऐन, २०५९ छ। यस ऐनले कुनै पनि रचनाको मौलिक रचयितालाई आर्थिक र नैतिक अधिकार प्रदान गरेको छ।
ऐनको दफा ६ को उपदफा १ मा रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुने उल्लेख छ। त्यस्तै, उपदफा २ को (क) मा सयुंक्त रचनाको हकमा आर्थिक अधिकारको धनी कुनै व्यक्ति वा संस्थाको सक्रियता वा निर्देशनमा संयुक्त रचना तयार गरिएको भए जसको सक्रियता वा निर्देशनमा त्यस्तो रचना तयार भएको हो सो तयार गराउने व्यक्ति वा संस्था हुनेछ भनिएको छ। त्यस्तै, कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्था आर्थिक अधिकारको धनी हुने भनिएको छ। त्यस्तै, श्रव्य-दृश्य रचनाको सन्दर्भमा त्यस्तो रचनाको उत्पादक आर्थिक अधिकारको धनी हुने उल्लेख छ।
ऐनमा कुनै पनि सिर्जना रचना गर्ने व्यक्तिले आफ्ना रचना सार्वजनिक रूपमा प्रयोग हुँदा त्यसमा आफ्नो नाम उल्लेख गर्न, छद्म नाम प्रयोग भएको छ भने त्यसलाई हटाउन, रचनाको विकृत रूपमा प्रयोग गरे वा रचना संशोधन वा परिमार्जन गरे रचयिताले नैतिक अधिकार प्रयोग गर्न पाउँछन्। तर, धेरैजसो सर्जकलाई यो विषयमा जानकारी नहुँदा उनीहरूको सिर्जनाको श्रेय समेत नदिई अरूले रोयल्टी उठाइरहेका छन्। कार्यालयका प्रवक्ता बस्नेत सर्जकहरूलाई आफ्नो सिर्जनाबाट रोयल्टी आउँछ भन्ने थाहा नहुँदा प्रतिलिपि अधिकारका मुद्दा धेरै नपरेको बताउँछन्।
प्रतिलिपि अधिकार नियमावली, २०६१ ले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई रचना तथा संस्था दर्ता गर्ने अधिकार दिएको छ। रचना भन्नाले कला, साहित्य, ज्ञान-विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका सामग्री पर्छन्। यसमा शब्द सहित वा शब्द रहित साङ्गीतिक रचनादेखि चित्रकला, किताब, पर्चा, फोटोजन्य रचना, मूर्तिकला, आर्किटेक्चर लगायत सिर्जना पर्छन्।
यस्ता सिर्जना दर्ता गर्ने अधिकार दिए पनि प्रतिलिपि अधिकार हनन भए छानबिन र कारबाही गर्ने अधिकार दिएको छैन। सोही कारण त्यहाँ परेका उजुरीका घटना कार्यालयले प्रहरीकोमा पठाउँछ। र, प्रहरीले मुद्दा चलाउँछ। यस्ता प्रतिलिपि चोरीपैठारी गरेको ठहर भएमा त्यस्तो प्रतिलिपि जफत गरी निजलाई कसूरको मात्रा अनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र ६ महीना कैद वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख छ।