नेत्र पन्थीले ल्याए ‘लेफ्ट-राइट’
पत्रकार नेत्र पन्थीको लेफ्ट-राइट: सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ।
यस पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्यमान्यता र संविधान बाहिर चालेका कदमहरू साथै नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको लेखक पन्थीले बताए। पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरेको उनको भनाइ छ।
“शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकैधोकाका कथाहरू छन्,” लेखक पन्थीले भने, “पद प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्यमान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधिविधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौं उदाहरण र सन्दर्भ पुस्तकमा समेटेको छु।”
लेखक पन्थीका अनुसार पुस्तकमा नयाँ संविधान जारी भएपछि पनि नेताहरूको सत्ताप्रतिको भोकको चरित्र नबदलिएको तथा नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई उठान गरिएको छ।
६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ। पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक शाङ्ग्रिला मिडिया ग्रूप प्रालिले जनाएको छ।
यो पन्थीको चौथो पुस्तक हो। यसअघि उनका डिभोर्स: प्रचण्ड र बाबुरामको, माओवादीभित्र अन्तरसङ्घर्ष र युद्धमा प्रेम र यौन पुस्तक प्रकाशित छन्।