अन्तर्घात गरेका नेतालाई कारबाही गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ।
जसपाको कार्यकारिणी समितिको बैठकले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्था अनुसार कारबाही गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। पार्टीको विधानमा भएको व्यवस्था अनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको उनले जानकारी दिए।
स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गर्ने भएका छन्।
कारबाहीमा नसिहतदेखि लिएर पार्टी सदस्यबाट हटाउनेसम्मको कारबाही तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए। गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो।
पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले गएको फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो। कार्यदलले करीब डेढ महीना लगाएर ४८ जना केन्द्रीय सदस्य सहित १५२ जनासँग बयान लिइएको संयोजक थापाले बताए। जिल्ला जिल्लाबाट आएका उजुरीका आधारमा पार्टीका ती नेताहरूसँग बयान लिइएको उनको भनाइ छ।