उमेर हद हटाइएको प्रश्नमा ओलीको जवाफ- यी चित्रहरू राम्रा छन्
नेकपा (एमाले)मा उमेर हद हटाइएको विषयमा अध्यक्ष केपी शर्मा ओलीले कुनै प्रतिक्रिया दिन मानेनन्।
नेपाल आर्ट ग्यालरीमा चित्रकला अवलोकन गर्न पुगेका अध्यक्ष ओलीलाई सञ्चारकर्मीले एमालेमा उमेर हद हटाइएको विषयमा प्रश्न गरेका थिए। सञ्चारकर्मीको ‘एमालेमा उमेर हद हटाएर फेरि अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसमा के भन्नुहुन्छ’ भनेर प्रश्न गरेका थिए।
एमाले अध्यक्ष ओलीले आर्ट ग्यालरीमा रहेका चित्र देखाउँदै हाँसेर भने, “यी चित्रहरू राम्रा छन्।”
एमालेमा ७० वर्षको उमेर हद थियो। केही नेताले ७० वर्ष पुगेपछि विश्राम लिएका थिए।
अहिले एमालेले उमेर हद हटाएको छ। उमेर हद हटाएपछि वामदेव गौतमले पनि एमालेमा प्रवेश गर्ने बताउँदै आएका छन्।
आइतबार एमाले अध्यक्ष ओलीले चित्रकलाको अवलोकनपछि कला र सम्पदा संरक्षण गर्नुपर्ने बताए। उनले नेपाली संस्कृति, चाडबाड र परम्पराको पुरानो इतिहास भएको उल्लेख गरे।