अब विश्वविद्यालयले पठनपाठनको शैली बदल्नुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालय तथा शैक्षिक संस्थाले पठनपाठनको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताए। “हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ,” प्रधानमन्त्री दाहालले भने, “खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ।”
अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधनस्रोतको सही सदुपयोग नहुने उनले बताए। विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सबल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उनको भनाइ थियो।
काठमाडौं विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिणएशियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्च शिक्षा युगको विश्वव्यापी आवश्यकता भएको बताए। बर्सेनि हजारौं विद्यार्थी नेपालबाट विदेशिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौं रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्च शिक्षाको गुणस्तर एवम् शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना सबैका लागि टड्कारो आवश्यकता र चुनौती भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
हाल मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको उनले बताए। सम्भावनालाई वास्तविकतामा बदल्नका लागि सरकार आवश्यक कानूनी, प्रक्रियागत र संरचनागत व्यवस्था गर्न तत्पर रहेको तथा त्यसमा विज्ञको सुझाव महत्त्वपूर्ण हुने प्रधानमन्त्री दाहालको भनाइ थियो।